रूपन्देही– लुम्बिनी सांस्कृतिक नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा कार्यरत शिक्षण सिकाइ अनुदान शिक्षकले साउनदेखि तलब नपाएपछि नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
आर्थिक वर्षको सुरुबाटै तलब पाएको बताउँदै उनीहरूले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
साउनदेखि तलब नपाउनेमा लुम्बिनी आधारभूत विद्यालय महिलवारका शिक्षक रामु यादव, कालीदह आधारभूत विद्यालयका गोरखनाथ मौर्य, आमा माविका हरिशंकर यादव छन् ।
यस्तै, भगवानपुर आधारभूत विद्यालय भगवानपुरका घरभरन मल्लाह, शिवशक्ति प्रावि लमतिहवाका जयप्रकाश यादव, गणेश प्रावि पैसियाका, लक्ष्मी गुप्ता, दिव्यज्योति प्रावि मधुवनीकी शिक्षिका सुशीला कुर्मीले गत साउनदेखि तलब नपाएको बताए ।
नगरपालिको शिक्षा शाखा प्रमुख डा. कुलप्रसाद खनाललाई भेटेर पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रशासकीय अधिकृत पाण्डेयले शिक्षकको पारिश्रमिक सम्बन्धमा जानकारी लिई चाँडै सबै प्रक्रिया पूरा गरी पारिश्रमिक उपलब्ध गराइने प्रतिबद्धता जनाए । शिक्षकलाई नियमित विद्यालय गएर अध्ययन गराउनसमेत उनले आग्रह गरे ।
शिक्षण सिकाइ अनुदान शिक्षकले ज्ञापनपत्रमा समयमै माग सम्बोध नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।