सिरहा - मिर्चैया नगरपालिका नगरप्रमुख श्रवणकुमार यादवले वडा नम्बर ३ की वडाध्यक्ष पवित्री देवी यादवको श्रीमानसहितको टोलीले कार्यपालिका भवनमा तोडफोड गरेको आरोप लगाएका छन् । नगरप्रमुख यादवले आइतबार प्रेस विज्ञप्ती जारी गरी वडाध्यक्ष यादवका श्रीमान् खगेश्वर गोहीबार यादवले कार्यपालिका भवनमा तोडफोड गरेको आरोप लगाएका हुन् ।
आइतबार दिउँसो १२ बजे एक समूहले नगरपालिका भवनमा क्षति पुग्ने गरी ताेडफाेड गरेकाे थियाे । 'मिर्चैया नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष पवित्रीदेवी यादवका पति खगेश्वर गोहीबार यादवसहित करिब ३०/४० जना समूहमा आएका ती उत्छृखंल व्यक्तिहरुले अन्धाधुन्ध ढुंगामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसिटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकलगायत महत्वपूर्ण सामग्री नष्ट भएका छन्... ', सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कुनै किसिमको माग नराखी नगरपालिकाभन्दा बाहिरका व्यक्तिलाई समेत सहभागी गराई आंतककारी शैलीमा कुटपिट गर्ने मनसायमा सो गतिविधी गरेको उनकाे आराेप छ । सो समूहले ६ महिना पहिले पनि नगरपालिका सोही किसिमको गतिविधी गरेको र जिल्ला प्रशासन कार्यालयसँग सो व्यक्तिलाई कारबाहीको माग राख्दा पनि कुनै सुनुवाई नभएको नगरप्रमुख यादवले सो विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनले सो घटनामा सहभागी भएका व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न मागसमेत गरेका छन् । संलग्न व्यक्तिलाई कारबाही नगरी थप केही अप्रीय घटना भएमा सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनु पर्ने उनको माग छ ।
वडाध्यक्ष यादवले श्रीमान खगेश्वर गोहीबार यादवको मोबाइल नम्बरबाट पालिकाको सबै काम गर्दै आएको नगरपालिकाका सूचना अधिकारी गणेश गुप्ताले पालिकाखबरलाई बताएका छन् । सो घटनाबारे जानकारीको लागि वडाध्यक्ष यादवसँग कुराकानी गर्न पालिकाखबरले पटक पटक सम्पर्क गर्न खोजे पनि उनको फोन उपलब्ध हुन सकेन ।