रुकुम पूर्व– रुकुम पूर्वका विभिन्न सामुदायिक विद्यालयमा स्थानीय उत्पादन प्रयोग गरेर विद्यार्थीलाई विभिन्न परिकारको दिवा खाजा खुवाउन थालिएको छ । गाउँ घरमै उत्पादन हुने खाद्यान्नबाट विद्यार्थीलाई विभिन्न परिकार खुवाउन थालेपछि गाउँमा खाद्यान्न माग बढिरहेको छ ।
सरकारले दिवा खाजाका लागि चामल, दाल, नुन र तेल विद्यालयमा पठाउने गरेको थियो । अहिले नगद नै सम्बन्धित स्थानीय तहलाई पठाइदिएपछि गाउँघरमा उत्पादित खाद्यान्नबाट दिवा खाजा वितरण गर्न थालिएको हो । प्रतिविद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले सरकारले बजेट व्यवस्था गरेअनुसारको हाल स्थानीयले तहले स्थानीय उत्पादनबाट दिवा खाजा व्यवस्थापन गरिरहेका हुन् ।
भूमे गाउँपालिकाले सहकारीमार्फत खाद्यान्न खरिद तथा ढुवानी गरिरहेको छ । सहकारीमार्फत दिवा खाजा व्यवस्थापनका लागि सहज आपूर्ति हुने भएकाले गाउँपालिकास्थित मारिङ बहुउद्देश्यीय सहकारी संस्थालाई खाद्यान्न खरिद एवं ढुवानी जिम्मा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए ।
सहकारीमार्फत ग्रामीण भेगको उत्पादनलाई खरिद गरी उक्त खाद्यान्न दिवा खाजाका लागि विद्यालयलाई वितरण गर्न थालिएको उनले जानकारी दिए ।
दिवा खाजाका लागि मकै, गहुँ, जौ, आलु, दाल, केराउलगायत मसलाअन्तर्गतका तरकारी खरिद तथा ढुवानी गरिरहेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताए । ‘गाउँ–गाउँबाट कृषकले उत्पादन गरेका खाद्यान्नलाई खरिद गरेर विद्यालयमा वितरणका लागि प्याकेजिङ गरी वितरण गर्न थालेका छौँ’, अधिकारीले भने ।
हरेक महिनाको पहिलो साता वडा नम्बर २ मा रहेको सहकारीको कार्यालय खाबाङ बगरबाट विद्यालयलाई खाद्यान्न सामग्री वितरण गरिरहेको छ । गाउँपालिकाभित्रका खाद्यान्नले माग पूर्ति नभए अन्य जिल्लाबाट आयात गरिने सहकारीले जनाएको छ ।
गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमै आइतबार र बुधबार खिचडी, सोमबार र बिहीबार हलुवा, मंगलबार र शुक्रबार छोला तरकारीको परिकार गरी विद्यार्थीलाई दिवा खाजा दिन थालिएको भूमेको वडा नम्बर २ हिमालय आधारभूत विद्यालय गाबाङका प्राधानाध्यपक गोवद्र्धन बुढा मगरले जानकारी दिए । हरेक दिन फरक–फरक परिकारको दिवा खाजा पूर्ण पोषणयुक्त हुनुका साथै कृषकको उत्पादनले पनि बजार पाइरहेको प्रअ बुढा सुनाउँछन् ।
पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकाले भने सम्बन्धित विद्यालयलाई बजेट पठाएर दिवा खाजा व्यवस्थापनको जिम्मा दिएको छ । २ वटा गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित खाद्यन्नबाटै विद्यार्थीलाई दिवा खाजा खुवाइराखेका छन् ।