नेपालमा जनसंख्याको करिब ६० प्रतिशत किसान छन् भनिन्छ । तर, ती किसानको ठ्याक्कै देखिने गरेर जीवन परिवर्तन भएको छैन् । जति धेरै सरकारको लगानी भयो, त्यति नै आयात बढेको देखिएको छ । सरकारले कृषि क्षेत्रलाई आकर्षण गर्न वित्तिय संस्थालाई पनि परिचालन गर्ने भनेको छ । बैंक तथा वित्तीय संस्थाले हामी लगानी गर्न तयार छौँ भनेर अभिव्यक्ति दिएका छन् । तर, तिनले लगानी भने गरेनन् । किसानले पैसा नपाएको गुनासो गरिरहेका छन् । बैंकका कर्मचारीदेखि नेतासम्मले किसानलाई पैसा दिइरहेका छौँ भनेका छन् । तर, त्यो पैसा कहाँ हरायो भन्ने कसैलाई थाहा नभएको अवस्था छ । हामीले यही अवस्थालाई हटाउन एउटा सानो काम गर्न खोजेका हौँ । बैंकलाई तपाईंहरूले किन किसानलाई पैसा नदिनुभएको, दिनुभएको भए कहाँ दिनुभयो भनेर प्रश्न ग¥यौँ । किसानसँग के गर्ने ? केका लागि भन्ने स्पष्ट योजना हुँदैन । अर्को, उनीहरूले लगेको पैसा कहाँ खर्च गर्छन् ? लगेको पैसा तिर्छन् भन्ने पनि ढुक्क हुने अवस्था नभएको बुझियो ।
सोच्दा पनि नियमित आम्दानी नहुने मानिसले तिर्न सक्ने अवस्था रहँदैन । बैंकबाट लगेको ऋण केमा लगानी गरेको भन्ने पनि थाहा हुँदैन किनकि किसानको आवश्यकता टिभी पनि हुन्छ । बच्चाको स्कुलको शुल्क पनि हुन्छ । औषधोपचारमा पनि आवश्यकता हुन्छ । पैसा जे आयो त्यसमै खर्च हुनुपर्ने हो । त्यसैको माध्यमबाट आम्दानी हुनुपर्ने हो । तर, अर्को ठाउँमा खर्च गरियो भने आम्दानी हुँदैन । यसकारण धेरै किसानले बैंकको पैसा तिर्न सक्ने अवस्था पनि रहेन ।
किसान बैंकबाट ऋण पाउन झन्झटिलो भएको बताउँछन् । भन्छन्, ‘बैंकमा जानु÷आउनु, कागजात पुग्दैन भनिदिन्छन् । हाम्रा लुगा राम्रा हुँदैनन् । हामीलाई बोल्न आउँदैन ।’ किसानले बैंकिङ प्रक्रियामा दुःख भएको गुनासो गरे ।
त्यसपछि बैंकलाई किसानको प्रक्रिया पूरा हामी गरिदिन्छौँ भन्यौँ । पालिकाहरू र संघ–संस्थासँग मिलेर किसानलाई वित्तीय साक्षरता र वित्तिय पहुँच बढाउँछौँ भनेर बैंकलाई विश्वस्त बनायौँ । हामीले बैंकलाई चाहिएको कागजात, किसानको आम्दानीको स्रोत, उनीहरूले तिर्न सक्ने रकमको अन्दाज गरिदिने व्यवस्था गरियो । किसानलाई पनि नगदै नलिईकन उसलाई चाहिने सबै सामान किन्न मिल्ने सिस्टम बनाइदिन्छौँ भनेर हामीले बैंकलाई भन्यौँ । यस कुरामा केही बैंक सहमत भए । त्यसपछि हामीले किसान कार्ड लागू गर्यौँ ।
किसान सबैलाई हामीले एक–एक गरेर व्यक्तिगत रूपमा भेट्न सक्दैनौँ । हामीले विभिन्न पालिकासँग मिलेर काम गर्नलाई उनीहरूसँग कुरा गर्यौँ । पालिकाको पहलमा भेला गरिएका किसानको फर्म भरिदिन्छौँ । सरल कागजातका आधारमा उसलाई बैंकमा जोड्छौँ ।
किसानलाई दिइने कृषि कार्डमा नगदमा कारोबार हुन्न । तर, त्यस कार्डबाट आफूले खेती, पशुपालनसँग सम्बन्धित किनेका सामानको पैसा तिर्न पाइन्छ । कृषिबाहेक अन्य वस्तु खरिद गरेर भुक्तानी गर्न पाइँदैन । कृषि सामग्री मात्रै खरिद गर्ने यसमा व्यवस्था गरिएको छ । तर, किसानले खरिद गरेको सामानको नगद भुक्तानी गर्न पाइँदैन । कार्डबाटै भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो कार्डलाई कृषि कार्ड भनेका थियौँ । पछि किसान क्रेडिट कार्ड भन्न थालियो । सरकारले पनि ल्याएको र बाहिर पनि भनिने भएकाले यसलाई क्रेडिट कार्ड भन्न थालिएको हो । अर्को कुरा, क्रेडिट राखिदिएपछि तिनुपर्छ भन्ने हुँदो रहेछ । नत्र हाम्रोमा कृषिमा गएको पैसा तिर्नुपर्दैन भन्ने मान्यता रहेछ ।
किसान क्रेडिट कार्डले बैंकलाई र किसान दुवैलाई सहज बनाएको छ । किसान केक्रिड कार्ड मुख्यगरी एउटा भुक्तानी माध्यम हो । साना किसानसम्म वित्तीय पहुँच पु¥याउने एउटा योजना हो ।
बैंकहरूले धितो नराखी किसानलाई ऋण प्रदान गर्न नमान्न सक्छन् । तर, हामीले विभिन्न पालिकाहरूसँग मिलेर कार्डमार्फत २ लाख रुपैयाँसम्म बिनाधितो ऋण उपलब्ध गराउने बनाएका छौँ । २ लाख रुपैयाँभन्दा माथिको ऋणमा भने देखिने संरचना भएको ठाउँमा बैंक र किसानको समझदारीमा धितो राखेर प्रदान गर्ने व्यवस्था छ । पालिकाहरूले यसको आवश्यकता बुझेर हामीलाई खबर गरेपछि हामी त्यहाँ पुगेर यो काम गर्ने गरेका छौँ ।
पालिकाहरूसँगको सहकार्यमा काम गरिरहेको भए पनि किसानले सीधै पनि सम्पर्क गर्न सक्छन् । नजिकको सहकारीबाट पनि प्रक्रिया अगाडि बढाउन सकिन्छ । त्यसरी गर्दा किसान आफैंले फर्म भर्न पनि हुन्छ । एग्रोभेटमार्फत भर्ने पनि हुन्छ । बैंकहरूको माध्यमबाट पनि भर्न सकिन्छ । मेगा बैंकको जुनसुकै शाखामा गएर पनि यो सेवा लिन सकिन्छ । हामीसँग सहकार्य भएका अन्य बैंकहरूमा पनि गर्नुहुन्छ । यसका लागि किसानका फर्मको कागजात, प्यान नम्बर, पारिवारिक विवरणलगायत कागजात आवश्यक हुन्छ । कार्ड पाउन केही समय भने लाग्छ । किनकि, यसमा भौगोलिक अवस्थाले धेरै असहज छ । सबै प्रक्रिया पूरा गर्दा ३÷४ महिनामा किसानले कार्ड पाउन सक्छन् ।
किसान कार्ड लिएपछि उहाँहरूले कार्डमार्फत कृषि सामग्री खरिद गर्न सक्छन् । त्यसका लागि देशभर ६ हजार बढी हाम्रा बिक्रेता छन् । तिनले किसानलाई आवश्यक वस्तु कार्डमार्फत उपलब्ध गराउछन् । बिक्रेता नभएको ठाउँमा हामी नजिकैका सहकारीलाई पनि बिक्रेता बनाएर सामग्री उपलब्ध गराउँर्छौँ ।
कार्डको ऋणको दुई–तीन प्रक्रिया हुन्छ । जस्तो, गाई, भैँसी किन्ने किसानका लागि एकमुष्ट पैसा चाहिएको हुन्छ । त्यस्तो अवस्थामा किस्ता तिर्नुपर्ने हुन्छ । यसमा कहिले आधा महिनाको वा कहिले महिनाको तिर्ने हुन्छ । साधारणतया यो ओभर ड्राफ्ट लोनजस्तै हुन्छ । उसले तीन महिनामा एक पटक किस्ता तिनुपर्छ । यसमा एक वर्षभित्रमा किसानले लिएको पैसा सबै तिर्नुपर्छ र फेरि नवीकरण गर्नुपर्छ ।
किसानले एकै पटक गरेको खर्चको २० प्रतिशत तिरे पनि हुन्छ । उसले के गर्न खर्च गरेको हो, त्यहीअनुसार तिर्न सक्छ । लगानी तरकारी बालीका लागि भए ६ महिनामा तिर्न सक्छ । कार्डभित्र पनि सबै कुरा राखिएको हुँदा त्यसले सजिलो हुन्छ ।
किसान क्रेडिट कार्डले पालिकाहरूलाई फाइदा पुग्छ । किनकि, सबै किसानसँग कार्ड भयो भने तिनले के किने ? उनीहरूको के आवश्यकता रहेछ भन्ने थाहा हुन्छ । उत्पादन कति भएको रहेछ भन्ने थाहा हुन्छ । किसान कार्डबाट किसानले कति खर्च गरेको छ, उसको उत्पादनमा अनुदान दिन पनि सहज हुन्छ । उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसानलाई अनुदान पुग्छ । (न्हेम्हाफूकी आर एन्ड डी इनोभेटिभ सोलुसनकी अध्यक्ष तथा कार्यकारी अधिकृत हुन् । )