कपिलवस्तु– कपिलवस्तुमा ज्ञानको ज्योति फैलाउन २००२ मा स्थापना भएको अनिरुद्र पब्लिक माध्यमिक विद्यालयमा भवन अभाव हुँदा बालबालिकले सास्ती बेहोर्नुपरेको छ ।
भारतसँग जोडिएको यशोधरा गाउँपालिकाको वडा नम्बर ५ बैदौली विद्यालयका भवन जीर्ण र कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको हो । विद्यार्थी संख्या धेरै, कक्षाकोठा कम हँुदा माध्यमिक तहका कक्षामा एउटै कोठामा १ सय बढी विद्यार्थी राखेरै अध्यापन गराउनुपर्ने बाध्यता भएको विद्यालयका प्रधानाध्यापक रमेशकुमार पाण्डेयले बताए ।
कपिलवस्तुको तेस्रो पुरानो विद्यालय पूर्वप्रधानन्यायाधीश अनिरुद्ध सिंहले २०१० बाट आधा खर्च बेहोर्ने गरी सञ्चालनमा आएको थियो । उनले वार्षिक १ सय रुपैयाँ चन्दा दिई मृत्यु अगाडिसम्म आर्थिक सहयोग गर्दै आएका थिए ।
विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि सिंहले १ लाख रुपैयाँ सहयोग गरेका थिए । गाउँपालिकामा १२ कक्षासम्म पढ्ने अरू विद्यालय नहुँदा विद्यार्थीको चाप बढेको छ ।
पालिकाभरिका ८ वटा वडाका विद्यार्थीले यही विद्यालयमा माध्यमिक तह अध्ययन गर्दै आएका छन् । विद्यालयमा कक्षा ९ मा सबैभन्दा बढी १ सय ६५ जना विद्यार्थीले एउटै कक्षामा कोच्चिएर अध्ययन गर्दै आएका छन् । बालबालिका बस्ने बेन्चमा ११ कक्षाका विद्यार्थी बस्छन् । ढाड दुखेर पढ्न समस्या ।
यो शैक्षिक सत्रमा आसपासका ५० बढी गाउँका १२ सय बालबालिका अध्ययन गर्दै आएका छन् । विद्यालयमा भवन अपुग छ । अझै पनि कम्तीमा थप १० कोठा आवश्यक छ ।
सुठौली भन्सार नाका सडक २५ मिटर कायम हुँदा ८ कोठा सडक विस्तारमा गुम्ने अवस्थामा पुगेको छ । विद्यालयमा बेन्च अभाव हुँदा ठूला विद्यार्थी होचो डेस्कबेन्च प्रयोग गरी बस्नुपरेको विद्यालयका प्रधानाध्यापक पाण्डेयले बताए ।
‘कक्षाकोठाको छाना टिनको भएको र झ्याल नहुँदा गर्मीमा पढ्न निकै कष्ट हुन्छ । बेन्च होचो हुँदा पढ्दा ढाड दुख्ने समस्या छ,’ कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुभाष यादवले भने ।
विद्यालयको विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दीसमेत न्यून छ । निम्न माध्यमिक र प्राथमिक गरी १४ जना शिक्षकको दरबन्दी रहेको छ । विद्यार्थी अनुपातअनुसार दरबन्दी नहुँदा एकै कक्षामा धेरै बालबालिका पढाउनुपर्ने बाध्यता छ । उनीहरूलाई बुझाएर पढाउनसमेत कठिन रहेको शिक्षक अनिता यादवले बताए ।
३ लाख रुपैयाँ खर्च गर्न नसक्दा भारतीय दूतावासमा प्रस्ताव अगाडि बढेन । प्रस्ताव पेस गरे पनि माटो परीक्षणका लागि ३ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएपछि रकम अभावका कारण काम रोकिएको विद्यालय प्रशासनले जनाएको छ ।२००२ मा स्थापना भएको विद्यालयले आउँदो वैशाख पहिलो पहिलो ७५औँ हिरक महोत्सव मनाउने तयारी गरेको छ ।