close

मन्त्रिपरिषद् पुग्यो चीनलगायत देशमा अध्ययन गरेका एमबीबीएस विद्यार्थीको फाइल

मन्त्रिपरिषद् पुग्यो चीनलगायत देशमा अध्ययन गरेका एमबीबीएस विद्यार्थीको फाइल

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना महामारीमा नेपाल फर्किएका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबारको मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव पठाएको हो । 

 


चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्र्टनसिपको समस्या समाधानका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । 

 


यसअघि चीनलगायत देशमा गई अध्ययन पूरा गराउने विषय विभिन्न तहमा कूटनीतिक पहल गरिए पनि ठोस नतिजा आउन सकेको छैन । ‘कोभिडका कारण नेपाल फर्किएका (एमबीबीएस) विद्यार्थीको समस्या समाधान गर्न प्रतिबद्ध छौँ,’ मन्त्री पौडेलले भने, ‘प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौँ । समितिमा छलफल भएपछि चाँडै टुंगो लाग्छ ।’

 

 

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन, प्रयोगात्मक अभ्यास र इन्र्टनसिप गराई समस्या समाधान गर्न गठित कार्यदलले सुझाएको थियो । कोभिडका महामारीका बेला नेपाल आएका एमबीबीएस विद्यार्थीले सोही देशबाट अध्ययन पूरा गर्न अनुमति पाएका छैनन् । 

 


यस्तै, विभिन्न मेडिकल कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी रकम लिएको विषयमा पनि छलफल भएको मन्त्री पौडेलले बताए । विद्यार्थीबाट रकम बढी लिएका मेडिकल कलेजको अनुगमन तथा आवश्यक प्रमाण जम्मा गर्न सचिवलाई निर्देशन दिएको उनको भनाइ छ ।