काठमाडौं– एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।
शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कारबाही हुने चेतावनी दिए । महानगरले कक्षा ११ मा भर्ना गर्दा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्न भनेको छ ।
साथै, विद्यार्थीसँग रजिस्ट्रेसन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिन, विद्यार्थीलाई किताब, ड्रेस र अन्य शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्नसमेत निर्देशन दिएको छ ।
माध्यमिक विद्यालय र कलेजहरूले तोकिएअनुसारको छात्रवृत्ति अनिवार्य रूपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण शैक्षिक सत्र सुरु भएको २ महिनाभित्र शिक्षा विभागमा पेस गरिसक्न पनि महानगरले आग्रह गरेको छ ।