उदयपुर–उदयपुरको कटारी नगरपालिका वडा नम्बर १२ बसेरीस्थित जनमुखी माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् । कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय दसैँअघि एक साता खुलेर बन्द भएका थिए । दसैँ, तिहार, छठ बिदामा घर गएका शिक्षक, कर्मचारी नआएको भन्दै स्थानीय अभिभावक र जनप्रतिनिधिले विद्यालयमा ताला लगाइदिएका हुन् ।
कोरोनाले ६ महिना लामो बन्दपछि खुलेको विद्यालयले सात दिन पढाइ सञ्चालन गरेपछि पुनः दसैँ, तिहार, छठको बिदा दिएको थियो । चालू शैंक्षिक सत्र असारबाट सुरु भए पनि विद्यार्थीले वैशाखदेखि पढ्न नपाएका र दसैँ, तिहार, छठमा पनि लामो बिदा दिइएकामा पछि खुल्दासमेत शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको कटारी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । २०१७ मा स्थापना भएको जनमुखी माध्यमिक विद्यालय बसेरीमा १२ कक्षासम्म पढाइ हुने गरेको छ ।
लामो समय घर गएका विद्यालयका प्रधानाध्यापक तारणीप्रसाद चौधरीसहित ९ जना शिक्षक, कर्मचारी अहिलेसम्म हाजिर भएका छैनन् । विद्यालयमा १६ जना शिक्षक, कर्मचारी कार्यरत रहेकामा अधिकाश शिक्षक घर बिदामा गएको भेटिएपछि बाध्य भएर ताला लगाइएको वडाध्यक्ष पौडेलले बताए ।
विद्यालय सुधारका लागि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गतिविधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरिए पनि प्रअ चौधरीले कार्यान्वयन नगरेका कारण ताला लगाउनुपरेको अभिभावकको भनाइ छ । तालाबन्दीपछि विद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीको पढाइ अन्योलमा परेको छ ।