close

भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका विद्यालय पुनर्निर्माणमा रकम अपुग

भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका विद्यालय पुनर्निर्माणमा रकम अपुग

Trulli
ADVERTISEMENT

काठमाडौं– ०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ३१ जिल्लाका सामुदायिक विद्यालय पुनर्निर्माण गर्न १ अर्ब ३३ करोड ६० लाख रकम अपुग हुने भएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालय पुनर्निर्माणका लागि १ अर्ब ३३ करोड रकम अपुग भएको हो । 


केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ब्रिफिङ गर्दै यसबारे जानकारी दिएका हुन् । मन्त्री पौडेललाई बुझाइएको विवरणमा हालसम्म विद्यालय व्यवस्थापन समितिमार्फत ५ हजार ५६४, निर्माण व्यवसायीमार्फत ३७७, गैरसरकारी संस्थाबाट ७०३ गरी ६ हजार ६४७ विद्यालय पुनर्निर्माण भएका छन् । 


विद्यालय व्यवस्थापन समितिबाट ४९६, निर्माण व्यवसायीमार्फत ३५२, गैरसरकारी संस्थाबाट ८८ गरी ९३६ विद्यालय निर्माणाधीन अवस्थामा छन् । इकाइ निर्देशक डा.युवराज पौडेलका अनुसार एसियाली विकास बैंकको ऋणबाट साझेदार संस्थाले ८ जिल्लाका १५४ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न गरेको छ । 


जापान सरकारको अनुदानमा ८ जिल्लामा ८ विद्यालय भवन पुनर्निर्माण गरिएको छ । जाइकाको ऋण सहयोगमा ६ जिल्लाका २१९ विद्यालय भवन पुनर्निर्माण भएका छन् । १७ विद्यालय भवन पुनर्निर्माणको चरणमा रहेको आयोजना प्रमुख रामशरण सापकोटाले बताए ।


हाल १४ जिल्लाका २०९ विद्यालयमध्ये ५९ वटा पुनर्निर्माणको काम सम्पन्न भएको छ । एडिबीको ऋण सहयोगमा ११३ वटा विद्यालय निर्माणाधीन र ३७ वटा थप बोलपत्र आह्वान भएको छ ।


सोही आयोजनाले ५२ वटा रेट्रोफिटको काम सकेको छ भने ९१ वटा सम्झौता गरेको छ । भारत सरकारले ७० विद्यालय र एक पुस्तकालय पुनर्निर्माणको जिम्मा लिए पनि ८ वटा सम्पन्न गरेको छ । 


५६ वटा निर्माणाधीन अवस्थामा छन् भने ६ वटा विद्यालयको सम्झौता भई निर्माण सुरु भएको छ । भारत सरकारको ऋणमा काम गर्ने सहमतिअनुसार इन्डियन इएसएम बैंकले १४ जिल्लाका ३८ क्याम्पसको ५ प्रतिशत मात्र काम गरेको छ । साउदी फण्डले ५ जिल्लाका २५ विद्यालय पुनर्निर्माणको जिम्मा लिएकामा ६० प्रतिशत काम सकेको छ ।


यस्तै, एसएमसीले सरकारको सहयोगमा ३१ जिल्लाका ६ हजार ६० विद्यालय निर्माणको जिम्मा लिएको छ । सो कम्पनीले ९० प्रतिशत काम सम्पन्न गरेको छ । 


सोही आयोजनाले ३१ जिल्लाका २ हजार ९५९ ब्लक निर्माणको जिम्मा लिएको छ । ब्लक निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । सोही आयोजनाले ३१ जिल्लाका एक हजार ६७० विद्यालयमा खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको र चालू आर्थिक वर्षमा ९० प्रतिशत काम सम्पन्न गरेको आयोजनाले जनाएको छ ।

 
मन्त्री पौडेलले अपुग रकमका लागि अर्थ मन्त्रालय र अन्य दातृ निकायसँग छलफल गरेर रकम जुटाउन पहल हुने भएकाले काम नरोक्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले कक्षा १० सम्मका पाठ्यपुस्तकको रंगीन छपाइ गरी समयमै सबै जिल्लामा पठाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।