नेपालमा राजनीति !
अपवादलाई छाड्ने हो भने सत्ता कै लागि गरिन्छ । नेता र आसेपासेको जिविकोपार्जनकै लागि मात्रै गरिन्छ ।
चुनावताका जति नै कुर्लिए पनि, यहाँ कहिल्यै जनताको सपनालाई विपनामा परिणत गर्न राजनीति गरिएन । जनतालाई दुखबाट सुखसम्म डोर्याउन पनि कहिल्यै कसैले राजनीति गरेनन् । बरु, जनताका मनभरी आलो घाउ बनेर बसेका पीडालाई बल्झाउन चुनाव आइरहन्छ कि जस्तो हुन थालेको छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनले यी आरोपमा मोहर लगाएको छ ।
कुरूप देखिन थालेको छ, यो देशमा राज गर्नेहरूको अनुहार । राजनीतिक दलभित्र अहिले भइरहेका फोहरी खेलले समेत यस्तै आभाष दिन थालेको छ । विपक्षी दलका कुरा त परै जाओस्, आफ्नै दलका नेतालाई र कार्यकर्ता पनि पाखामा पर्न थालेका छन् ।
एमाले त अहिले एउटा व्यक्तिको हठमा चलिरहेको छ । त्यहाँ विरोधीको कत्लेआम हुनु अनौठो नहोला । तर, सत्ताको नेतृत्व गरिरहेको काँग्रेसमा समेत आन्तरिक राजनीतिको भविष्यको हिसाब किताब गरेरै टिकट बाँडिएका छन् । लायक पात्रहरू पछाडि पारिएका छन् । नालायकहरू मनोनयन दर्ता गराउन टिकटका साथ निर्वाचन अधिकृतको कार्यालय पुगे ।
पहिले दलभित्रको भागबण्डा अनि पार्टी-पार्टीबीच भागबण्डाले यो देशका नेतालाई सत्ताभन्दा प्यारो केही छैन भन्ने आरोपमा पनि आसन्न निर्वाचनको तयारीले मोहर लगाएको छ । मुलुकमा स्थापित दलबाट यो देशको समृद्धि सम्भव छैन भन्ने भावना अभिव्यक्त हुन थालेका छन् । जनताको त्यही भावनालाई ब्यालटमा कैद गर्न केही पुराना र नयाँ दल आसन्न निर्वाचनलाई माध्यम बनाउन खोज्दै छन् ।
अबको निर्वाचनले स्थापित दलहरूलाई राजनीतिको मैदान बाहिर पठाउँछ भन्नु मूर्खता हो । तर, केही कमजोर भने अवश्य बनाउने पक्का छ ।
स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकादेखि कतिपय ठुला पालिकामा कसरी स्वतन्त्र उम्मेदवारको जित सम्भव भयो भन्ने गहिरो विश्लेषण कुनै दलभित्र भएन । भएको भए, फेरि पुरानै रंगमा पोतिएर टिकटको बाँडफाँड हुँदैन थियो, होला । आन्तरिक राजनीतिमा लायक पात्रलाई पाखा लगाएर नालायकलाई अगाडि सारिँदैन थियो, होला ।
शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्री बन्नुछ । त्यही कारण सत्तारुढ दलसँग सिट बाँडफाँडमा उनी निकै लचक बने । तर, भोलि आफ्नै संसदीय दलमा बहुमत गुम्ने हो कि भन्ने भयले विरोधीलाई रेट्न उनी रत्तिभर डगमगाएनन् । शायद देउवालाई लाग्दो हो, गठबन्धनको बलमा चुनावी मैदानमा खडा गरिएका प्युसोहरूले नै उनलाई सत्तामा पुर्याउने छन् । फेरि-फेरि प्रधानमन्त्री बन्ने उनको चाहनाको आगोमा प्रचण्ड-माधवसहित उनले अघि सारेका प्युसाहरूले घिउ थप्ने छन् । लाग्दो हो, आफूले उँघ्दै-उँघ्दै दिउँसै देखेको सपना सहजै पुरा हुनेछ ।
देउवा राजनीतिका माहिर खेलाडी होलान् । तर, उनले देखेका सपनालाई बुन्ने हातहरू कस्ता छन् भनेर हेक्का पनि राखेका त होलान् नै । भोलि एमालेबाट बम्पर अफर आएको खण्डमा अहिले उनलाई शिरमा उठाएका नेताहरूले नै उनलाई भीरमा जाक्दैनन् भन्न सकिँदैन । यो देशमा विगतका राजनीतिले यो कुरा प्रष्ट पारिसकेको छ । कहिले बालकोट त कहिले बालुवाटारको फेर समातेर राजनीतिक भविष्य देख्ने प्रचण्ड जस्ता पात्रले उनलाई चुनाव लगत्तै चटक्क बिर्सिए भने पनि अचम्म मान्न नपर्ला ।
काँग्रेस-एमाले जस्ता स्थापित दलको मूर्खताको फाइदा भर्खर बामे सर्ने प्रयासमा रहेका राजनीतिक दलले लिन नसक्ला भन्ने छैन । स्थानीय तह निर्वाचनमा केही पालिकामा देखिएको भेलले आसन्न निर्वाचनमा भीषण बाढीको रुप नलेला भन्न सकिँदैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि आसन्न निर्वाचनपछि सत्ताको तगडा खेलाडी बनेर निस्किने छन् । उनको पहिलो दाउ आफै प्रधानमन्त्री बन्ने हुनेछ । नभए देउवा बाहेक अरू कोही नै सही । तर, उनको दम्भ र हठले एमालेले यो निर्वाचनमा ठुलै मूल्य नचुकाउला भन्न सकिँदैन । विद्धान दुस्मनले कहिल्यै विधिभन्दा बाहिर गएर नोक्सानी गराउँदैन । तर, मूर्ख मित्र (चाटुकार) ले मिठै बोलेर अस्तित्व लोप गराइ दिन्छ । ओलीले अहिले दुस्मन देखेका भीम रावल र घनश्याम भुसाल त उनका आलोचक मात्र थिए । तर, उनीहरूसँग बदला लिने निहुँमा उनले पार्टीलाई कमजोर बनाएका छन् । ओलीको दम्भको फाइदा लिन विपक्षीले हात अगाडि बढाइसकेका छन् । माओवादीले आफ्नो भागमा परेको सिट भुसाललाई छाडेर ओली राजनीति सीधा होइन वक्र रेखामा हिँड्छ भनेर फेरि एक पटक प्रमाणित गरेको छ ।
काँग्रेस-एमाले जस्ता स्थापित दलको मूर्खताको फाइदा भर्खर बामे सर्ने प्रयासमा रहेका राजनीतिक दलले लिन नसक्ला भन्ने छैन । स्थानीय तह निर्वाचनमा केही पालिकामा देखिएको भेलले आसन्न निर्वाचनमा भीषण बाढीको रुप नलेला भन्न सकिँदैन । तर, यो कुरामा स्थापित दलको ध्यान जान सकेन । जसले भोलिका दिनमा प्रतिनिधि सभाले निकै नयाँ अनुहार र दललाई स्वागत गर्न नपर्ला पनि भन्न सकिँदैन ।
अहिले एमाले र काँग्रेसलाई बागी उम्मेदवारसँगै अन्तर्घातले पनि अवश्य सताउने छ । जसको फाइदा राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउने छन् । जनता विरक्तिएको बेला समेत सुध्रिन नसकेका दलहरूबाट आशा गर्नु मूर्खता हो । त्यसमाथि ४६ साल यता देशको राजनीतिमा हालीमुहाली गरेका दलहरूले देशको काँचुली फेर्ने आशा अब मिथ्या साबित भइसक्यो ।
अवश्य ! दलको विकल्प स्वतन्त्र उम्मेदवार हुन सक्दैनन् । तर, दलको विकल्प अर्को दल बन्न सक्छ ।
अहिले काँग्रेस-एमाले-माओवादी विचार र जनताको भरोसाबाट खस्किएका छन् । जनताको विश्वासमाथि लागेको यो ठेसलाई नै माध्यम बनाएर साना र कमजोर मानिएका दलहरू सोचेभन्दा फरक नतिजा पस्कने तयारी गर्दैछन् । उता जनताले पनि झन्डै साढे तीन दशकदेखि बारम्बार विश्वास गर्दा पनि धोका दिइरहने दल र नेतालाई अब शिरमा चढाइरहन नसक्ने सन्देश स्थानीय तह निर्वाचनबाटै दिइसकेका छन् । त्यसैले रवि लामिछाने हुन् वा राजेन्द्र लिङदेन वा स्वतन्त्र, उनीहरुले आसन्न निर्वाचनमा केही अनपेक्षित नतिजा हात पार्ने पक्का छ । त्यसपछि उनीहरुले हिँड्ने बाटोले नै उनीहरुको भविष्य निर्धारण गर्नेछ । पानीको फोका बन्ने कि समुन्द्रको छाल, उनीहरुको कार्यशैलीले यो पनि निर्धारण गर्नेछ ।
अर्कोतिर सधैँ देश र जनता मात्रै हार्ने निर्वाचन पद्धति नै कतै गलत त छैन ? भनेर सोच्ने बेला पनि आएको छ । सधैँ पैसाले जित्ने अनि देश र जनता हार्ने निर्वाचन पद्धतिकै कारण जनता निराश त बनेका होइनन् ? आसन्न निर्वाचनपछि स्थापित दलका सन्काहा नेताहरूको रवैयालाई बिर्सिएर उनीलाई फेरि जनताको विश्वास हासिल हुन्छ कि जनताको परिवर्तन चाहनाले अर्को कुनै दललाई नेपालको राजनीतिमा पाइला जमाउन सजिलो हुन्छ ? त्यो त मतदानपछि मात्रै थाहा हुनेछ । तर, स्थानीय तहको निर्वाचनमा खसेका मतलाई समेत आधार मान्ने हो भने जनता परिवर्तनको पक्षमा छन् । जनताको यो चाहनालाई कुनै न कुनै अर्को दलले आफ्नो मुठ्ठीमा कस्नेछ । बस्, हेर्नु छ, पुराना र नयाँ जन्मिएका वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारको जमातले जनताको चाहनालाई अँजुलीभरी बटुल्न सक्ने छन् कि कनिका मै चित्त बुझाउने छन् ।
प्रतिक्षा जारी छ...