मुगु- मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले पालिकाभरका सबै सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकले २० साउनबाट पालिकाभरका सबै विद्यालय पठनपाठन सञ्चालनमा ल्याएको हो ।
पछिल्लो समय दोस्रो चरणको कोरोना संक्रमणले आक्रान्त पारिरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा पढाइ सुरु गरिएको पालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।
शिक्षा शाखाका अनुसार पालिकाभरका सामुदायिक विद्यालयमा सबै विद्यार्थीको हातहातमा पुस्तक वितरण र शिक्षक उपस्थित भई नियमित पठनपाठन सुरु भएको शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले बताए ।
देवकोटाका अनुसार विद्यालयबाहिर रहेका सबै शिक्षकलाई विद्यालयमा हाजिर हुन परिपत्र गरिएको छ । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ बिथोलिएपछि लयमा फर्काउन विद्यालय सञ्चालनमा ल्याइएको हो ।