कास्की- कास्कीको पोखरा महानगरपालिकाले वैशाखभित्र सबै परीक्षा सक्न विद्यालयलाई निर्देशन गरेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई ध्यानमा राखेर वैशाखभित्र परीक्षा सक्न निर्देशन दिइएको हो ।
आइतबार महानगर शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्डसमेतलाई ख्याल गरेर परीक्षा सञ्चालन गर्न आग्रह गरेको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए ।
पोखरामा एक दर्जन विद्यालयका ८९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । सरकारले पनि विद्यार्थीमा कोभिड जोखिम बढेसँगै वैशाख मसान्तसम्म विद्यालय बन्दको घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीलाई अति प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरेको छ ।
केही समयअघि लामाचौरस्थित इन्जिनियरिङ कलेजका ७६ विद्यार्थीमा कोभिड संक्रमण देखिएको थियो ।