काभ्रे- स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थीलाई पढाउने नमोबुद्ध नगरपालिकाका तीन विद्यालयसँग स्पष्टीकरण माग गरिएको छ ।
नमोबुद्ध नगरपालिकाले वडा नम्बर ७ मा रहेका मर्निङस्टार प्रिस्कुल, नवप्रतिभा अंग्रेजी मावि तथा सगुन विद्यामन्दिर माविसँग स्पष्टीकरण मागेको हो ।
नगरपालिकाले स्वास्थ्य मापदण्डसमेत पूरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्नुपर्नाको कारण सोधेको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखाका अधिकृत बुद्धिराज अर्यालसहितको टोलीले सोमबार भकुन्डे क्षेत्रमा रहेका पाँच विद्यालय अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा एउटा विद्यालय बन्द भएको पाइएको तथा अर्को एक विद्यालयले अनलाइनमार्फत विद्यार्थी पढाइरहेको पाइएको छ ।
स्पष्टीकरण सोधिएका तीन विद्यालयले भने स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरी विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराएको पाइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लामा निषेधाज्ञा जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन निर्देशन दिएको थियो भने नमोबुद्ध नगरपालिकाले २० साउनमा सबै विद्यालयलाई पत्राचार गर्दै कोभिड-१९ महामारीको अवस्था कायमै रहेकाले भौतिक रूपमा प्रत्यक्ष पठनपाठन नगराउन तथा भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको थियो ।
स्पष्टीकरण सोधिएका विद्यालयलाई तीन दिनभित्र स्पष्टीकरण दिन र अन्यथा नियमाअनुसार कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।