close

नवनिर्वाचित जनप्रतिनिधिका आगामी कार्यभार

नवनिर्वाचित जनप्रतिनिधिका आगामी कार्यभार

Trulli
ADVERTISEMENT

दोस्रो स्थानीय तह सदस्य निर्वाचन समग्रमा सफलतापूर्वक सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूले आफूलाई थप जिम्मेवार बनाउँदै प्रभावकारी कार्यसम्पादन गर्नका लागि केही गरौं भन्ने सोच भएका जनप्रतिनिधिले शुभारम्भ गर्न अवश्य सक्ने अवस्था रहेको छ । निश्चित अवधिमा जनताबीच नविकरणका लागि जानुपर्ने बाध्यता आवधिक निर्वाचन प्रणालीको एउटा सुन्दर पाटो हो ।

यस कार्यले जनतालाई आफू जनार्दन भएको अनुभूति दिन्छ । यसको परिणामले चुनावमा संलग्न सबै दल वा पक्षलाई आत्मसमीक्षाको बाटो खोलिदिन्छ । यस्ता सुन्दर पक्षलाई कोही कसैले पनि नजरअन्दाज गरेको खण्डमा ऊ आफै इतिहासको गर्तमा रहने अवस्थामा अवश्य आउँछ। जनताको अभिमत¸ दिन खोजेको सन्देश र आशयलाई राम्रोसँग बुझ्न सक्ने नेतृत्व नै लोकप्रिय हुन्छ । त्यसैले जनमत पाउनका लागि जनतासँग सँगसँगै रहदै उनीहरूको चाहना र आवश्यकताको अधिकतम सम्बोधन गर्नु सफलताको सूत्र हो । वास्तविक लोकतन्त्रको अभ्यासमा यसको हिसाब मिलान गर्नमा गणितज्ञ नै हुनु पर्छ भन्ने लाग्दैन । सामान्य जोकोही मान्छेले पनि यसको जवाफ फेला पार्न सक्दछ । यस्ता महत्वपूर्ण आत्मसमीक्षाका विषयहरूमा दलहरू तथा जनप्रतिनिधहरूले छलफलको पहल गर्ने नै छन् ।

अबको पाँच वर्षमा जनप्रतिनिधि बन्नका लागि गरेको करोडौं लगानीको नाफासहित असुलीमा लाग्दछन् भन्ने आम धारणालाई चिर्न सकेमा मात्र विश्वसनीयता बढ्नेछ । नागरिकहरूले चाहेजस्तो भएमा नीति तथा कार्यक्रमहरूको समर्थन गर्नेछन् । भ्रष्टाचारमा शून्य सहनशीलता सम्बन्धी सार्वजनिक प्रतिबद्दता व्यक्त गर्दै विश्वासको वातावरण बनाउन जरुरी देखिन्छ । यो काम सबैलाई सहज नहुन पनि सक्छ तर यसले एउटा उच्च नैतिक बल प्रदान गर्नेछ र गलत कुरासँग सम्झौता नगर्ने आँटमा बढोत्तरी आउँनेछ । यस कामका लागि तत्काल आम समुदायलाई भ्रष्टाचार अन्त्यको अभियानमा समावेश गर्न भ्रष्टाचार, ढिलासुस्ती सम्बन्धी जनताको गुनासो सुनुवाई गर्ने गोपनीय र भरोसायोग्य हटलाइनको व्यवस्था गर्नु पर्ने हुन्छ । यस्ता काम कुराको जानकारी आम जनतालाई गराउनु पर्ने हुन्छ । भ्रष्टाचारको अन्त्य र न्यायमा सहज पहुँच नै आजको नेपाली समाजको मुख्य माग रहिआएको तथ्यलाई भुल्नु हुदैन ।

व्यक्तिले राजनीतिक, प्रशासनिक जुनकुनै किसिमको पहुँच राख्ने ठाउँ भनेको स्थानीय सरकार नै हो । यसले जनचाँसो ख्याल गर्छ । जनताका पीर¸ मर्का र दुःखलाई सुन्छ । गाउँपालिकाबाट गरिने प्रशासनिक कामहरू छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन सकिन्छ । कतिपय सेवाहरू जनताकै घरदैलोमा पुर्‍याउँन सकिन्छ । प्रशासनिक सेवाप्रवाहका सम्बन्धमा जनतालाई बारम्बार सूचना उपलब्ध गराउने परिपाटी विकास गर्दै जानु पर्दछ । जनताले धेरै आशा गरेकै छैनन् । केवल भरोसा र विश्वास खोजेका छन् । जनप्रतिनिधिका वरिपरि रहेनेहरूमा आधारित भएर धारणा बनाउने कामले त्यति राम्रो गर्दैन । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कुरा प्राथमिकताको सूचीबाट कहिल्यै पनि परपर सार्नु हुँदैन । व्यस्तता जति भए तापनि र महत्वपूर्ण कुरालाई विर्सने काम गर्दै नगर्नु राम्रो हुनेछ । अर्को खास विषय समयको व्यवस्थापन हो । आफुलाई के काममा समर्पित गर्ने भन्ने कुरा आफ्नै इच्छा शक्तिमा भर पर्दछ ।

पहिलो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूप्रति आलोचनाका कुराहरू भए । खासगरी विकास सम्बन्धी सोच र विचारको अभाव भएको तथा सम्बन्धित् विषयसँग र नैतिकवान मानिसलाई नजिक राख्न नसकेको भन्ने आरोपहरू आए । निस्वार्थी र सक्षम व्यक्तिहरू आफै आउँदैनन् । उनीहरूलाई खोजेर साथमा ल्याउनु उत्तम हुन्छ । निर्वाचन जितेर मात्र सबै थोक नहुने पनि देखियो । विजयको विरासतलाई जोगाउन सद्बुद्दि र विज्ञताको सेवा लिनु जरुरी हुन्छ । यो कुरा असम्भव छैन । यसका लागि केवल इमान्दार प्रयास जरुरी देखिन्छ । खोज्दै आउनेहरूबाट जोगिदै चाहिने मान्छेको खोजीमा लाग्ने कदम चाल्न कत्ती पनि ढिला गर्नु हुँदैन ।

समग्र मनोविज्ञानमा सबै कर्मचारी नै भ्रष्ट छन् भन्ने मान्यताले असल कर्मचारीहरूको आत्मसम्मान गिरेको छ । असल कर्मचारीको पहिचान गर्ने हो भने मात्र आत्मसम्मान उचो बनाउन सकिन्छ । आवश्यक सेवासुविधा थप्ने तर अदृश्य क्रियाकलापलाई बन्द गर्ने साहस गर्नुपर्ने देखिन्छ । आम समुदायको धारणामा विगतको विकासात्मक अभ्यासलाई नियाल्दा अनैतिक एवम् भ्रष्ट आचारणको जालोले ढाकिएको छ । हरेक बस्ती र टोलमा केही सिमित मानिसहरूमा विकासको अतिरिक्त लाभ पुगिरहेको छ भनिन्छ । यो संक्रामक रोग झैं उपभोक्ता समिति, टोल विकास संस्था, पेटी ठेक्कालगायत सबैमा व्याप्त हुँदै गएको छ भन्ने कुरामा कुनै आशंका छैन । समुदायस्तरसम्म फैलिएको यो भुसको आगो निभाउने कुरा त्यती सजिलो विषय पक्कै होइन नै तर असम्भव पनि देखिदैन । यस आगोलाई निभाउन सकिएन भने जनताले चाहेको विकास निर्माणमा दिगोपना र गुणस्तरीयता ल्याउन अवश्य सकिदैन । नागरिक असन्तुष्टि बढ्दै जादा शासन सञ्चालनमा पनि सहजता पक्कै आउने छैन । यस्ता अजंग चुनौतीको सामना गर्न तयार हुनुको विकल्प छैन भन्नु पर्दछ ।

अहिलेको विकासमा जनताको सहभागिता कागजी प्रक्रिया मात्र हो भन्ने कुरा घामजस्तै छर्लङ्गै छ । यसलाई थप पारदर्शी र जवाफदेही बनाउन नसकिने पनि होइन । सम्बन्धित् जनप्रतिनिधिले हरेक समितिमा आम भेला बोलाई आयोजना सञ्चालनदेखि सम्पन्न गर्दासम्म कोहीकसैलाई केही गर्नु र दिनु पर्दैन मात्रै भने पनि तोकिएको काम पुरा हुन सक्तछ । जति काम गरिन्छ त्यती मात्र कुरा गर्ने र जति कुरा गरिन्छ त्यति मात्र काम गर्ने संस्कारको बानी बसाल्ने हो भने हामीले चाहेको उद्देश्यमा पुग्न कुनै आइतबार कुर्नु पर्दैन ।

देश परदेशमा रहेर पनि गाउँपालिकाको दिगो विकास र समुन्नतिका लागि आफ्नो क्षमता र अनुभव खर्च गर्न चाहनेहरू थुप्रै देखिन्छन् । यो सम्पत्तीलाई सदुपयोग गर्नु थप जिम्म्वारी हो । आफ्ना आसेपासेलाई विज्ञको विल्ला भिराउने गर्नु त्यति उचित नहोला । नैतिकवान मानिसहरूको निगरानीले अनियमितता गर्नेहरूको मनोबल घट्दछ भने इमानदार कर्मयोद्दाहरूलाई थप उर्जा प्रदान गर्नमा अहम भूमिका निर्वाह गर्दछ । यस कार्यले जनप्रतिनिधिहरूलाई आत्म अनुशासनमा रहन अभिप्रेरित गर्दछ । विभिन्न माध्यमबाट यस्ता व्यक्तिको पहिचान गर्दै विषय विज्ञताभन्दा पनि इमानदारिता नै प्रमुख हो भन्ने कुरालाई हेक्का राख्र्नु पर्दछ । यस्ता विषयमा कुनै पनि सम्झौता गर्नु हुदैन । व्यक्तिगत लाभबाट मुक्त विज्ञहरूको समूह बनाउँदै आफूलाई सक्षम र दृढ बनाउनु पर्दछ । बोली र व्यवहारसँग तादात्म्यता मिलाउनु पर्दछ । अनावश्यक आश्वासनले आफ्नै शक्ति क्षीण हुँदै जान्छ ।

जनताको विश्वासमा नै जनप्रतिनिधिले आमुल परिवर्तन गर्न सक्ने अवस्था सिर्जना हुन्छ । आम जनभरोसाले नै चुनौतीपूर्ण काममा चाहेको सफलता पाउन सहज हुन्छ । स्थानीय सरकारहरू दिगो विकासका सम्वाहक हुन् । पछिल्ला विकासात्मक कार्यहरू खासै निर्विवादित बन्न सकेको देखिदैन । विकास आयोजनालाई प्राथमिकता दिने कुरा र व्यवहारिक रूपमा हुने प्रभावका बारेमा मतान्तर हुन सक्तछ । यस बेलामा नेतृत्वमा स्पष्ट अडानको आवश्यकता पर्दछ । यो एउटा गतिलो पहिचान बनाउने सुअवसर पनि हो ।

लेखक बगनासकाली गाउँपालिका, पाल्पाका प्रमुख प्रशासकिय अधिकृत हुन्