close

‘पढ्ने बानीको विकासका लागि कावासोतीको पठन अभियान’

‘पढ्ने बानीको विकासका लागि कावासोतीको पठन अभियान’

Trulli
ADVERTISEMENT

कावासोती– विद्यार्थीमा पढ्ने बानीको विकासका लागि कावासोती नगरपालिकाले पठन अभियान सुरु गरेको छ । कावासोती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १२ हजार विद्यार्थीको हातहातमा विद्यालय पाठ्यक्रम भन्दा बाहिरको कथाका किताब पुर्‍याउने र उनीहरूमा पठन संस्कृतिको विकास गराउन अभियान सञ्चालन गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । 

 

‘चित्र कथाका पुस्तक हरेक विद्यालयका विद्यार्थीसम्म पुर्‍याउने र उनीहरूमा पढ्ने बानीको विकास गर्न अभियान सुरु गरेका हौं’, प्रमुख घर्तीले भने । कक्षा १ देखि ८  र ८ देखि १२ सम्मका विद्यार्थीलाई दुई प्रकारका कथाका किताब प्रदान गरिने प्रमुख घर्तीले बताए ।

 

कावासोती नगरपालिकाभित्र ४० वटा सामुदायिक विद्यालय रहेका छन् । ती सबै सामुदायिक विद्यालयका विद्यार्थीको  हातहातमा पुस्तक पुर्‍याइ पठन संस्कृतिको विकास गर्ने अभियानको मुख्य लक्ष्य रहेको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताए । पठन संस्कृतिको विकासका लागि अभियानमा शिक्षक र अभिभावकलाईसमेत जोड्ने गरी योजना बनेको उनले बताए । अभियानले विद्यार्थीमा फरक क्षमताको विकास गराउने र सिर्जनशील बनाउने अपेक्षा गरिएको उनले बताए । 

 


‘पछिल्लो समय मोबाइलमा फेसबुक टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग निकै बढेको  छ, त्यसतर्फ विद्यार्थीले बढी चासो दिने गरेकाले पठन संस्कृति हराउँदै जान थालेकोमा अभियान फलदायी हुने अपेक्षा छ’, नगर शिक्षा अधिकारी भण्डारीले भने, ‘यसले विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास हुने विश्वास छ ।’ पठन अभियानका लागि ब्रिटिश  काउन्सिल नेपालले नगरपालिकालाई  १२ हजार थान पुस्तक प्रदान गरेको छ । ती सबै पुस्तक विद्यार्थीलाई वितरण गरिने भण्डारीले बताए । 

 

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाले ब्रिटिश काउन्सिल नेपालसँगको साझेदारीमा काम गरिरहेको छ । सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिलाई विभिन्न तालिम प्रदान गरी शिक्षाको गुणस्तर वृद्धिमा नगरपालिका लागि परेको छ । 

 


यसैगरी नगरपालिकाले विद्यार्थीको सिर्जनात्मक विकासका लागि त्रैमासिक साहित्यिक पत्रिका नगरका कोपिलासमेत प्रकाशन गर्दै आएको छ । नगरपालिकाले नगरभित्रका विद्यार्थीका कविता, कथालगायतका विषय बस्तु समेटी त्रैमासिक रुपमा सो साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ । विद्यालयमा भित्तेपत्रिका प्रकाशन गर्न उत्प्रेरित गर्दै त्यहाँबाट आएका सामग्री समेटी नगरपालिकाले साहित्यिक पत्रिका ‘नगरका कोपिला’ प्रकाशन गर्दै आएको नगर शिक्षा अधिकारी भण्डारीले बताए ।