रुपन्देही - कोरोना महामारीका कारण बन्द रहेका यस क्षेत्रका शिक्षण संस्थाहरूलाई स्वास्थ्य सावधानी अपनाएर खुलाउन स्थानीय पालिकाहरूले सूचना जारी गरेका छन् ।
जिल्लाको रोहिणी गाउँपालिका र तिलोत्तमा नगरपालिकाले शिक्षण गतिविधि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएका हुन् ।
नगर शिक्षा समितिको सोमबारको बैठक तथा शिक्षा मन्त्रालयलको भदौ १९ को निर्णयअनुसार नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शिक्षण गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, ०७७ को दफा ३ मा उल्लिखित स्रोत–साधनको पहुँचका आधारमा विद्यार्थीलाई विभिन्न समूहमा वर्गीकरण गरी कक्षा सञ्चालन गर्न पाउने व्यवस्थाअनुसार पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।