हुम्ला- कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिण क्षेत्रका पालिकाका विद्यालयमा पढाइ सुरु हुन थालेको छ ।
कोरोनाका कारण हट स्पट बनेका ताँजाकोट, अदानचुली र चंखेली गाउँपालिकामा रहेका विद्यालय धमाधम सञ्चालनमा आउन थालेका हुन् ।
बिहीबारदेखि दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय सञ्चालनमा आएका छन् ।
पालिका क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय सञ्चालनमा ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए ।
उनले भने, ‘स्वास्थ्यका पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ । कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरेका हौँ ।’
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठनलाई अगाडि बढाउन गाउँ कार्यपालिकाले निर्णय गरेर पढाइ सुरु भएको पालिका अध्यक्ष दल फडेराले बताए । अदानचुलीमा १८ वटा सामुदायिक विद्यालय छन् ।
ताँजाकोट गाउँपालिकाले यसअघि नै विद्यालय सञ्चालनमा ल्याइसकेको छ । संघले स्थानीय सरकारलाई कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको अध्यक्ष फडेराको भनाइ छ ।
तर, माथिल्लो क्षेत्रका सीमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाभित्रका विद्यालय कहिले खुल्ने हुन् टुंगो छैन ।