बागमती– बागमती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई प्रयोगशाला स्थापनाका लागि अनुदान दिने भएकोे छ । सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर प्रादेशिक शिक्षा विकास निर्देशनालयले १२ लाखदेखि १५ लाख रुपैयाँसम्म अनुदान दिने बताइएको छ ।
निर्देशनालयका अनुसार सामुदायिक विद्यालयमा विज्ञान विषय र सूचना प्रविधि प्रयोगशाला स्थापनासम्बन्धी कार्यविधि २०७८ अनुसार छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ । उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि १५ लाख तथा विज्ञान प्रयोगशालाका लागि १२ लाख अनुदान प्रदान गरिने भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख भएबमोजिम निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ । कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ ।
विद्यार्थीलाई सिमकार्ड
मकवानपुरको ७ हजार १३८ विद्यार्थीहरुलाई हेटौँडा उपमहानगरपालिकाले सियुजी सिम वितरण गरेको छ । सङ्घीय सरकारबाट अनुदानस्वरूप प्राप्त २६ लाख ७६ हजार छ सयबाट जिल्लाका १० पालिकामा इन्टरनेटको पहुँच नभएका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको हो ।
शिक्षा विकास महाशाखाका अधिकृत सामचन्द्र खड्काका अनुसार १२५ रुपैयाँका दरले जिल्लाका २३ विद्यालयका कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई उक्त सिम वितरण गरिएको थियो ।