काठमाडौं– कोरोना संक्रमणको जोखिम नभएका वा कम भएका स्थानमा स्थानीय तहले नै विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।
सरकारले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको यो कार्यविधिमा स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरेर विद्यालय बन्द गर्ने अधिकार दिइएको छ ।
विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाको अधिनमा रहेर विद्यालय खोल्ने या नखोलने भनने अधिकार अधिकार स्थानीय तहलाई हुने छ भने अनुगमनको जिम्मा पनि स्थानीय तहलाई नै दिइएको छ ।
कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को ५ चैतको बैठकले देशभरका शिक्षण संस्थाहरु बन्द गरेको थियो । अव बन्द विद्यालय खोल्ने नखोलने निर्णय भने स्थानीय तह आफैंले लिनेछन् ।