रूपन्देही– सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा प्रदेश र स्थानीय सरकारको सहयोग न्यून हुँदा भौतिक पूर्वाधार अभाव भएको छ ।
२०७० देखि सामुदायिक विद्यालयमा मुलुककै उत्कृष्ट रहे पनि स्थानीय सरकारको बेवास्ताले पूर्वाधार निर्माणमा पछि परेको हो । ८ हजार ३ सय १३ विद्यार्थी अध्ययनरत नेपालकै नमुना सामुदायिक विद्यालयमा पूर्वाधार समस्या बढी रहेको छ ।
नमुना विद्यालय बनाएपछि राज्यले सम्पूर्ण व्यवस्था गर्नुपर्ने हो तर अहिले त्यस्तो देखिएको छैन । विद्यालयमा कोठा अभाव, शिक्षकलाई तालिमका लागि बजेट अभाव रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामीले बताए ।
कालिका मानवज्ञान माध्यमिक विद्यालय एकीकरण भएपछि सेक्टर १ र सेक्टर २ गरी सञ्चालन हुँदै आएको छ । सेक्टर १ मा पूर्वाधार राम्रो भए पनि सेक्टर २ मा समस्या छ । पुराना संरचना भएकाले तिनलाई भत्काएर नयाँ बनाउनुपर्ने अवस्था रहेको गलामीले जानकारी दिए ।
अहिले २ सेक्टरमा ४० कोठा आवश्यक छन् । ‘हामीले पूर्वाधार नभएर विद्यार्थी भर्ना गर्न सकेका छैनौँ । बुटवल उपमहानगरभित्र रहेको नेपालकै नमुना विद्यालयमा भर्नाका बेला नगरप्रमुखले विद्यार्थी भर्ना गर्न निर्देशन दिए पनि समस्यातिर ध्यान दिएनन्’, गलामीले भने ।
नगरपालिकाले दुई शैक्षिक सत्रमा १० लाख रुपैयाँ सहयोग गरेको उनले बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले भने, ‘विद्यालय अब्बल छ । अझै प्रविधिमैत्री बनाउन खोजेका छाँै । आर्थिक अभाव भयो । संघीय सरकारबाट नमुना विद्यालय घोषणा भएपछि १ करोड ५० लाख सहयोग आउँथ्यो । अहिले त्यो पनि घटेर १ करोड रुपैयाँ मात्र आएको छ । प्रदेश सरकारले पूर्वाधार विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, स्थानीय सरकारको ध्यानै गएन ।’
२ वर्षमा जम्मा ६ लाख ४० हजार रुपैयाँ मात्र विद्यालयमा सहयोग आएको उनले बताए । सेक्टर १ मा पूर्वाधार राम्रो छ तर २ मा भवन अभाव रहेको उनले बताए । ‘अहिले विद्यालयमा ४० कोठा आवश्यक छ । अब पुरानो भवनलाई विस्तार गर्न नसके भत्कने समस्या छ । ५ वर्षभित्र जसरी पनि नयाँ भवन बनाएर पुरानोलाई हटाउने योजना छ’, प्रअ थापाले भने ।
सीपमूलक अंग्रेजी माध्यमको नैतिक शिक्षा अभिभावकले चाहेकाले विद्यालयले सोहीअभियानलाई अवलम्बन गरेको उनको दाबी छ । गुरुयोजनामा स्विमिङ पुल, छात्रावास, शिक्षक आवासगृहका अतिरिक्त खेलकुदका लागि विभिन्न योजनासहित ९० करोड रुपैयाँको पञ्चवर्षीय योजना अगाडि सारिएको विद्यालयका प्रअ थापाले जानकारी दिए । ‘भौतिक पूर्वाधार नहुँदा भर्ना हुन आउने सयौँ विद्यार्थी फर्किन बाध्य थिए’, प्रअ थापाले भने, ‘कालिका मानवज्ञान मावि भएपछि भौतिक पूर्वाधार थप गर्दै विद्यार्थी संख्या पनि थपिँदै गएको छ ।’
बुटवलले शिक्षामा ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले बताए । नगर प्रमुख शिवराज सुवेदीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर ध्यान दिइँदै आएको दाबी गरे । उनले भने, ‘शिक्षामा तीन वटै तहबाट बजेट आउने गरेको छ । समन्वय गरेर अघि बढेका छौँ ।’
एसईई २०७३ मा नेपालभरिका ३० हजार सामुदायिक विद्यालयलाई पछि पार्दै कालिका मावि साधारण र प्राविधिक विद्यालयतर्फ मुलुकमै प्रथम भई राष्ट्रिय ध्वजा र सिल्ड प्राप्त गरिसकेको छ । कालिकाले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेसनल स्कुल अवार्डसमेत पाइसकेको छ ।
विद्यालयमा कोठा अभाव, शिक्षकलाई तालिमका लागि बजेट अभाव भएपछि बजेट जुटाउने पहल भइरहेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।