ललितपुर– बागमती गाउँपालिकाले दशैं मुखमै आइपुग्दासमेत गाउँपालिकामा कार्यरत शिक्षकहरुलाई तलव निकासा गरेको छैन ।
तलव निकासा नगर्दा शिक्षक तथा सम्बन्धित संघ संगठनहरु आन्दोलित बनेका छन् । विगत देखि नै शिक्षकको तलब निकासीका विषयमा विवादित बन्दै आइरहेको बागमती गाउँपालिकाले यस पटक पनि गत साउनदेखिको तलब निकासा गरेको छैन् ।
बागमती गाउँपालिका शिक्षक महासंघका अध्यक्ष दुधराज जिम्बाले महासंघ लगायत अन्य विभिन्न पेसागत संगठनहरुले गाउँपालिकामा लिखित तथा मौखिक रुपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि गाउँपालिका उदासिन रहेको बताए ।
उनले गाउँपालिकाको शिक्षा शाखाले रकम पठाइसकेको भए पनि लेखाले रोकेको भन्दै अड्काउने काम गरिएको बताए । अन्य सबै स्थानीय तहले दसै नलाग्दै सबै शिक्षकको तलब निकासा गरेपनि बागमती गाउँपालिकाले दिएको छैन ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती गाउँपालिका समिति अध्यक्ष ठाकुर लामाले ५ असोजभित्र तलब निकासा नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । दशैंको मुखमै आइपुग्दा समेत तलब निकासा नहुनु खेदजनक भएको उनको भनाई छ ।
बागमती गाउँपालिकाका शिक्षा शाखा अधिकृत शेषकान्त पौडेलले भने एक साताअघि नै सबै विद्यालयको खातामा रकम पठाइसकेको तर के कारणले यस्तो विवाद आयो भन्ने कुरामा आफू नै अनविज्ञ भएको बताए । पालिका अध्यक्षले यस विषयमा छानविन गरी समस्याको समाधानको पहल गर्ने पौडेलले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले पनि बुधबारसम्म सबै विद्यालयको खातामा गाउँपालिकाले रकम जम्मा गरिसक्ने भन्दै शिक्षकहरुले अनावश्यक हल्ला बढी गरेको आरोप लगाए । उनले भने, ‘सबै शिक्षकहरुले विगत ७ महिनादेखि कामै नगरी घरबाटै तलब खाइरहेका छन्, अरु काम छैन तैपनि अनि फेसबुकमा रोइलो नगरेर के गरुन त !’