देशको राजधानी रहेको महानगरपालिकाको प्रमुखमा एउटा साधारण ठिटोको चुनौतीका अगाडि घुँडा टेक्नु पर्दा ‘मै हुँ’ भन्ने राजनीतिक दल र तिनका नेताहरूले अब कहाँ मुख लुकाउलान् ?
धरानमा हर्क सम्पाङ अनि धनगढीमा गोपाल हमालको जितलाई पनि पार्टीभित्र जमिन्दार बनेका नेताहरूले सजिलै पचाउन कहाँ पो सक्लान् र ?
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन नेपालका ठुला राजनीतिक दलहरूलाई अनपेक्षित रह्यो नै । तर, जनताले चलाएको लौरोको मारलाई बिर्सिने हो भने भविष्य झन् पीडादायी बन्न सक्छ ।
भारतमा आम आदमी पार्टी (आप) को उदय हुँदै गर्दा भारतीय राष्ट्रिय काँग्रेस र बिजेपीले ठुलो महत्त्व दिएका थिएनन् । हुनत बिजेपी कै उदयलाई भारतीय राष्ट्रिय काँग्रेसमा एकलौटी गर्दै आइरहेका नेताहरूले त्यति महत्त्व दिएका थिएनन् । तर, समयलाई कसैले रोकेर रोक्न सक्दैन ।
आज भारतमा बिजेपी दबंग शैलीमा सत्तामा काबिज छ भने आप भारतीय राष्ट्रिय काँग्रेसभन्दा ठुलो दल बन्ने तयारी गर्दै छ । काँग्रेसका प्रभावशाली नेता पी. चिदम्बरमले त आगामी निर्वाचनमा काँग्रेसले आपको सहयोगी बनेर लड्नु पर्ने बताएसँगै आधुनिक भारत बनाएको घमन्ड गर्ने भारतीय राष्ट्रिय काँग्रेस आज कहाँ झरिसकेको रहेछ भन्ने यकिन गर्न कठिन हुँदैन ।
यो कुरा समय मै हाम्रा नेताहरू पनि बुझ्दा राम्रै हुन्छ कि ?
हुनत नेपालमा पनि केही वैकल्पिक शक्तिको उदय हुने छाँट देखिएको थियो । तर, सत्तामा काबिज हुनु अगावै व्यक्तिगत टकरावका कारण उनीहरू जहाँबाट उदाउन खोज्दै थिए, त्यहीँबाटै अस्ताउने क्रममा छन् ।
देश चलाउने राजनीतिक दलभित्र हालीमुहाली गर्ने नेताहरूले उम्मेदवार छनोटमा गर्ने लापरबाही नै बालेन, हर्क र गोपाल जन्माउने माध्यम बन्यो । कार्यकर्ता र मतदातालाई रैती ठान्ने सोचबाट ग्रस्त बन्दा जनताले त्यसको प्रतिकार गर्ने मौका पाए । सच्चिन चेतावनी दिए । यो आयामले मुखमा आएको संघीय र प्रदेश निर्वाचनमा समेत निरन्तरता पाउने हो भने सांसदभित्र पनि केही स्वतन्त्र उम्मेदवार राजनीतिक दललाई सचेत बनाउन लौरो लिएर बसेको देख्न नपाइएला भन्न सकिँदैन ।
नेपालमा बहुदलीय व्यवस्थाको विकल्प छैन र हुन पनि सक्दैन । तर, यो स्थानीय तह निर्वाचनमा मतदाताले स्वतन्त्र उम्मेदवारहरूप्रति देखाएको रुचिले उनीहरू स्थापित राजनीतिक दलको कार्यशैलीबाट आजित भइसके भनेर भनी रहनु नपर्ला ।
जनताको मन जित्ने कठिन मार्गमा व्यक्तिगत कुण्ठा हाबी हुँदा नेपालमा तत्काल वैकल्पिक राजनीतिक शक्तिको उदय हुने सम्भावना छैन । त्यसैले लौरोमा मत दिएर जनताले स्थापित राजनीतिक दलहरूलाई समयमा नै सच्चिन आग्रह भने गरेका छन् । बालेन, हर्क, गोपालसँगै अन्य केही स्वतन्त्र उम्मेदवारलाई जिताएर ।
देश चलाउने राजनीतिक दलभित्र हालीमुहाली गर्ने नेताहरूले उम्मेदवार छनोटमा गर्ने लापरबाही नै बालेन, हर्क र गोपाल जन्माउने माध्यम बन्यो । कार्यकर्ता र मतदातालाई रैती ठान्ने सोचबाट ग्रस्त बन्दा जनताले त्यसको प्रतिकार गर्ने मौका पाए । सच्चिन चेतावनी दिए । यो आयामले मुखमा आएको संघीय र प्रदेश निर्वाचनमा समेत निरन्तरता पाउने हो भने सांसदभित्र पनि केही स्वतन्त्र उम्मेदवार राजनीतिक दललाई सचेत बनाउन लौरो लिएर बसेको देख्न नपाइएला भन्न सकिँदैन ।
वास्तवमा भन्ने हो भने जनता अहिले दोधारमा छन् । स्वतन्त्र उम्मेदवारको जितमा खुसी मनाउने कि बहुदलीय व्यवस्थामा दलहरूको उदासीनता प्रति आँसु खसाल्ने ? दल र नेताहरूको रवैयाबाट निराश बन्दै गएका जनताहरू वास्तवमै दोधारमा छन् । कठिन दिनको सामना गरिरहेका छन् । तर, यो निर्वाचनको परिणामपछि एउटा कुरा भने पक्का भएको छ । कहिल्यै देशको समृद्धि देख्न नपाएका जनताहरू कुनै पनि दल वा नेताका दास हुँदैनन् । नेताको लहडलाई जनताले कहिल्यै स्विकार्दैनन् । भलै उनीहरूका कार्यकर्ताले स्विकारुन् ।
बालेनको जितले अर्को एउटा सन्देश पनि दिएको छ । नेपाली जनता जातिगत राजनीतिको घेराभन्दा बाहिर रहन रुचाउँछन् । सधैँ मधेसले सामन्ती र शोषकको नाममा औँला ठड्याउने काठमाडौँबासीले मधेसीमूलका व्यक्तिलाई राजधानी सहरको मेयरमा जिताएका छन् । मधेसले बालेनको जितबाट काठमाडौँले देशभर गुन्जाउन खोजेको सन्देशको मर्म बुझ्नै पर्छ । अब यो देश जातीय संकिर्णताभन्दा माथि उठ्नै पर्छ ।
उता हर्क सम्पाङको जितले महँगो बन्दै गएको चुनावी प्रचारलाई दह्रो झापड हानेको छ । चुनाव जित्न धन होइन जनताप्रति झुकाव राख्ने मन नै काफी हुन्छ भन्ने सन्देश दिएको छ । पूर्वमा सम्पाङ अनि पश्चिममा हमालको जितले जनतामा विकास र समृद्धिको भोक मरेको छैन भन्ने देखिएको छ । अझै पनि देश बन्छ भन्ने विश्वासबाट पछि हटेका छैनन् भन्ने देखिएको छ । जनता हारेका रहेनछन् । देशभन्दा दल माथि हुन्छ भन्ने दासत्वको मनोभावबाट बाहिरै रहेछन् भन्ने पनि प्रस्ट भएको छ । कसैको औँलाको इशारामा नाच्न तयार छैनन् भन्ने पनि कुरा ब्यालेटबाट सचेत गराएका छन् ।
हुनत जितेका यी पात्रहरूले अहिले जनताको मत मात्रै जितेका हुन् । जनताको मन जित्ने गरेर काम गर्न नसकेको खण्डमा भोलि उनीहरूको राजनीतिक जीवनको अस्त पनि पीडादायी नै हुनेछ ।
चेतना भया !