close

पढ्ने र सुत्ने एउटै कोठा 

पढ्ने र सुत्ने एउटै कोठा 

Trulli
ADVERTISEMENT

मुगु- मुगुमा रहेको एउटा आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीहरू एउटै कोठामा बस्न बाध्य छन् । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोग गाउँपालिका वडा नम्बर ३ ताखामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा भौतिक संरचना अभाव भएको हो । सोही कारण उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू एउटै कक्षाकोठामा पढ्न र बस्न बाध्य भएका हुन् ।

 

२०७६ मा स्थापना भएको यो विद्यालयमा भौतिक संचरना अभाव हँुदा पनि स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान नपुगेको विद्यालय प्रशासनले बताएको छ ।

 

४ देखि ६ कक्षासम्म पढाइ हुने आवासीय विद्यालयमा संघ सरकारबाट प्रतिविद्यार्थीलाई ४ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ भने प्रदेश र स्थानीय सरकारबाट कुनै पनि सहयोग नभएको विद्यालयले बताएको छ ।

 

अहिले आवासीय विद्यालयमा २ सय २ विद्यार्थीले अध्यनरत गरिरहेका छन् । विद्यालयमा गरिब विपन्न, टुहुरा, असहाय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा केटाकेटी तलमाथि बसेर रात बिताउँदै आएका छन् ।

 

विद्यालयमा भौतिक संरचना अभाव हुँदा स-साना विद्यार्थी खुला आकाशमुनि परीक्षा दिनसमेत बाध्य छन् ।


नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयका प्रधानाध्यापक कुशल शाहीका अनुसार विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीलाई एउटै कोठामा बसाल्न र एउटै बेडमा २-२ जना सुताउनुपर्ने बाध्यता छ ।

 

प्रधानाध्यापक शाहीले भने, ‘विद्यालयमा भौतिक संरचना अभाव भएको स्थानीय सकारलाई बारम्बार भन्यौँ तर सुनुवाइ भएन । अहिले प्रदेश सरकारले प्रत्येक विद्यार्थीलाई दिने मासिक ४ हजार रुपैयाँबाट खर्च र कपडाको बन्दोबस्त मिलाएका छौँ ।’

 

सुताइ, पढाइ एउटै कोठामा 

 

आवासीय विद्यालयको एउटै कक्षाकोठामा अध्ययनरत छात्रछात्रा ठाउँ अभावले पढ्न र सुत्न बाध्य छन् । भवन अभाव हुँदा तलमाथि खटिया बनाई उनीहरू सुत्न र पढ्न बाध्य भएका हुन् ।

 

विद्यालयमा अध्यनरत विद्यार्थी योन्जोङ लामाले भने, ‘हाम्रो विद्यालयमा भवन अभाव हुँदा एउटै कोठामा पढिरहेका छौँ । धेरै साथीहरू हुन्छन् । पढ्न पनि डिस्ट्रब हुन्छ । मनै लाग्दैन । जानेको कुरा पनि बिर्सिन्छ ।’ 

 

शौचालयबिनाको विद्यालय
 
आवासीय विद्यालयमा कक्षा-कोठा मात्र नभई शौचालयको पनि अभाव छ । विद्यालयमा शौचालय नहुँदा अध्ययनरत विद्यार्थीले शौच गर्न झनै सास्ती खेप्दै आएका छन् । शौचालय अभावका कारण शौच गर्न वनपाखा धाउनुपरेको विद्यार्थीको गुनासो छ ।

 

विद्यालयमा एउटा मात्र अस्थायी शौचालय । त्यही शौचालय पनि प्याक हुने हुँदा कोही खोलाखाल्सी र कोही वनपाखा जाने गरेका छन् ।

 

मुगुम कार्मारोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रावलका अनुसार आवासीय विद्यालयमा दरबन्दीको मुख्य समस्या छ । गाउँपालिकाको न्यून स्रोतका कारण शिक्षा शाखाले दरबन्दी सिर्जना गर्न नसक्ने अवस्था रहेको रावलले बताए ।

 

मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार आवासीय विद्यालयमा भवन निर्माण भए पनि गति लिन सकेका छैनन् । गाउँपालिकाबाट ४० लाख र सामाजिक विकास कार्यालयबाट १ करोड रुपैयाँ बराबरको भौतिक संरचना निर्माण भइरहेको उनले जानकारी दिए ।