अहिले निकै तातो बहस हुनु पर्थ्यो । महिला अधिकारवादी, मानव अधिकारवादी, युवाको जमात अनि स्वघोषित नागरिक अगुवा र अभियन्ताहरू माझ । अनि कहिले शीतल निवास त कहिले बालुवाटारका सडक पेटीमा पम्प्लेट सहित उभिएका हुनु पर्थ्यो, उनीहरु । अहँ छैनन् कतै । किन त ?
हरेक दिन जसो विद्याको मन्दिर मै विद्यार्थीहरू यौन हिंसामा परिरहेको खबरहरू आउँदा पनि किन मौन छन्, उनीहरू ? किन राज्यलाई घचघच्याउन अल्छी गरिरहेका छन् ? कि यो विषय उठाउँदा हरियो डलर पाइँदैन ? वा हरियो डलरवालाहरुलाई यो विषयप्रति त्यति चासो छैन ? हुनसक्छ, विगतमा नेपालमा यस्ता घटना कमै सार्वजनिक हुने गरेकाले अब त सबैभन्दा पहिले प्रपाेजल बनाउनु पर्यो । त्यसमै व्यस्त हुनु परेकाले राज्यलाई घच्घचाउन ढिला भइरहेको होला ।
तर त्यही जमात, केही साता अघि एउटी सेलिब्रेटीले ६ वर्ष अघि बलात्कारमा परेको गुनासो पोख्दा तातेका थिए । सडकदेखि सदनसम्म ।बलात्कारका घटनामा कानुनबाटै हदम्याद हटाउन व्यापक पहल गरिए पनि । तर खै पढ्न विद्यालय जाँदा यौन हिंनामा परेका ससाना बालबालिकाहरूको न्यायको लागि सडक र सामाजिक सञ्जाल तातेको ? खै खै खै ?
हरेक बाबु आमाले गुरु पनि पिता समान हुन्छ भन्ने विश्वासका साथ आफ्ना सन्तानलाई शिक्षकको जिम्मामा सुम्पिन्छन् । होस्टलमा राख्ने गर्छन् । तर हिजोआज, हरेक दिन बाहिरिन थालेको समाचारले पुष्टि गरेको छ, शिक्षा दिने थलोमा नरपिचाशहरु बस्दा रहेछन् ।
विद्यादान गर्ने महान कार्यमा लागेकाहरू नै विद्यार्थीको तिघ्रा र नितम्ब छाम्दा रहेछन्, मौका परे वक्षमा पनि हात पुर्याउँदा रहेछन् । होस्टल मै बसेका विद्यार्थीहरूलाई सँगै सुत्न प्रस्ताव समेत गर्दा रहेछन् । मानसिक तनाव दिँदा रहेछन् । अझै बाहिर आउने छन्, दुर्व्यवहारका धटनाहरु । धेरै मौन बसेका छन्, अहिले । धम्कीले गर्दा । समाजमा बेइज्जत हुने डरले गर्दा । तर लाग्दैछ, अझै निकै ज्वालामुखी विष्फोटको तयारीमा छन् । हुनै पर्छन् ती विष्फोट । यौनका भोका ब्वाँसोहरुलाई नांगो बनाउन ।
लाग्न थालेको छ, अब यो देशका विद्यालय र कलेज हाम्रा सन्तानका लागि सुरक्षित छैनन् । शिक्षाको मन्दिर अपवित्र बनाइएको रहेछ । अहिले पो थाहा हुँदै छ, पिता समान मानिएका गुरुहरू त शिक्षकको भेषमा बाँसो पो हुँदा रहेछन् । यौन पिपासु पो रहेछन्, हामीलाई शिक्षादेखि दिक्षा दिने गुरुहरु । बलात्कारी पो रहेछन्, विद्यालयदेखि मठमा विराजमान गुरुहरु ।
कतिलाई यस्तो आरोपले आक्रोशित पनि बनाउन सक्ला । मनमा स्वच्छ भएका गुरुहरू गुनासो पनि गर्न सक्लान् । तर, यो सत्य हो । एउटा पापलाई ढाकछोप गर्दा सबै पापी झैँ बनेका छन् ।
विडम्बना ! तर, शिक्षकबाट यौन हिंसामा परेका विद्यार्थीहरूले आफैँ सडक तताउनु पर्छ । प्रहरी गुहार्नु पर्छ । उनीहरूको आवाजलाई दबाउन अनेकौँ प्रपञ्च रचिन्छ । अनि ती यौन हिंसामा परेका विद्यार्थीले पाउने न्याय भनेको यति मात्रै हो, त्यो यौन पिपासु शिक्षकको सम्बन्धित विद्यालय वा कलेजबाट बहिर्गमन । कसरी यति सामान्य बनाइन्छन्, यस्ता गम्भीर विषयहरू ? किन यस्तो दण्डहीनता ?
केही साता यता ।
कलेजमा नम्बर बढाइदिने प्रलोभन दिएर आफूसँग सुत्न निर्देशन दिने शिक्षकको बचाउमा प्रिन्सिपल नै अगाडि आएको समाचार बाहिर आएका छन् ।
छात्रालाई उपचार गर्न चिकित्सक कहाँ लैजाने नाममा होटलमा लगेर बलात्कार गरिएको घटना पनि बाहिर आएको छ ।
ससाना नानीहरूको तिघ्रा र वक्ष सुमसुम्याएको घटना पनि बाहिर आएको छ ।
अरू काण्डहरू पनि बाहिरिँदै होलान् । किनकि अब विद्यार्थी नै आफ्नो रक्षाका लागि सडकमा आउन थालेका छन् । न उनीहरुले कुनै अधिकारकर्मीलाई गुहारेका छन्, नत कुनै मिडियालाई । आफ्नो लडाइँ आफैँ लड्दै छन् ।
दिनहुँ जसो विद्यार्थीहरू यौन दुर्व्यवहारको सिकार भएको घटना बाहिर आएको छ । सबै घटनालाई गुपचुप राख्न पुरै विद्यालय प्रशासन खटिएका छन् । किनकि उनीहरूलाई थाहा छ, यस्ता एउटा घटना सार्वजनिक हुने बित्तिकै विद्यार्थीको संख्या घट्न थाल्छ । उनीहरूको व्यापार घाटामा जान्छ ।
त्यसैले यस्ता घटनामा उनीहरूको पहिलो प्रयास नै डर, धम्की, प्रलोभन हुने गर्छ । न उनीहरू विद्यार्थीको मनस्थिति बुझ्न चाहन्छन्, नत अभिभावक कै । बस्, चाहिएको छ त, व्यापारमा बढोत्तरी मात्रै ।
शिक्षाको मन्दिर भित्र यौन दुराचारीहरूको संख्या बढ्दो रहेछ । विदेशीहरूले एउटा सजिलो शब्द तयार पारेका छन्, 'ब्याडटच' । ‘ब्याडटच’ को परिभाषा बुझ्न अझै केही वर्ष कुर्नु पर्ने उमेरका बालिकाको संवेदनशील अंग सहलाउने शिक्षक कुनै पनि अवस्थामा यस्ता शब्दको चलाखीले छुट्न हुँदैन । त्यस्ता यौन पिपासुलाई संरक्षण दिने विद्यालय प्रशासन समेतलाई बाल यौन हिंसाको आरोपमा मुद्दा चलाउने आँट समेत राज्यले गरेको देखिएन । अभिनेत्रीमाथि ‘ब्याडटच’ हुँदा एउटा पुरुष प्रहरीको खोरमा पुग्छ तर, विद्यार्थी ‘ब्याडटच’ मा पर्दा अपराधी शिक्षक माफी मागेर उम्किन्छन् । दण्डहीनताको योभन्दा ठुलो नमूना के हुन सक्ला ?
लाग्छ, हाम्रो राज्य यति असंवेदनशील बनिसक्यो कि, कसैले बलात्कार गरेर माफी माग्यो र बलात्कारमा पर्नेले माफी दियो भने सजिलै उन्मुक्ति पाइन्छ । बलात्कारीले पोते सिन्दूर लगाइदिए त सुनमा सुगन्ध नै थपिन्छ । किनकि अहिले एउटा सेलिब्रेटिको बलात्कार काण्डको अन्त्य त्यसरी नै हुने हल्ला व्यापक छ । न्यायको यस्तो सिद्धान्त नेपाल बाहेक शायद अन्यत्र कतै भेटिएला र?
हुनत हामी त्यही समाजमा बाँचिरहेका छौँ । जहाँ नाबालिगलाई बलात्कार गर्ने सेलिब्रेटीको पक्षमा सडक तात्छ । गुहार माग्ने बालिकालाई गलत बनाइन्छ । अनि यही देशमा अर्की सेलिब्रेटीले नाबालिग हुँदा बलात्कारमा परेको सुनाउँदा सदन समेत गर्माउँछ । एउटै यथार्थमा दुई फरक मत जाहेर गर्छौ, हामी सचेत नागरिक । कति असंवेदनशील हामी । मानिसको हैसियत अनुसार विचार निर्माण गर्न सक्ने हामी । कठै बिचरा !
विडम्बना ! तर, शिक्षकबाट यौन हिंसामा परेका विद्यार्थीहरूले आफैँ सडक तताउनु पर्छ । प्रहरी गुहार्नु पर्छ । उनीहरूको आवाजलाई दबाउन अनेकौँ प्रपञ्च रचिन्छ । अनि ती यौन हिंसामा परेका विद्यार्थीले पाउने न्याय भनेको यति मात्रै हो, त्यो यौन पिपासु शिक्षकको सम्बन्धित विद्यालय वा कलेजबाट बहिर्गमन । कसरी यति सामान्य बनाइन्छन्, यस्ता गम्भीर विषयहरू ? किन यस्तो दण्डहीनता ?
न समाजले उसलाई बहिष्कार गर्छ, नत उसलाई राज्यले नै सजायको हकदार मान्छ । अनि एउटा कलेजबाट निकालिएको त्यो शिक्षक फेरि अर्को शिक्षाको मन्दिरलाई अपवित्र पार्न निस्कन्छ ।
विडम्बना ! कानुनले १८ वर्षभन्दा कम उमेरमा सहमतिमा भएको यौन सम्पर्कलाई समेत बलात्कार मानेको छ । किशोरीमाथि हुने यौन हिंसाका विषयमा बोल्ने सांसदहरू नै विवाहको उमेर घटाउन माग गर्दै छन् । महिलाको हकहितको सुरक्षाको आन्दोलनमा अग्र मोर्चामा देखिनु पर्ने महिला सांसदहरू नै कम उमेरमा हुने बलात्कारलाई वैधानिकता दिन चाहन्छन् । लाग्छ, महिला सांसदहरू नै कम उमेरमा हुने बलात्कारलाई समझदारीको नाम दिन सजिलो होस् भन्ने चाहन्छन् ।
जब कानुन निर्माण गर्ने तह मै यस्ता कुराको वकालत हुन्छ भने सजिलै लुटिने छ चेलीहरूको इज्जत । कहिले शिक्षकबाट कहिले प्रेमीबाट त कहिले आफ्नै पिताबाट ।