काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेल वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड र क्राइसिस रेस्पोन्स अवार्डबाट सम्मानित भएको छ । कात्तिक ९ गते आयोजना भएको टोटल टेलिकम कंग्रेसको कार्यक्रम अवार्ड विजेता घोषणा भएको हो ।
सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरका टेलिकम बजारमा भएका नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्दै आएको छ ।
एनसेलले यी दुई सम्मान व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा पुर्याएको योगदान र विपद् प्रतिकार्यअन्तर्गत कोभिड महामारी, बाढी र भूकम्पजस्ता विभिन्न संकटको समय गरेका योगदानको प्रतिफल रहेको बताएको छ ।
स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्याएबापत एनसेललाई द सोसियल कन्ट्रिब्युसन अवार्ड प्रदान गरिएको हो ।
त्यस्तै, कोभिड–१९ महामारी, ०७२ भूकम्प र ०७१ र ०७४ को बाढीलगायत विपद् समय सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई क्राइसिस रेस्पोन्स अवार्ड प्रदान गरिएको हो ।
‘प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकामा हामी हर्षित छौं । यी सम्मान समाजको विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्वपूर्ण कार्य मात्र नभएर सामाजिक पहलको प्रभावकारी योगदानको कदर हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।
द सोसियल कन्ट्रिब्युसन अवार्ड विधाको पुरस्कारका लागि अभरोआ केवल, इन्डोस्याट उरेडू, एनसेल नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एन्ड स्मार्ट र पोलिक्याब इन्डिया गरी पाँच कम्पनी सूचीकृत भएका थिए । एयरटेल युगान्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डका लागि सूचीकृत भएका थिए । एनसेलले हालै एसियाज बेस्ट इम्प्लोयर ब्रान्ड अवार्डको १२ औं संस्करणमा एसियाज बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ जितेको थियो ।