close

बालेनले जगाएको आशा अनि ती नानीमैयाँ

बालेनले जगाएको आशा अनि ती नानीमैयाँ

Trulli
ADVERTISEMENT

रकारले संघीय र प्रदेश निर्वाचनको घोषणा गरेको छैन । तर, देशमा राजनीतिको अर्को गर्मी सुरु भइसकेको छ ।

स्थापित दलहरूको कार्यशैलीबाट आजित मतदाताले गत स्थानीय तह निर्वाचनमा केही स्थानमा स्वतन्त्र उम्मेदवारलाई विजयी बनाएसँगै देश नै दलीयवादभन्दा टाढा गइरहेको हो कि जस्तो देखिन थालेको छ । चुनाव घोषणा हुनु अगावै स्वतन्त्र उम्मेदवारहरूले चुनावी मैदानमा प्रवेश गर्न थालेसँगै जनतामा दलप्रति कति निरास रहेछ भन्ने बुझ्न कठिन नहोला । 

हुनत हरेक निर्वाचनमा स्वतन्त्र उम्मेदवारी परेकै हुन्छ । तर, अहिले देखिए जस्तो संख्यामा स्वतन्त्र उम्मेदवारको पछाडि कहिल्यै मतदाताको रुचि देखिएको थिएन । मतदाताको यस्तो रुचिलाई वैकल्पिक राजनीतिक शक्तिको चाहनाका रुपमा बुझ्न पनि सकिएला ।

अहिले विशेष गरेर युवा वर्गले स्थापित राजनीतिक दलप्रति देखाएको अरुचिलाई ‘क्यास’ गरेर अगाडि बढ्ने समय समेत आएको हो कि जस्तो पनि देखिन्छ । टेलिभिजनकर्मी रवि लामिछानेले मंगलबार गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मतदाताको यो चाहनामा खरो उत्रिएला कि विगतमा वैकल्पिक राजनीतिक शक्तिको ध्वाँस दिँदै उदाएका दल झैँ बन्ला ? अनि तामझामका साथ जुन क्षितिजबाट उदाएको छ, त्यहीँबाट अस्ताउने हो कि वास्तव मै स्थापित दललाई दनक दिन सक्ने शक्ति बन्ने हो ? समयलाई कुर्नै पर्ला ।

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा बाबुराम भट्टराई जस्ता एकसे एक नेताहरू असफल बनेको सम्झिन धेरै दिमाग खियाउनु पर्दैन । कुनै बेला रवि झैँ सेलेब्रेटि रहेका पत्रकार रवीन्द्र मिश्र पनि वैकल्पिक राजनीति दल गठनमा असफलता हात पारेर अहिले थकान मार्दै छन् । यो त भर्खरै कै कुरो हो ।

तर, एउटा कुरा के पक्का छ भने राष्ट्रिय सभा गृह वा कुनै खुला मैदानमा पछाडि उभिने जनताको मात्र सहयोगमा नेता बन्न सकिँदैन । पार्टी ठड्याउन सकिँदैन । अनि मिठा भाषण र सटिक तर्कले मात्र पनि जनताको मन जित्न सकिँदैन । मत जित्न सकिँदैन ।

अर्को कुरा पनि पक्का छ । स्थानीय चुनावमा ठुला पालिकामा जित हात पारेका स्वतन्त्र उम्मेदवारले गर्ने कामले समेत अहिले संघीय चुनावमा उठ्ने मन बनाएकाहरूको भविष्य बनाउने वा बिगार्ने काम गर्न सक्छ । किनकि ती नगर प्रमुखहरुले गर्ने कार्यलाई मतदाताले भोलिका दिन विवेकको तराजुमा जोख्न सक्छन् । हिजो आफूले हालेको मत र प्रयोग गरेको विवेक सही रहेछ कि गलत भनेर निर्क्यौल निकाल्न सक्छन् ।

स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका व्यक्तिहरूभन्दा रविले एक कदम अगाडि बढ्ने साहस भने गरेका छन् । बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जनताको मन जित्न त सक्लान् । मत जित्न सक्लान् । अनि संसदमा उभिएर जनताको पक्षमा भरमग्दुर भाषण पनि ठोक्न सक्लान् । तर, त्यसले जनताको चाहना र आकांक्षा पुरा गर्न भने सक्दैन । सिंहदरबारले गर्नु पर्ने काम नयाँ बानेश्वरमा चिच्याएर हुनै सक्दैन । अनि फेरि एक पटक जनतामा निराशा छाउने बाहेक अर्को विकल्प पनि रहँदैन । यही हो, यथार्थ । शायद रविले यो कुरा बुझेरै दल गठनको घोषणा गरेको हुनु पर्छ ।

हुनत रवीन्द्र मिश्र पनि ठुला डिङ हाँकेरै राजनीतिमा होमिँदा उनीसँग बौद्धिक वर्गको राम्रो साथ थियो । उनीबाट आशा गर्न सक्ने प्रशस्त आधार थिए । त्यही कारण २०७४ सालको संघीय र प्रदेशसभा निर्वाचनमा तत्कालीन साझा पार्टीको प्रदर्शन तारिफयोग्य नै रह्यो । तर, त्यसपछि मिश्रको विचार सिद्धान्त जसरी स्खलित हुँदै गयो, एउटा जम्न लागेको वैकल्पिक राजनीतिक शक्तिको अवसान पति त्यसरी भयो । मिश्रको वैचारिकतामा आएको ह्रासले एउटा होइन दुइटा राजनीतिक शक्तिको अवसान भयो । हुनत विचारमा विष भरिनु अघि नै उनको साथ छाड्नेहरूको सूची लामै बनिसकेको थियो । बिचरा, अहिले राजनीति मेरो वशको विषय रहेनछ भनेर असारे घाम तातेर बस्नु परेको छ । हुँदो खाँदोको ‘क्यारियर’ छाडेर राजनीतिको मैदानमा ओर्लिएका रविले यस्ता मसिना कुराहरूमा पनि ध्यान दिएकै होलान् ?

हुनत यो देशमा उथल पुथल ल्याउने मध्ये एक मानिएका बाबुराम भट्टराईले पनि जिन्दगीभरको बोकेको सिद्धान्तलाई तिलाञ्जलि दिएर वैकल्पिक राजनीतिक शक्ति बन्ने आँट गरेकै हुन् । तर, समयसँगै उनको विचारसँग असहमत सहयात्रीले साथ छाड्दै जाँदा उनी राजनीतिक अखडामा हारेको खेलाडी बन्न पुगे । समात्न सिङ र पुच्छर दुवै नपाउने हो कि भन्ने त्रासमा उपेन्द्र यादवको दलमा दोस्रो हैसियतमा रहन बाध्य छन् । सिद्धान्त नत्याग्दा बाबुरामको नेपाली राजनीतिमा जुन हैसियत थियो, त्यसबाट निकै तल झर्नु परेको तीतो सत्य अँगालेर बस्न अहिले उनी बाध्य छन् । त्यसरी नै जसरी मिश्रले आफ्नो वैकल्पिक राजनीतिक सोचमा परिवर्तन ल्याएपछि झर्नु परेको थियो । साथीभाइसँग टाढा हुनु परेको थियो ।

अहिले रविले भीडको साथ पाएका छन् । तर, उनले गठन गरेको २१ सदस्यीय कमिटीमा कुनै परिचित अनुहार नरहेको उनले स्वयम्ले राष्ट्रिय सभामै स्विकारेका छन् ।

बुझ्नु पर्छ, एक्लो प्रयासले कोही अरविन्द केजरीवाल बन्न सक्दैन वा इमरान खान बन्न सक्दैन । बलियो टिम भए असम्भव भन्ने पनि केही छैन । त्यसमाथि वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउन २–४ दिन, २–४ वर्ष वा २–४ वटा चुनावको प्रयास पर्याप्त हुँदैन । विश्व मै यो प्रमाणित छ । हुनसक्ला, मिश्र र भट्टराईले गरेको गल्तीलाई पाठका रुपमा लिएको खण्डमा रविले एउटा आशा लाग्दो वैकल्पिक राजनीतिक शक्तिको उदय गराउन सक्लान् । त्यो कुरा आसन्न निर्वाचन मै सम्भव छ भनेर शायद उनले पनि सोचेका छैनन् होला ।

यो काठमाडौँ सहरमा कुनै बेला भनिन्थ्यो, जागिरबाट अवकाश पाएपछि वा आफूले गरिरहेको कामबाट तृप्त भएपछि मानिसहरू व्यापारी बन्छन् भने । अहिले त्यो कथन सही नहोला । तर, आफ्नो काममा केही नाम कमाएका व्यक्तिहरू अहिले राजनीतिक दल खोल्न कम्मर कसेर लागेका छन् । कतिले यस्तो प्रयास गरेर हार खाएर बसेका छन् । तरपनि, उनीहरू भित्र राजनीतिको हुटहुटी मरेको छैन ।

रमेश खरेल जस्ता व्यक्ति केही मानिस समातेर राजनीति गर्दै छन् । बाबुराम भट्टराई आफ्ना पछिल्ला गल्तीको दलदलबाट निस्कन हात खुट्टा चलाउँदै छन् । अनि रवीन्द्र मिश्र राजनीतिमा फेरि आउने मौकाको ताकमा छन् । तर, अचम्मको कुरो यो देशमा व्यक्ति पिच्छे दल छन्, कोही कसैसँग मिलेर काम गर्न सक्दैनन् ।

हुनत यो त्यही काठमाडौँ हो जसले नानीमैयाँ दाहाललाई कुनै राजनीतिज्ञले छुन नसकेको राजनीतिक उचाइँमा पुर्‍याएको थियो । अनि चार वर्षपछि नै उनको वास्तविक औकात देखाइ दिएको थियो । त्यसैले बालेन वा साम्पाङको जितबाट हौसिएर हुँदा खाँदाको ‘क्यारियर’ छाडेर राजनीतिमै होमिनु पर्ने दिन आयो भनेर सोच्नु कतिपय अर्थमा गलत पनि हुन सक्छ । तर, राजनीतिको हुटहुटी हुनेले त्याग त गर्नै पर्छ भन्ने तर्कसँग पनि असहमत हुन सकिँदैन । 

ठुला सहरमा केही स्वतन्त्र उम्मेदवारको जितले जनता राजनीतिक दलको आचरणमा परिवर्तन चाहन्छन् भन्ने पक्कै देखिएको छ । तर, उनीहरुले फेरि अर्को बालेनलाई शिरमा चढाउँछन् भनेर दाबी गर्न नसकिएला कि ? किनकि दशकौँ अघि यही राजधानीका मतदाताले सफलताको आकाशमा पुर्‍याएर जमिनमा बजारेको जिउँदो इतिहास बनेर आज पनि नानीमैयाँ दाहाल बौद्ध जाेरपाटी वरिपरि नै घुमिरहेकी भेटिन्छिन् ।