close

हिरोइन बनाइने प्रलोभनमा परेकी बालिका ३० हजारमा बेचिइन्

हिरोइन बनाइने प्रलोभनमा परेकी बालिका ३० हजारमा बेचिइन्

Trulli
ADVERTISEMENT

पर्सा । एक १५ वर्षीया बालिकालाई भोजपुरी फिल्मको नायिका बनाइदिने प्रलोभनमा पारेर भारत लगेर ३० हजारमा बेचिएको छ।

रौतहट गौर नगरपालिका-२ घर भई हाल वीरगन्ज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीया चमेली देवी र भारतको बिहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारीले बालिकालाई ललाइफकाई गरी विक्री गरेको अनुसन्धानमा देखिएको छ।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुवै जनालाई बिहीबार प्रहरीले पक्राउ समेत गरिसकेको छ।

उनीहरूमाथि अनुसन्धान गर्दा १५ वर्षीया बालिकालाई भोजपुरी फिल्मको हिरोइन बनाइदिने प्रलोभन देखाई भारतको बिहार राज्य पूर्वी चम्पारण झिटकैया गाउँमा लगी ३० हजारमा बेचेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बालिका खरिद कार्यमा संलग्न एक जना भारतीय नागरिक भने फरार रहेका छन्।

ती फरार व्यक्तिले पीडित बालिकालाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाई शारीरिक र मानसिक यातना दिएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ। हाल फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।