आज विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस । अग्रजलाई दुर्व्यवहार गर्न हुँदैन भनेर सबैलाई जागरूक गराउने दिन । तर, किन किन आजै कै यो देशका अग्रजहरू मध्ये पनि अग्रजलाई गाली गर्ने रहर पो मनमा खेल्न थाल्यो ।
बानी यस्तो छ कि, रहर लाग्यो कि गरिहाल्ने । ‘आव देखा न ताव’ भन्छन् नि, हो त्यस्तै हो ।
०००
व्यापारिक घरानालाई फाइदा पुग्ने गरी एक जना पूर्व नासु र व्यापारीलाई करको दर फरक पार्न अख्तियारी दिने । अनि उसले भनेको हुबहु मान्न सचिवलाई आदेश दिने अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन खोज्दा प्रधानमन्त्रीले ‘भो, अहिले पर्दैन !’ भन्नु भएछ । भन्नु भएछ के भनेछन् । कहिले काहीँ शब्दले पनि आदर गर्न चाहँदैन रहेछ ।
अब आयो कुरा । त्यति लज्जित काम गर्ने अर्थमन्त्रीको ढाकछोप गर्ने प्रधानमन्त्रीलाई कसरी चोखो मान्न सकिएला र ? फेरि अहिले बजारमा हल्ला पनि फैलिन थालेको छ, प्रधानमन्त्री कै सहमतिमा अर्थमन्त्रीले व्यापारीलाई फाइदा पुर्याउन ती पूर्व नासुलाई खटाएका थिए रे भनेर । पत्याउनै पर्ला !
जुन कुराले सदनमा समेत अवरोध गरिएको छ, त्यो कुरा नपत्याएर पनि के गर्नु र ?
हल्ला पुरानै हो । प्राय पुराना पत्रकार सबैलाई थाहा छ । डिल्ली बजारको भट्टीमा देउवाले तिर्न बाँकी रकमको किस्साका बारे । अहिले सबैले देखेका छन् हाम्रा सम्माननीय प्रधानमन्त्रीको रवाफिलो जीवन । पाँच पटक प्रधानमन्त्री बनेका व्यक्तिको त्यस्तो जीवनको कुरा काट्नु, डाहा गरे झैँ हुन्छ होला । उहाँले अकुत सम्पत्ति जोड्दा अनि राज्य शक्ति आफ्नो हातमा हुँदा अनियमितता गरेर त्यो सम्पत्ति आर्जेको भने भन्न भने खोजेको हैन ।
के प्रमाण हुनु र ? त्यस्तो आरोप लगाउन । एउटा भट्टीको बिल अनि औकात देखाउने पुराना तस्बिरको भरमा त्यत्रो आरोप लगाउन पनि मिल्दैन । त्यसमाथि शाहीकालमा समेत प्रमाणित हुन नसकेको विषय सही हो भने ढिपी पनि कसरी कसौँ ।
किनकि देउवा मात्र होइन । सत्तामा पुग्न पाएका हरेक नेताको औकात रकेटले आकाश ताकेर उडे झैँ आकासिएको छ । क कसलाई आरोप लगाउनु ? किन हाम्रा अग्रज नेता जति सबैसँग दुस्मनी मोल्नु ? र्याल चुहाउने र अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने उमेरमा पुगी सकेका नेताहरूको अपमान गरेर रमाउन कसलाई पो मन लाग्ला र खै ? भो’ गर्दिन, उनीहरूको अपमान । उनीहरुलाई अपमान ।
धेरै पटक यस्तै भनेको छुँ । तर, किन किन, यो हात पनि सलबलाइ हाल्छ । चिलाउन थाल्छ । लेख्न बाध्य बनाउँछ ।
अर्थमन्त्री र शायद प्रधानमन्त्रीको पनि अख्तियारी पाएर करको दर घटबढ गराउँदा मारमा पर्ने मध्यम वर्गीय जनता नै हुन् । उनीहरू केही दिन चिस्याउँछन्, कराउँछन् अनि विगतमा झैँ चुप लाग्छन् । म जस्तै ।
त्यसैले यस्तो कुरामा बिट मार्दा नै राम्रो होला । आखिर गुन्द्रुकलाई प्रिय भोजन मान्ने स्तरका जनताले जङ्गली बँदेल, घोर्ले खसी, खाइलाग्दा लोकल कुखुरा, हरिणको सुकुटी, तीखरो जङ्गली कालिज अनि स्वादिला माछाका परिकारबाट ‘सोसल स्ट्याटस’ देखाउने कुलिन वर्गको कुरा काट्न पनि मिल्दैन नि । गाली गर्न त परैको कुरा ।
अर्थमन्त्री र शायद प्रधानमन्त्रीको पनि अख्तियारी पाएर करको दर घटबढ गराउँदा मारमा पर्ने मध्यम वर्गीय जनता नै हुन् । उनीहरू केही दिन चिस्याउँछन्, कराउँछन् अनि विगतमा झैँ चुप लाग्छन् । म जस्तै ।
अनि विकट सुदूर पहाडी, हिमाली भेग होस् वा तराईका समथर भूमि । चप्पल खियाएर पसिना काढ्नेहरूलाई करको दरसँग के मतलब ? त्यस्ता वर्गले यस्ता कुरामा ध्यान दिनु पनि हुँदैन । बस्, उनीहरुको ध्यान दुई छाकको जोहो गर्नैमा बित्नु पर्छ । मात्र दुई छाक खान जन्मिनु पर्छ, राम्ररी दुई छाक खान नपाएरै मर्नु पर्छ । गरिबको जन्म नै जिन्दगी घिसार्न भएको हो । घिसारी राख्नु पर्छ । यो जिन्दगी, ती फाटेका चप्पल र आङ नढाक्ने वस्त्रसँगै । किनकि तिम्रा दुख बारे समाचार बनाएर बेच्ने प्रशस्त भेटिएलान् तर, आँसु पुछ्ने कोही भेटिँदैनन् । यो पक्का हो ।यो देशमा गरिब भएर जन्मिनेको गति यही थियो, छ र अझै धेरै वर्ष यस्तै हुनेछ । किनकि हामीले लायक नेतृत्व पाउनै सकेनौँ । व्यापारीको चित्त दुखाएरै भए पनि गरिबका बारे सोच्ने कोही भएनन् ।
अनि हरेक दिन जमिनमा बजार्दा बजार्दै प्वाल परिसकेको चप्पलका बारेमा सोच्ने फुर्सद नभएका जनतालाई करको दर मन्त्रीले निर्धारण गरुन् कि सचिव वा अनधिकृत पूर्व नासु र व्यापारीले, के मतलब ।
नेपालमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बनेको रेकर्ड बनाउने ज्योतिषको भविष्यवाणीमा रमाइरहेका देउवाले ती गरिब जनताको फाटेको चप्पलमा आँखा किन लगाउने ? भुइँमा घिस्रिँदा घिस्रिँदै उसको पाइतालाबाट बगेको रगतमा किन आँसु बगाउने ? किनकि न उनीहरुको आम्दानी न राज्यलाई कर तिर्न लायक छ, नत उनीहरूको हैसियत व्यापारीले तिरेका करबाट समृद्ध बन्न सक्ने नै । राज्यको स्रोतमा पहुँच नभएका जनताले यस्ता कुरामा मतलब नै राख्न हुँदैन । शायद राखेका पनि छैनन् ।
उनीहरूको हैसियत त नेताहरूले नै निर्धारण गरेका छन् नै । केही पैसा हातमा राखिदिन सकियो भने उनीहरुले भोलि आउने चुनावमा भोट हाली हाल्छन् भनेर । त्यो भोट किनिदिन सक्ने ‘रिसोर्स पर्सन’ लाई पो खुसी बनाउन सक्नु पर्छ । मध्यरातमा प्रधानमन्त्रीसँगको मिलेमतोमा ती जमातलाई खुसी बनाउने काम गरियो । स्याबास, हाम्रा अर्थमन्त्री र प्रधानमन्त्री ज्यु ! राज्यको दोहन कसरी हुँदो रहेछ भन्ने जनचासोलाई पारदर्शीरुपमा अगाडि ल्याइदिएकोमा ।
हिजोका प्रधानमन्त्री र अर्थमन्त्री अपारदर्शी थिएनन् होलान् । उनीहरुले पनि ठुला व्यापारीलाई खुसी बनाउने हर्कत त पक्कै गरेकै थिए होलान् । तर, उनीहरू कहिल्यै पारदर्शी बन्न सकेनन् । उनीहरूको हर्कतले सदन अवरोध हुन पनि सकेन ।
म त भन्छु, यस्ता पारदर्शी अर्थमन्त्रीले मात्र होइन, उनको गल्तीमा काँध थाप्ने प्रधानमन्त्रीले पनि नैतिकताका आधारमा राजीनामा दिन सक्नु पर्छ । प्रतिपक्षले पनि सदनमा टेबल ठोकेर प्रधानमन्त्रीकै राजीनामा माग्न सक्नु पर्छ । यस्तो राष्ट्रघात उनीबाट समेत भएको छ भने ।
आज अग्रज दिवसका दिन हाम्रा अग्रज प्रधानमन्त्री र यो देशका अन्य नेताहरूसँग यही आग्रह गर्नुछ । कमसे कम यहाँहरू जस्ता उमेरले डाँडो काटेका नेताहरूलाई यस्तो दिवसका दिन गाली गर्न नपरोस् । तथानाम भन्न नपरोस् । बुद्धि फिरोस् । यो उमेरमा देशका लागि केही गरूँ भन्ने भावना जागोस् । कमसेकम जनतासँग लुकाए झैँ माथि भगवानसँग आँखा लुकाउन नपरोस् । जनतासँग जुधाउन नसकेको आँखा भगवानसँग जुधाउन सकियोस् ।
आराध्यदेव पशुपतिनाथसँग पनि यही कामना गर्छु । यहाँ र यहाँहरू जस्ता सबै नेतामा बुद्धि पलाओस् । जनताले फाटेको चप्पल घिसारेर हिँड्न नपरोस् । अनि पूर्व नासुको आदेशमा सचिवले बजेटमा करको दायरा घटबढ गर्न नपरोस् ।