close

केपी ओलीले फेरि दौरा सुरुवाल लगाउनुहोला भन्ने लागेको थिएन 

केपी ओलीले फेरि दौरा सुरुवाल लगाउनुहोला भन्ने लागेको थिएन 

Trulli
ADVERTISEMENT

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ । दाम्पत्य जीवनको यस अवधिमा निजी मामिलाहरूमा उहाँसँग मेरो त्यति धेरै विमर्श हुन पाएको छैन । मसँग त्यति प्रवल निजी इच्छा नभएर पनि हुन सक्छ वा उहाँले मुलुकका लागि लिनुभएको बाटो यसका लागि प्रतिकूल भएर पनि हुनसक्छ, हामीले आफू, परिवार, सम्पत्ति आदिका विषयलाई कहिल्यै छलफलको विषय बनाएका छैनौंँ ।

 

यति लामो समय सँगै बसेर पनि मैले उहाँसँग आफूले जान्न चाहेका कतिपय कुराहरू सोध्ने गरेकी छैन । कारणहरू धेरै छन्, मूल कारण त समय नै हो । हरेकजसो रात उहाँ १२ बजे अगाडि कोठामा आउनुहुन्न । मध्यरातसम्म भेटघाटमै व्यस्त रहनुहुन्छ । त्यति अबेर कोठामा आउने मान्छेको शारीरिक र मानसिक थकान कति हुन्छ होला भन्ने सोच्छु र केही कुरा गर्दिन । 


एकदिनको कुरा हो, त्यो २०७६ साल कात्तिक २० गते राति १ बजेको थियो । मेरो मनमा एउटा प्रश्न उठेको थियो, यो व्यस्त जीवन र उहिलेको जेल जीवनमा के भिन्नता छ ? मानिस आधारभूत सुविधाहरू पूर्ण भएर पनि आखिर आफ्ना लागि बाँचेको छैन भने उसले के कुरामा मन अड्याइरहेको हुन्छ ? बेलाबेला मेरा मनमा उठ्ने यस्ता प्रश्नका जवाफ उहाँसँग संवाद नगरी हमेसा आफ्नै मनोवादबाट पूर्ति गर्थें म । त्यसमा प्रश्न पनि मेरै हुन्थे र जवाफ पनि मै दिन्थेँ ।


मैले के महसुस गरिरहेकी थिएँ भने पञ्चायती शासकले बन्दी बनाएर कठोर यातना दिएको जीवन र आज प्रधानमन्त्री जस्तो देशको सर्वाेच्च कार्यकारी पदमा रहदा काम गर्न अवरोध गरी चारैतिरबाट घेरिएको जीवनमा के भिन्नता छ र ? त्यसबेला लिएको र अहिले लिएको मुलुक बदल्ने उद्देश्यमा के भिन्नता छ र ?

 

त्यसबेला जुन उद्देश्यका लागि जेलमा कठोर यातना सहेर संघर्ष गर्नु परेको थियो, आज त्यही उद्देश्य पूरा गर्न अगाडि सारिएका काममा अवरोध सहेर संघर्ष गर्नु परेको छ । मनमा थुनेर राखेका प्रश्नहरूको बाँध कतिबेला फुट्ला झैँ भएको थियो । मैले उहाँको जेलयात्राका बारेमा सोधेँ । उहाँले व्याख्या नगरी जेल यात्राको विवरण मात्र सुनाउनुभयो । 


२०३० साल असोज २३ गते, रौतहटको एउटा गाँउबाट राति गिरप्तार गरी, हिंडाएर उहाँलाई गौर कारागार लगियो । २६ असोजसम्म त्यहाँ राखेर तीन दिनपछि गौर थाना र गुल्ममा लगेर क्रूरतम यातना दिइयो । 


जेल सार्ने क्रममा उहाँले सुनाउनुभएका यसपछिका घटना विवरणले भने मलाई नराम्री ऐठन गर्‍यो । उहाँले सुनाउनुभएको घटना विवरण यस्तो थियो-


‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो । प्रहरीको भ्यानमा मलाई राखिएको थियो । तर, वीरगञ्ज नपुर्‍याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए । एकदम तयारीसाथ गाडीमा खाल्डो खन्ने औजारसँगै मलाई राखिएको थियो ।

 

प्रहरी जवानहरूका अनुहारको भावभंगीबाट सजिलै बुझ्न सकिन्थ्यो, केहीबेरपछि नै उनीहरूले मलाई जंगलमा लगेर मार्नेछन् र खाडल खनेर पुर्नेछन् । जेल सार्न खोज्दा बीचैमा भागेर गोली चलाउँदा मारिएको एउटा कृत्रिम घटनाको प्लट बनाएर हिंड्दा मानिसको अनुहारमा जुन प्रकारको उद्वेलन र छटपटी हुन्थ्यो, उनीहरूका अनुहारमा त्यो प्रस्ट देखिन्थ्यो । जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोटीको नेतृत्व सई मोहनप्रसाद अधिकारीले गर्नुभएको थियो ।

 

उहाँका मनमा एक्कासी किन यस्तो करुणा उत्पन्न भयो कुन्नी, बीचमा पुगेपछि उहाँले गाडी जंगलबाट मोडेर वीरगञ्जतिर लैजान आदेश दिनुभयो । ‘गाडी दायाँ लैजा, यो बाँचोस्’ सई मोहनप्रसाद अधिकारीले एक्कासी दिएको निर्देशनले मार्न ठिक पारिएको म बाँचेँ । जब आफूलाई केही बेरपछि नै मारिनेछ भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ । म त त्यसैबेला मारिसकेको थिएँ । बाँचेँ र तिमीसँग भेट भयो ।’


उहाँले त्यस मध्यरातमा सुनाउनुभएका यी कुराले मेरो जीउमा काँडा उम्रेजस्तो भयो । तन्मयपूर्वक त्यस दिनको घटना विवरण सुन्दा मेरो मानसिकता नै केही बिथोलियो । त्यसपछि पनि उहाँले जेल सारिएका विवरण सुनाउनुभयो, तर मेरो मन भने जंगलमा मार्न खोजिएको त्यही घटनामा अड्किएको थियो । 


मंसीर तीन गते राति उहाँलाई वीरगञ्ज थाना पुर्‍याइएछ । चार र पाँच गते त्यहीँ राखेर उहाँलाई ६ गते वीरगञ्जकै सानो जेल भनिने महिला कारागारमा पुर्‍याइएको रहेछ । त्यहाँ त्यसबेला महिला नभएकाले मंसीर ६ र ७ गते त्यहीँ राखियो । मंसीर ८ गते मध्यरातमा अर्काे मनोवैज्ञानिक आतङ्क सहित उहाँलाई त्यस जेलबाट निकालियो, काठमाडौँ सार्न भनेर । नेपाली कांग्रेसका चितवन सभापति भीमबहादुर श्रेष्ठलाई समेत सँगै हिंडाइएको थियो ।

 

मंसीर ८ गते काठमाडौंको भद्रगोल जेलमा ल्याएर तीन दिनसम्म राखियो । मंसीर ११ गते सेन्ट्रल जेल ल्याएर २०३२ वैशाख १६ गतेसम्म गोलघरमा राखियो । त्यहाँबाट फेरि २०३२ साल साउन २२ गते नख्खु जेलमा सारियो ।
१६ महिना नख्खु जेलको बसाइपछि २०३३ मंसीर १४ गते फेरि सेन्ट्रल जेल लगेर गोलघरमा हालियो । दोस्रो पटक करिव तीन वर्ष गोलघरमा राखेपछि २०३६ साल जेठमा गोलघरबाट निकालियो ।

 

सेन्ट्रल जेलबाट २०३७ चैत १५ मा पुनः नख्खु जेल नै लगियो । करिव दुई वर्षको नख्खु जेल बसाइपछि २०३९ माघ ३ गते उहाँलाई पोखरा जेल सारियो । पोखराबाट २०४२ कात्तिकमा स्याङ्जा जेलमा पुर्‍याइयो । स्याङ्जा जेलबाट २०४३ मंसीर ८ गते उहाँलाई काठमाडौंको हनुमानढोका कारागारमा ल्याइयो र माघ ८ गतेसम्म त्यहीँ राखियो । हनुमानढोका कारागारबाट फेरि तेस्रो पटक भद्रगोल जेल पुर्‍याएर २०४४ असार ११ गते रिहा गरियो । 
यो थियो, उहाँले मलाई त्यस मध्यरातमा आधा घन्टा लगाएर सुनाउनु भएको जेलयात्राको विवरण । 


यसरी मध्यरातमा भए पनि मैले उहाँको जेल जीवन सम्बन्धी अनुभूतिहरू सुन्ने अवसर पाएँ । कयौंँ दिनदेखि सोध्न नपाएका प्रश्नका बाढी केही समयको लागि शान्त भयो । 


निरङ्कुश व्यवस्था विरुद्धको संघर्षका क्रममा यस्तो कहालीलाग्दो यातनामय जेल सराइ र त्यहाँभित्रको संघर्षले उहाँको शारीरिक र मानसिक अवस्थामा कस्ता असर पारे होलान्? शारीरिक असर त हामी देख्न सक्छौंँ र त्यो भोगिरहेका पनि छौँ । मानसिक असरलाई भने व्यक्तिले कसरी ग्रहण गर्छ? त्यस अनुसारको नतिजा निस्कँदो रहेछ भन्ने उहाँको मनोबल हेरेर महसुस गर्छु । मार्न ठिक्क पारिएको, कयौंँ पटक मृत्युको मुखमा पुगेर फर्केको मानिसमा जीजिविषा यति बलियो हुँदो रहेछ भन्ने मैले केपीजीसँग अन्तरङ्ग संगतका क्रममा थाहा पाएकी छु । यसलाई आम नेपालीले बुझ्नुभएको छ भन्ने ठान्दछु । 


मेरो बुझाइमा उक्त परिस्थितिले उहाँको शारीरिक अवस्थामा केही असर परे पनि मानसिक स्थितिमा एकरत्ति असर परेको छैन । बरु, उहाँलाई देश र जनताप्रतिको उत्तरदायित्व अझ बढी बोध गराएको छ । उहाँले मसँग बेलाबेला भन्नुभएको छ, ‘१४ वर्षको जेल बसाइमा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला ।’ गोलघरकै बसाइमा उहाँलाई अल्सर, टीबी, पायल्स जस्ता अनेक रोगहरू लाग्यो । उपयुक्त खाना छैन, उपचार छैन । थुप्रै साथीहरूले उहाँ बाँच्नुहुन्न भन्ने ठानेर बेलाबेला हेर्न जाने गरेका कुराहरू सार्वजनिक भइसकेका छन् । 


उहाँले जेल जीवनमा भोगेका दुई जना डाक्टरहरूको विपरीत अलग अलग चरित्रको बेलाबेला प्रसङ्ग ल्याउनुहुन्छ । अति खराब, दुष्ट र मानवीय भावना पटक्कै नभएका डा. आनन्दबहादुर श्रेष्ठ र डाक्टरी पेसाको ख्याल गर्ने र मानवीय भावना भएका डा. पुस्कर भारती थिए रे । डा. भारतीले डाक्टरको धर्म उपचार गर्नु हो भनेर केपीजीलाई केही औषधिका ‘प्रेस्किप्सन’ लेखिदिँदा डा. आनन्द बहादुर श्रेष्ठले त्यसलाई च्यातिदिएको र डा. भारतीलाई जनकपुरमा सरुवा गरिदिएको घटना उहाँले मलाई सुनाउनुभएको थियो ।

 

यस्ता डाक्टर, जसले आफ्नो पेशागत धर्म छोडेर सत्ताको लालचमा मानवमाथि अत्याचार गर्दारहेछन् । हुनत, त्यसबेलाको पञ्चायती सत्ताको लालचमा परेका डाक्टरको के कुरा गर्नु, आज पनि केपीजीको स्वास्थ्यलाई लिएर राजनीति गरिरहेका देखिन्छन् । तर, उहाँको स्वास्थ्य निरङ्कुश व्यवस्था विरुद्ध संघर्षपूर्ण राजनीतिक यात्राकै कारण कमजोर बनेको हो । यस यथार्थलाई बुझेर उहाँको स्वास्थ्यमाथि राजनीति नगरिदिए हुन्थ्यो जस्तो लागिरहन्छ । 


एयर एम्बुलेन्सबाट दिल्ली लैजाँदा


हुनत, केपीजी न सभासद् न पार्टीको महत्वपूर्ण पदमा रहेको नेता । तर महत्वपूर्ण पाइला चाल्ने बेला उहाँको सक्रियतामा कहिल्यै ब्रेक लागेन । २०६९ मा पनि उहाँको सक्रियता त्यस्तै थियो । घर हुँदा बिहान-बेलुका अबेरसम्म सयौँसँग भेटघाट, छलफलमा व्यस्त हुने र जिल्ला दौडाइ पनि उत्तिकै हुने । यो सबै परिस्थिति देख्दा मैले बारम्बार चेतावनी दिने गरेकी थिएँ । 


केपी ओलीको किड्नी प्रत्यारोपण विश्वका डाक्टरहरूको लागि एउटा ठूलो पाठ भनौँ या चुनौती भनौँ । कारण नियमित औषधि खाने बाहेक अन्य कुनै पनि नियम उहाँले पालना गर्नु भएन । यसरी अत्यन्तै सक्रिय जीवन चलिरहेकै अवस्थामा २०६९ असोजतिर (सन् २०१२ अक्टोबर) उहाँ न्यूयोर्क हुँदै मेक्सीको जाने कार्यक्रम बन्यो । नेपालमै हुँदा उहाँलाई थकित जस्तो देखिएको थियो । त्यसमाथि विदेश उड्नकै लागि उहाँ जिल्लाको एउटा कार्यक्रमबाट फर्किनु भएको जस्तो लाग्छ । 


काठमाडौँ आएर अवुधाबी हुँदै न्यूयोर्कको लागि उहाँ उड्नुभयो । तर मौसमको खराबीका कारण गर्दा उहाँको जहाज अवुधाबीमा अवतरण हुन नसकेर सायद दुबई गयो । जसले गर्दा न्यूयोर्कको जहाज छुट्न गयो । धेरै समय अर्थात् लामो समयसम्म उहाँ एयरपोर्टमै बस्न बाध्य हुनुभयो । अन्त्यमा धेरै ठाउँमा अनुरोध गरेर लण्डन हुँदै न्यूयोर्क पुग्नुभयो ।

 

यस पटक म साथमा नगएर राजेशलाई पठाएकी थिएँ । कारण म अमेरिका गइसकेको र दोहोर्‍याएर जान मन पनि नभएकोले राजेशलाई पठाएकी थिएँ । यो यात्रामा राजेश गएको हुनाले उसले अनेकौँ झन्झट ब्यहोरेर पनि यात्राको व्यवस्थापन गर्न सफल भयो । सायद म गएकी भए धेरै गाह्रो हुन्थ्यो होला । 


यसरी न्यूयोर्क अवतरण गर्नासाथ संयुक्त राष्ट्र संघका महासचिवसँगको भेट र मिटिङ्मा सहभागी बन्नुभयो । यसबेला उहाँ आइक्यापको सदस्यको नाताले उक्त मिटिङ्मा सहभागी हुनुपर्ने थियो । त्यसको भोलिपल्ट नै  पाँच घन्टाको हवाइयात्रा गरेर मेक्सिको पुग्नुभयो र केही मिटिङ्मा भाग लिनुभयो ।

 

तर, उहाँको स्वास्थ्यस्थिति दयनीय बन्दै गइरहेको थियो । त्यसैले मेक्सिकोबाट तुरुन्त फिर्ता भई न्यूयोर्क पुग्नुभयो र न्यूयोर्कस्थित लेनोक्स हिल हस्पिटलमा भर्ना हुनुभयो । यसरी अमेरिकाको अस्पतालमा पनि एक हप्ता उपचार गर्नुभयो । तर पूरा निको भएन । अनि त्यहाँबाट डिस्चार्ज भएर न्यूयोर्कमा सञ्जय थापाजीको घरमा दुईचार दिन बसेर २०६९ को दशैँ  त्यहीँ मनाएर दिल्ली आउनुभयो । 


हाम्रो सल्लाह के भयो भने अमेरिकाले एसियनहरूको रोग पहिचान गर्न सकेन होला । त्यसैले दिल्लीमै उपचार गरौँ भन्ने रह्यो । तसर्थ, म पनि यहाँबाट दिल्ली गएँ । हाम्रो भेट दिल्लीमा भयो । यस बीचमा मलाई कति तनाव भयो भन्ने व्यक्त गर्ने शब्दहरू नै अहिले छैन । 


दिल्ली पुगेर डाक्टरसँग सम्पर्क गरी हामी एपोलो अस्पताल गयौँ । रगतदेखि सबै परीक्षणहरू गरायौँ । तर यहाँ पनि डाक्टरहरूले रोग केही छैन, अति कमजोर छ, आराम गरेपछि राम्रो हुन्छ भन्नुभयो । यदि आराम मात्र गर्ने हो भने आफ्नै ठाउँमा जाउँ भनेर हामी नेपाल फर्कियौँ । नेपाल फर्केको अर्को दिनदेखि उहाँको खोकी यसरी बढ्यो कि हेर्न नै गाह्रो भयो ।

 

त्यसपछि केही बोतल स्लाइन पानी चढाउनु पर्‍यो भनेर डाक्टर दिलिप शर्माको सल्लाह बमोजिम थापाथलीस्थित ‘ब्लु बर्ड क्लिनिक’मा लगियो र स्लाइन चलाइयो । तर स्थितिमा सुधार देखिएन । लगत्तै नर्भिक अस्पतालका डाक्टरलाई डा. दिलिपले बोलाउनुभयो । अनि उहाँले केपी सरलाई देख्नासाथ र जाँच गरिसकेपछि तुरुन्त एम्बुलेन्स बोलाएर नर्भिक अस्पताल पुर्‍याउन लगाउनुभयो । 


थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याएपछि आवश्यक प्रक्रियाहरू पुर्‍याइसकेपछि उहाँलाई आइसीयुमा लगेर राखियो । नर्भिक अस्पतालमा हुँदा पनि भिजिटरको भिड अति नै थियो । सायद चौथो दिनमा नर्भिकबाट पुनः एयर एम्बुलेन्स् बोलाएर सिधै दिल्ली गुडगाउँस्थित मेदान्त अस्पताल लगियो । त्यतिबेला नर्भिक अस्पतालको अवस्थाबारे केही बुझ्ने र जान्ने अवसर मिल्यो । त्यहाँ बिरामीको कक्षमा जान नपाएका हजारौँ शुभचिन्तकहरूसँग मैले भेटेकी थिएँ । तीनचार दिन त थापाथलीमा मेला लागेजस्तै भएको थियो । मेरो बहिनी राधा शाक्य प्रसुति गृह अस्पतालकी स्टाफ नर्स भएको हुनाले हाम्रो लागि खानाको व्यवस्था उनैले गरेकी थिइन् ।

 

यसरी नर्भिकले पनि नसकेपछि मेदान्त लाने क्रममा देखेको त होइन सुने अनुसार नर्भिकदेखि एयरपोर्ट सम्म नै शुभचिन्तकहरूको भीड लागेको थियो रे । मलाई लाग्छ, नेपालमा एकजना व्यक्ति बिरामी हुँदा जनताको ठूलो चासो यही नै पहिलो थियो कि ?


एयर एम्बुलेन्स्मा राजेशलाई साथमा पठाएर म र इन्द्र भण्डारी नियमित उडानबाट दिल्ली उड्याैँ । हामी एयरपोर्टबाट सिधै अस्पताल गयौँ । तर हामी पुग्दासम्म पनि केपीजीलाई पुर्‍याएको थिएन । हामीलाई झन् बढी तनाव भयो । एयर एम्बुलेन्स् अवतरण हुन सकेन कि भन्ने पनि लाग्यो । दिल्लीस्थित मेदान्त अस्पताल बाहिर नेपाली साथीहरू र दूतावासका कर्मचारीहरू पनि प्रतीक्षारत थिए । उहाँलाई अस्पताल ल्याइपुर्‍याउँदा अँध्यारो भइसकेको थियो । जनकपुर निवासी उक्त अस्पतालमा कार्यरत एक जना टेक्निसियन भाइले भर्नाको लागि आवश्यक व्यवस्था गरिदिए । अनि राति हामी नजिकको गेस्ट रुममा गएर बस्यौँ । 


मेदान्त अस्पतालको वरिपरि विभिन्न स्तरका धेरै नै गेस्टहाउसहरू रहेछन् ।  हामी त्यहाँ पुग्नासाथै धेरै एजेण्टहरूले आ-आफ्नो गेस्टहाउसमा हामीलाई लैजाने प्रयास गरेका थिए । त्यसैले एपोलोमा उपचार गराउँदा जस्तो बस्नको लागि दुःख यहाँ भएन । ठिकै खालका दुई तीन वटा कोठा लिएका थियौँ । खाना पकाएर खाने ठाउँ र सामानहरू पनि थिए । साथै रेस्टुराँबाट मगाएर पनि खान सकिन्छ ।

 

खाने, बस्ने सवालमा यस पटक मैले धेरै दुःख भोग्नु परेन । उता बिरामीलाई सुरुदेखि नै ‘आइसीयु र सीसीयु’मा भर्ना गरेको हुनाले हामी कुरुवा बस्नु परेको थिएन । त्यहाँ प्रत्येक दिन दुई पल्ट दुई जना भिजिटरलाई मात्र अनुमति दिइएको हुन्छ । म प्रत्येक दिन भिन्न भिन्न व्यक्तिहरू पठाउँथेँ । म गेस्टहाउसमा बस्ने र सुत्ने अनि बिहानको खाजा खाएर हिँडेरै अस्पताल पुग्ने गर्थें ।  

 

अनि अस्पतालको सेरोफेरोमै दिन बिताउने गर्दथेँ । खाली पैसा मात्र हुनुपर्दछ । चिया, कफी, स्न्याक्स् खाने, नास्ता र बिहान-बेलुकाको खाना खाने ठाउँहरू छुट्टाछुट्टै थिए । सरसफाइ पनि राम्रै छ । अस्पतालमा ओपीडी क्लिनिक वार्डहरू धेरै भएकोले दिनभरि नै मानिसहरूको चहल पहल बाक्लै हुने गथ्र्याे । अस्पताल आउने, जाने धेरै मानिसहरूमा खुट्टा दुख्ने समस्या छ कि भन्ने मलाई लागेको थियो । प्रायः मानिसहरू खुट्टा खोच्याउँदै हिँडेको देखिन्थ्यो । अलि पाका महिलाहरूलाई त हिँड्न समस्या देखिएको थियो । 


बाहिर हामी जस्ता विदेशका बिरामी र उनीहरूका सहयोगीहरूका लागि काउन्सिलिङ् गर्ने, सुझाब लिने छुट्टै कोठा या युनिट पनि व्यवस्था रहेछ । त्यसैले पनि मलाई यहाँ धेरै कुराहरूमा सहयोग पुगेको छ । माथि वार्डमा केपीजीलाई राखेको ठाउँमा सिसा या प्लास्टिकले घेरिएको कोठा रहेछ ।

 

भर्ना गरेको तीन चार दिन हुँदा पनि स्वास्थ्यमा खासै सुधार नदेखिएपछि उहाँको मुख र घाँटीबाट मेसिन भित्र पठाएर छातीमा टाँस्सिएको खकार निकाली टेस्ट गर्न एक जना लेडिज डाक्टर तयारीका साथ आउनुभयो र फर्ममा सही गर्न मलाई बोलाउनुभयो । उहाँले भन्नुभयो कि उहाँको रोग के हो ? पत्ता लगाउनको लागि हामी ब्रोन्कोस्कोपी गर्न लागेका छौँ । एक त उहाँ मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति, दोस्रो एकदम कमजोर अवस्था त्यसैले उहाँको खकार निकाल्ने क्रममा अप्ठेरो परेमा भेन्टीलेटरमा राख्नुपर्ने हुन्छ र त्यहाँ राखिसकेपछि जीवित फर्केर आउनेमा अली शङ्का हुन्छ भन्ने ढंगले कुरा गरे । यी सबै कुरा सुनेपछि मैले फर्ममा सही गर्न सकिनँ । मैले आज नगरौँ म सबैसँग सल्लाह गर्छु र तपाईंलाई खबर गर्छु भनेँ । त्यसपछि डाक्टरको टोली फर्कियो । 


अघि डाक्टरको टोलीले भनेको कुराले मलाई ठूलो पहिरोले थिचेजस्तो भयो । अब भेन्टिलेटरमा राख्न दिनु भनेको सिधै फर्केर नआउने भनेजस्तो आशयको कुरा उनीहरूले गरे । त्यो कुराकानी सुनेदेखि नै आफूले टेकेको जमिन हल्लिएजस्तो भयो । खु्ट्टा लुलिएर थचक्क भइएला जस्तो भयो । वरिपरिको वातावरण एकतमासको लाग्यो, संसार फन्फनी घुमेजस्तो भयो । म रोउँ कि, यहीँ थचक्कै बसुँ कि ।

 

 रोएर समस्या समाधान हुने त होइन । तर, परिस्थिति त्यस्तो भएपछि तर्कले काम गर्दाे रहेनछ । रोएर केही हुन्न भन्दाभन्दै म धेरै रोएँ । रातभर आँखा झिमिक्क भएन । काठमाडौंमा पार्टीका साथीहरू, मैले चिनेका डा. दिलिपकुमार शर्मा र डा. कैलाश भण्डारी, दिल्लीका डा.अखिलेश्वर मिश्र, डा.अनन्त, डा. राजिव शर्मा आदिलाई फोन गरेँ । उनीहरूसँग सल्लाह मागेँ ।

 

डा. दिलिप र डा. कैलाशलाई जसरी भए पनि तपाईहरू दिल्ली आउनु भनेर अनुरोध गरेँ । मध्यरातमा डा. राजिव र उहाँका म्याडम, डा. गीत मलाई भेट्न गेस्टहाउस आउनुभयो । नआत्तिन र धैर्य गर्न भन्नुभयो । भोलिपल्ट बिहानैको फ्लाइटबाट डा. दिलिप शर्मा र डा. कैलाश पनि दिल्ली पुग्नुभयो । हामी सबै भएर अस्पतालका प्रमुख डाक्टरसँग कुरा गर्‍यौँ । 


मैले भनेँ, केपी ओली मेरो श्रीमान मात्र नभएर एउटा जिम्मेवार पार्टीको नेता समेत भएकोले मैले मात्र कुनै कुराको निर्णय दिन सक्दिन । अर्कोतिर नेपालबाट दुई जना डाक्टरहरू आएपछि म ढुक्क भएँ । उहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यसैमा मेरो पनि सहमति हुन्छ भनेँ । म उहाँहरूमाथि विश्वास गर्छु र भरोसा राख्छु । सबै जिम्मा डाक्टर दिलिप र डा. कैलाशलाई दिएपछि अस्पतालका सम्बन्धितहरूसँग छलफल गरियो । तर पछि ब्रोन्कोस्कोपी गर्नु नपर्ने निर्णय भयो । यसपछि थप एक हप्ता गरी जम्मा १४ दिनको दिन केपीजी डिस्चार्ज हुनुभयो ।

 

डिस्चार्ज हुनुभन्दा एकदिन अगाडि उहाँलाई आइसीयुबाट जनरल वार्डमा सारिएको थियो । जेनरल वार्डमा ल्याएपछि उहाँलाई नुहाइदिन खोज्दा शरिरमा हाडमा टाँसिएको छाला बाहेक शरीरमा मासु भन्ने छैन कि जस्तो लाग्यो । उहाँलाई यतिको दुब्लो त मैले कहिल्यै देखेको थिएन । शरीरमा कहीँ, कतै एउटा सुई रोप्ने ठाउँ पनि छैन जस्तो लाग्छ । यसरी निमोनियाबाट बचाएर २०६९ को तिहारको लक्ष्मीपूजाको अघिल्लो साँझ डिस्चार्ज गरी  अस्पताल बाहिर आयौँ । डिस्चार्ज गरी उहाँलाई सिधै गेस्टहाउसमा लगेँ । एक छिन त्यहाँ आराम गराई त्यसै रात डा. राजिव र गीत शर्माको निवासमा बस्न गयौँ ।      

   
डा. राजिव शर्मा दिल्ली निवासी र बिगतमा एपोलो अस्पतालका अर्थोपोडिक सर्जन हुन् । आजका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हिपको हड्डीको अपरेसन गर्ने व्यक्ति डा. राजिव शर्मा नै हुन् । समय समसयमा उनी पेसाकै सिलसिलामा नेपाल पनि आउँछन् । केपीजीको मिर्गौला प्रत्यारोपणदेखि नै हाम्रो चिनजान भएको हो ।

 

डा. शर्माका म्याडम गीत शर्मा सायद शिख समुदायकी छोरी जस्तो लाग्छ । उनी पनि डाक्टर तर मेडिकलपट्टी होइन । उनीहरूका दुई छोराहरूमा जेठो उसबेला अमेरिकामा अध्ययनरत र कान्छो सँगै थिए । छोराछोरीको असाध्यै हेरचाह गर्ने आमाहरूमध्ये डा. गीत पनि पर्नुहुन्छ । हामी अस्पतालबाट निस्केर उहाँहरूको निवासमा किन बस्न गयौँ भने पहिलो कुरो उहाँहरूको विनम्र अनुरोधलाई इन्कार गर्न सकिएन ।

 

दोस्रो कुरा, केपीजी धेरै कमजोर भएकोले बाक्लो भेटघाटबाट टाढा राख्नको लागि पनि उहाँहरूको निवास उपयुक्त लाग्यो । तेस्रो, डाक्टरकै घरमा बस्दा मलाई पनि ढुक्क हुने भयो । चौथो केपीजीको लागि आवश्यक  सरसफाइ पनि त्यहाँ राम्रो छ । 


हामी करिब दुई हप्ता डाक्टर शर्माको निवासमा बस्यौँ । यस बीचमा दुई तीन पटक  फलोअपमा अस्पतालमा गयौँ । यस अवधिमा केपीजीले निकै कम व्यक्तिहरूलाई मात्र भेटघाट गर्नुभयो । २०६९ को लक्ष्मीपूजाको दिन हामी शर्माजीकै घरमा थियौँ । उहाँहरूको लक्ष्मीपूजामा एकजना पण्डित बोलाएर छोटो पूजापाठ गरिएको थियो ।

 

त्यहाँ लक्ष्मीपूजामा छरछिमेकी र आफन्तबीच मिठाई उपहार दिने चलन रहेछ । त्यसैले हामीले त्यतिबेला धेरैथरीका धेरै मिठाई पनि खायौँ । बाहिर पटाका पड्काउने धेरै हुँदा रहेछन् । तिहार भए पनि अन्य चहल पहल खास देखिएन । यसरी यसपटक पनि करिब एक महिना दिल्ली बसेर हामी काठमाडौँ फर्कियौँ । 


बैंककमा बिताएका त्रासद् दिनहरू 


थाइलाण्डको राजधानी बैंकक हाम्रो लागि नयाँ ठाउँ होइन । २०५२ साल साउनको अन्त्यमा पहिलो पटक उपचारकै लागि हामी बैंककको समितिभेज अस्पताल गएका थियौँ । त्यहाँ चार पाँच दिन उपचार गराएर फर्केका थियौँ । त्यसपछि २०६४ साउनमा उहाँको मिर्गौला प्रत्यारोपण गर्नुअघि पनि एक दुई पटक बैंकक जाने क्रममा बुमरुङगार्ड अस्पताल गएर सामान्य चेकअप गराएका थियौँ ।  तर यसपल्ट २०७१ वैशाखमा अचानक बैंककको बुमरुङगार्ड अस्पताल पुग्नु पर्‍यो, त्यो पनि एयर एम्बुलेन्सबाट करिब अर्धचेत अवस्थामा उहाँलाई लिएर । 


२०७० मंसीरको चुनाब हुनु अगाडिदेखि नै उहाँको हातको छाला र औँलाहरू अलि अलि सुनिएजस्तो, छाला कालो भएजस्तो लक्षणहरू देखापरेका थिए । तर, चुनाबको चपेटाले गर्दा खासै ध्यान दिन सकिएन । चुनाबपछि २०७० फागुनमा टोखास्थित ग्राण्डी अस्पतालमा चेकअपको लागि जाने क्रममा भर्ना नै गरियो । यहाँ १०-१२ दिनको उपचारपछि घर आएर पुनः हामी लगत्तै दिल्लीको साकेतस्थित म्याक्सअस्पतालमा भर्ना भयौँ त्यहाँ एकमहिना लामो अस्पताल बसाईपछि बाहिर आएर थप दुई हप्ता दिल्ली बसेर २०७१ वैशाख ४ गते बुधबार तदनुसार १६ अप्रिल २०१४ मा मात्र नेपाल फर्केका थियौँ । 


काठमाडौँ एयरपोर्टमा नेता, कार्यकर्ता, परिवार, शुभचिन्तकको ठूलो समूहले स्वागत गरेका थिए । घर पुगेदेखि उही खालको भेटघाटको सिलसिला चलिहाल्यो । केही आराम मिल्ला कि भनेर दुई दिन गोकर्ण रिसोर्ट पनि गएर बस्यौँ । तर अर्को हप्ताको बिहिबार बेलुकादेखि उहाँलाई साह्रै टाउको दुख्यो, अनि लगातार वान्ता भयो । भोलिपल्ट डाक्टर ऋषि काफ्ले हाम्रो घरमै आएर जाँच गर्नुभयो । डा. काफ्लेले डिहाइड्रेसन छ, दुई तीन वटा स्लाइन चढाएपछि ठिक हुन्छ भनेर जानुभयो । दुई जना स्वास्थ्यकर्मी आएर स्लाइन चढाइयो र उपचार सुरु पनि भयो ।

 

तर, बेलुका सम्ममा पनि कुनै सुधार देखिएन । राति फेरि डाक्टर दिलिप र डाक्टर कैलाश र अरु पनि आएर हेर्नुभयो । उहाँहरूले स्लाइन थप्दै लैजानुभयो । तर टाउको दुखाइ र वान्ता रोकिएन । यसरी शुक्रबारदेखि आइतबारसम्म घरमा राखेर उपचार गर्दा पनि सुधार नदेखिएपछि डा. ऋषि काफ्ले, डा. दिव्या सिंह, डा. मुकुन्द सबैको सुझाब अनुसार आइतबार राति त्रिवि शिक्षण अस्पताल लगियो । 


अस्पताल पुगेपछि राति नै सीटीस्क्यान र ढाडबाट पानी निकाल्ने र अन्य परीक्षण सुरु गरियो । ती परीक्षणहरूमध्ये ढाडबाट निकालिएको पानीको जाँचबाट उहाँलाई क्रिप्टोकोर्स मेनेन्जाइटिक्स् भनेर चिनिने कडा रोग लागेको छ भन्ने पत्ता लाग्यो र रातिबाट नै उपचार सुरु गरियो । एमआरआई पनि गरी हेरियो । अरु रिपोर्टस् नराम्रो थिएन । यसरी फेरि अर्को कडा खालको अर्थात् बढी जोखिमयुक्त रोगले उहाँलाई दुःख दियो ।

 

टिचिङ अस्पतालमै रोग पत्ता लगाई उपचार सुरु भएको भए पनि अन्त्यमा उहाँलाई बैंककको वुङरुङगार्ड अस्पताल लाने निर्णय गरी एयर एम्बुलेन्स बोलाइयो । यस्तो निर्णय गर्नुमा मूलतः अस्पतालमा भेट्न आउनेको भीड, अस्पतालभित्र हुने फोहोरी राजनीति र उहाँको जटिल रोगहरूको कारणलाई ध्यानमा राखिएको थियो ।


डाक्टरहरू, नेपाल सरकार र नेकपा (एमाले)का प्रतिनिधिबीच गहन छलफल गरी जोखिम न्युनीकरणका लागि बैंकक लाने निर्णय भएको थियो । सोही निर्णय अनुसार २०७१ वैशाख १७ गते टिचिङ अस्पतालबाट सिधै एयरपोर्ट पुर्‍याएर एयर एम्बुलेन्सबाट बैंकक लगिएको थियो ।

 

जहाजमा उतैबाट आएका तीनजना स्वास्थ्यकर्मी र यताबाट बिरामी सहित डा. दिव्या सिंह शाह र राजेश वज्राचार्य गएका थिए । तीन घन्टाको हवाई यात्रापछि उहाँलाई अस्पताल पुर्‍याएर भर्ना गरियो । त्यस रात राजेश उहाँको साथमै बसे र डा. दिव्या सिंह शाह नेपाली दूतावासमा गएर सुत्नुभयो । जहाजमा केपीजीले जापानिज खाना सुसी खानुभएको थियो रे । 


उहाँलाई बिदा गरेर बैंकक पठाइसकेपछि टिचिङ अस्पतालको डिस्चार्ज पेपर बनाउने, भुक्तानी गर्ने लगायत सबै काम गरी म घर बालकोट फर्कें । अनि बैंककमा नेपाली दूतावासका डीसीएम डोरनाथजीको  सम्पर्कमा रहेँ । बिरामी उता त्यस्तो अवस्थामा हुनुहुन्छ, म यता घरमै छु । यस्तो परिस्थितिमा मन एकदम भारी भएर आयो । घर पुगेपछि कसैले नदेख्ने गरी एक छिन त रोएँ । रातभर सुत्न सकिनँ । पछि आफैँ सम्हालिएँ । भोलिपल्ट बैकंक जाने तयारी गरेँ ।


१८ गते बिहान पनि डोरनाथजीसँग सम्पर्क गरी स्थितिको जानकारी लिएँ । पछि राजेशले मोबाइलमा उताको सिमकार्ड राखेँ भनेर फोन गरे । फोनमा कुरा गर्दा ऊ अलि बढी अत्तालिएको छ जस्तो लाग्यो । उसको बोल्ने तरिकाले म झन् छट्पटिएँ, पानीबाट निकालेर बगरको तातोमा पछारिएको माछा झैँ । तर के गर्नु टाढा छ । त्यसपछि इन्द्र, शीतललाई बैंककमा सम्पर्क गर्ने फोन नम्बर दिएर म एयरपोर्टको लागि घरबाट निस्किएँ ।

 

मलाई एयरपोर्टसम्म पुर्‍याउन गएका इन्द्र भण्डारी, लोकबहादुर भण्डारी, र किसान श्रेष्ठ अनि त्यहीँ भेटिएका सुभाष, यादव खनाल र नवराज ढकालसँग बसेर चिया खाएँ । चिया खाँदै गर्दा पनि मेरो मन छट्पटीले उतै दौडिएको थियो । एयरपोर्टबाट उडानका सबै प्रक्रिया टीजीकै एक जना नेपाली स्टाफले पूरा गरिदिएका थिए ।


काठमाडौंको एयरपोर्टभित्र टीजीको बिजनेस क्लासको लागि एउटा भव्य लन्ज र रेष्टुरेन्ट रहेछ । आफूमा पैदा भएको बेचैनी र छटपटीले, यो मैले पछि मात्र याद गरेँ । पहिलो पटक नेपालको एयरपोर्टभित्र पनि यस्तो स्थान देख्न पाएको थिएँ । जहाज अवतरण हुने समयमा ठूलो पानी पर्नाले बोर्डिङ पास केही ढिलो भयो । अन्त्यमा दिउँसो दुई बजेतिर जहाज उड्यो ।


जहाजको यात्रा अवधिभर मनमा अनेकौँ शङ्का र डर बोकेर बसिरहेँ ।  बैंकक पुगेर एयरपोर्टका सबै प्रक्रिया पूरा गरेर सिधै अस्पताल गएँ । म अस्पताल पुग्दा साँझको ७ बजिसकेको थियो । हतपत उहाँलाई राखिएको कोठा नम्बर ११११ मा पसेँ र उहाँलाई हेरेँ । म आइपुगेँ भनेर जानकारी दिन खोजेँ । तर उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो ।

 

कोठामा डा. दिव्या सिंह, सुरज र जेनी थिए । उहाँको स्थिति राम्रो छ जस्तो लागेन । आखिर जे भए पनि सहनु बाहेक मेरो सामु अरु बिकल्प थिएन । यसैबीच डा. दिव्या सिंह शनिबार बिहान नेपाल फर्कने कुरा भयो । अनि मलाई लाग्यो कि त्यहाँका डाक्टरहरूसँग कुरा गर्नका लागि भए पनि हाम्रो साथमा एकजना नेपाली डाक्टर हुनुपर्छ । यो अनुभव मैले पहिले पनि गरिसकेकी थिएँ । त्यसैले मैले डा. दिलिपलाई शुक्रबार नै बैंकक बोलाएँ । राति मलाई खान र सुत्न सुरजको घरमा बोलाइएको थियो । उहाँको स्थिति नाजुक भएकोले म गइनँ । बरु आफू रातभर बसेँ र राजेशलाई सुत्न दिएँ । 


अस्पताल बसुञ्जेल मेरो र राजेशको बास अस्पतालको सोफामै भयो । राति एक दुई बजेसम्म एक जना सुत्ने अर्कोले कुर्ने, अनि बिहानसम्म अर्को सुत्ने गरेर हामीले समय मिलाएका थियौँ । एक हप्ता जति पछि मेरो र राजेशको स्वास्थ्यलाई ध्यानमा राखेर रातको लागि एक जना नर्सको व्यवस्था गर्न लगाएँ । ती नर्स यस अस्पतालको स्टाफ थिइनन् ।

 

सुरुको अवस्थामा त्यहाँका डाक्टरहरूले केपीजीको बाँच्ने सम्भावना २० प्रतिशत मात्र छ भनेका थिए । हुन पनि अस्पतालमा हुँदा समेत धेरै दिनसम्म उहाँलाई टाउको दुख्न निको भएन । उहाँको टाउको दुखेका बेला हामीलाई हेर्न र सहन समेत निकै गाह्रो हुन्थ्यो । तर, त्यो पीडादायी दृश्य हेर्नु पर्ने बाध्यता थियो । एक पटक उहाँको ढाडबाट पानी निकाल्दा दुखेर उहाँ जोडजोडले कराउनुभो । त्यसबेला मेरो छाती नै फुट्ला जस्तो भयो ।

 

सायद, पानी निकाल्ने डाक्टर अलि नयाँ थिए कि ? नत्र त्यति साह्रो कराएको मलाई कहिल्यै अनुभव छैन । उहाँ अर्धचेत अवस्थामै हुनुहुन्थ्यो । अनि अस्पतालका कोठाको भित्तामा झुण्ड्याइएका तस्बिरहरू हेरेर तिनीहरूलाई बामदेव गौतम, विष्णु पौडेल आदिको तस्बिर भन्नुहुन्थ्यो । यसरी स्मरणशक्ति पनि हराएको थियो । यस स्थितिमा एक हिसाबले उहाँको आश मैले गुमाइसकेकी थिएँ ।


यसरी मानसिक र शारीरिक दुबै हिसाबले तनावको स्थिति भोग्न बाध्य भइरहेकै बेला अर्को एउटा तनाव आइलाग्यो । मे चार तारिख आइतबारको दिन म सुरजको घरमा खाना खाएर अस्पताल जान निस्किएकी थिएँ । आइतबार भएको हुनाले त्यहाँ ट्याक्सी धेरै आउँदैनन् ।

 

अलिपरसम्म गएर टयाक्सी लिउँला भनेर घरबाट अलि पर पुगेकी थिएँ । यत्तिकैमा दुईजना मान्छेले मोटरबाइक हुइँक्याएर ल्याए । उनीहरू ठक्कर देलान् जसरी आइरहेका थिए । त्यसरी आफूतिर हुइँक्याएर आएको देखेपछि म अलि परतिर सरेर बसेँ । सडकको किनारतिर सर्न लाग्दालाग्दै फुत्त मेरो ब्याग खोसेर दुई वटा मोटरबाइक त्यहाँबाट भागे । नम्बर हेर्न त खोजेँ । तर आँखाले भ्याएन । म अक्क न बक्क भएँ । 


ब्यागमा मेरो सम्पूर्ण पैसा, गहना, मोबाइल, पासपोर्ट, चस्मा आदि थिए । म सधैँ जहाँ पनि प्राइभेट गाडीमा हिँड्ने भएर ब्याग सुरक्षित ढंगले बोक्नुपर्छ भन्ने ख्यालै भएन । दोस्रो, बैंककमा दिउँसै लुटिन्छ भन्ने सोच्नै सकिन । तेस्रो, श्रीमानको हालतले गर्दा मेरो होस ठेगानामा थिएन कि जस्तो पनि लाग्छ । जे होस्, जिन्दगीमा पहिलो पटक धेरै सम्पत्ति गुमाउनु पर्‍यो ।

 

यसरी बाटोमा लुटिएपछि मैले जेनी र सुरजलाई घटनाको जानकारी गराएँ । पछि सुरज, दिनेश, निता र सुनील घटनास्थल आइपुगे र रिपोर्ट दिन भनेर पुलिस स्टेसन पुगे । थाइ भाषा जान्ने निताले सबै विवरण सहित निवेदन दिइन् । भोलिपल्ट पनि म एक चोटि पुलिस स्टेसन गएँ । तर सामान फिर्ता आउने सम्भावना देखिएन । यसरी दुःखमाथि दुःख बेहोर्नु पर्‍यो । तर मैले यो कुराको जानकारी केपीजीलाई दिइन । 


हामी अस्पतालको स्वीट रुममा बसेको हुनाले खान, बस्न, आराम गर्न नुहाइ धुवाइ गर्न समस्या थिएन । अस्पतालमा नर्सिङ सेवा धेरै राम्रो थियो । सरसफाइ शिष्टता पनि त्यस्तै राम्रो थियो । आवश्यक सामग्रीहरू पानी, जुस, चिया, कफी, टावेल आदि मनग्य छन् । खाना तताउने ओभन, पानी उमाल्ने भाँडो, खाना खाने प्लेट, चम्चा, कचौरा आदि सबै छन् । नाम मात्र अस्पताल, सुविधा सबै स्टार होटलको भन्दा कम छैन ।

 

मे ६ तारिखको साँझ दूतावासका डीसीएम डोरनाथजी आएर औपचारिक रूपमा डाक्टरसँग कुरा गर्नुभयो । डाक्टरले अहिलेको लागि खतरामुक्त छ भनेर रिपोर्ट गरे । यसपछि अलि आशा पलायो ।  तर पनि कहिलेकाहीँ एक्लै हुँदा बिरामी कुर्न गाह्रो छ । बेडबाट खस्ने, लड्ने हो कि भनेर सधैँ सतर्क हुनु जरुरी छ ।  उहाँले ७ मे को बिहान उठेर ट्वाइलेटमै गएर दिसा, पिसाब गर्नुभयो ।

 

सायद दुई महिनापछि चियरमा बसेर भए पनि नुहाउनुभयो । बाथरुमदेखि सोफासम्म वाकरको सहायताले हिँडेर जान्छु भन्नुभयो । खाना पनि अलि खानुभयो । ६ मे मा वान्ता पनि भएन । ५ मे मा  ढाडबाट निकालिएको पानीमा इन्फेक्सन छैन भनेर खबर आयो । अस्पतालमा भेट्न आउने साथीभाइहरू नेपालका नेता, कर्मचारी आदिको बारेमा आपसमा खुलेर गफ गर्छन् । हामीले कुरा नगरे पनि समय बिताउन सजिलो नै थियो । 


मे ८ तारिखको बिहान काँग्रेस पार्टीकी नेता मैयाँदेवी श्रेष्ठ र उहाँका सहयोगीहरू केपीजीलाई भेट्न आउनुभयो । श्रेष्ठजी स्वयं महिनाको एक पटक फलोअपको लागि यहाँ आउने गर्नु हुँदो रहेछ । उहाँले यो राम्रो अस्पताल हो, अस्ति नै केपीजीलाई यहाँ ल्याउनु पर्ने भनेर कराउनुभयो । तपाईंले नेपालमा धेरै गर्नु छ, तपाईं साँच्चैको नेता हुनुहुन्छ भनेर बूढी मान्छे भावुक हुनुभयो । उहाँको साथमा अरु तीन जना सहयोगीहरू थिए । 


आज पनि केपीजीको अवस्था राम्रै रह्यो । नुहाउने, खाने राम्रो भएको छ । आज थाइल्याण्डमा प्रधानमन्त्रीलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको हुनाले बाहिरी वातावरण अलि तनावपूर्ण होला । तर नेपालमा जस्तो उथल पुथलको स्थिति यहाँ भएको सुनिएन । मे ९ तारिखको बिहानै डा. दिलिप नेपाल फर्किनुभयो । उहाँको ठाउँमा डा. धर्मकान्त बास्कोटा दिल्ली हुँदै बैंकक आउनुभयो ।

 

तर, आज खाना खाएपछि केपीजीले वान्ता गर्नुभयो । त्यसले उहाँलाई झन् शिथिल बनायो । साँझ, हिमालय किचनबाट एक जना नेपालीले खानामा मम र रोटी लिएर आउनुभयो । उहाँ पहिले पनि भन्ते बौद्ध भिक्षुको रूपमा बैंकक आउनुभएको रहेछ । आज राति एक बजेदेखि बिहान सवा ५ बजेसम्म म बिरामीकै कोठामा बसेँ । उहाँले मलाई ‘तिमी यहीँ बस म सुत्न सक्दिनँ’ भन्नुभएको थियो । फेरि तिमीलाई धेरै दुःख भयो भनेर चिन्ता पनि गर्नुभयो । 


यता उचपार खर्च सरकारले दिने निर्णय भए पनि आजसम्म कुनै रकम नपठाउँदा ठूलो तनाव भइरहेको थियो । एयर एम्बुलेन्सको समेत भुक्तानी भएको छैन । यसैबीच इन्फेक्सन्स् हेर्ने फिजिसियन डाक्टर बिहानै आउनुभयो ।  हिजोेको रिपोर्ट राम्रो छ भन्नुभयो । यहाँ आएदेखि तीन पल्ट ढाडबाट पानी निकालेर गर्ने टेस्ट गरिसकेको छ । फेरि घरी घरी म आँखा देख्दिन भन्नुहुन्छ । त्यसैले आँखाको चेकअपको लागि सम्बन्धित विभागमा लगियो । 


हामी बसेको भवन १२ तल्लाको छ ।  ११ औँ तल्लामा मात्र ५३ वटा कोठाहरू छन् । यसैबेला मेरो ब्याग लुटिएको खवर सुनिल खड्काले प्रचार गरेर नेपालभरि सनसनी फैलिएको कुरा बहिनीले फोनमा बताइन् । मेरो ब्याग लुटिएको कुरालाई सरकारबाट पैसा लिने निहुँ बनाएको भनेर प्रचार गरिएको रहेछ । हाम्रो इमान्दारिता र स्वच्छतालाई नबुझेको र अर्कैथरी प्रचार गरिएकोमा दुःख लाग्यो । यस खालको ताडना सहन निकै गाह्रो हुँदो रहेछ । मन बुझाउनै सकिन, त्यसै आँखा रसाए । 


१७-१८ दिनपछि आज बिहानदेखि उहाँलाई राम्रो भएको छ । पटक पटक खाना खाने, आफैँले दिसा धुने पनि गर्नुभयो । सबैभन्दा खुसीको कुरा त आज मलाई मेरो नामबाट नै बोलाउनुभयो । उहाँ सधैँ मलाई नानी भनेर बोलाउनुहुन्थ्यो । तर मलाई आज ‘राधिका कटनवर्ड देउ त’ भन्नुभयो । आज उहाँको टाउको, काँध, शरीर केही पनि दुखेको छैन । यता रगत जाँचको रिपोर्ट पनि हिजोको तुलनामा राम्रो आयो । मुलतः उहाँलाई मिर्गौला विशेषज्ञ नसा रोग विशेषज्ञ, जनरल फिजिसियन, चिनी रोग विशेषज्ञ, संक्रामक रोग विशेषज्ञ र रिह्याविलिटेसन विशेषज्ञ आदिले जाँच गर्नुहुन्थ्यो । 


१२ मे मा पनि स्थिति हिजोको जस्तै राम्रो छ । व्यायाम पनि गर्नुभयो । गीत, गजल सुनेर आनन्द लिनुभयो । आज डा. बास्कोटा नेपाल फर्किनुभयो । अब को आउनुहुन्छ थाहा छैन । बिहानदेखि रातिसम्मका औषधिहरू हेर्छु अत्यास लाग्छ । यति धेरै औषधि खानु पर्छ । आज साँझबाटै मुखको पाइप पनि हटाइयो । यसले गर्दा खान, बस्न अलि सजिलो भयो । यता नेपाल सरकारले केही रकम जम्मा गर्‍यो रे भन्ने खबर पनि आयो । अमेरिका बस्ने राजेन्द्र ओलीको साथी भनेर राजु सुवेदी भेट्न आउनुभयो । अनि राति डा. शक्ति बस्नेत पनि आउनुभयो । विष्णु पौडेलजीले फोन गर्नुभयो ।


१३ मे थाइल्याण्डमा वैशाख ‘डे’को सार्वजनिक बिदा रहेछ । यसैको अवसरमा नेपाली दूतावासले साँझ पटायामा कार्यक्रम राखेको रहेछ । आज उहाँले पहिलो पल्ट बालकोटमा निर्माणाधीन घरको छत ढलानमा वाटरप्रुफ राखेको छ कि छैन भनेर मसँग सोध्नुभयो । यसको अर्थ उहाँको स्मरणशक्ति बढ्दै छ ।  मोबाइलबाट नेपाल सम्बन्धी केही समाचार सुन्नुभयो ।

 

कोठामा भएका किताबबाट कथाहरू पनि पढ्नुभयो । राति ड्युटीमा आएकी एक जना नर्स अलि बढी चकचके र गफाडी रहिछन् । राति १२ देखि एक बजेसम्म ब्रेक टाइम भनेर उनी बाहिर गइन् । २८ वर्षकी ती नर्सले फिलिपिन्समा तीनवर्ष र ताइवानमा दुईवर्ष काम गरिसकेँ भनिन् । उनको चञ्चले स्वभाव र एक घन्टा ब्रेक टाइमले गर्दा आजको रात म सुत्न पाइन । मे १४ तारिखमा नेपालमा बुद्ध जयन्तिको सार्वजनिक बिदा थियो । सबै काम, कुरा राम्ररी नै चलिरहेको थियो ।


यसैबेला न्युरोको डाक्टर आउनुभयो । चेकअप गर्नुभयो । तर उहाँले जाने बेलामा केपीजी नेपाल फर्किदा लठ्ठी टेकेर जान सक्नुहुन्छ भन्नुभयो । मिर्गौलाको अर्काे डाक्टर आएर सुत्दा मुख खोलेर सुत्ने र घुर्ने बानीले उहाँको दिमाग र मिर्गौलालाई नराम्रो हुन्छ भन्नुभयो । त्यसपछि उहाँ गम्भीर हुनुभयो । अलि चिन्ता लिएको जस्तो लाग्यो । अनि मैले यस्तो हुँदैन भनेर सम्झाएँ । यी डाक्टरहरूलाई तपाईंको स्वभाव, इच्छाशक्ति र दायित्वबारे थाहा छैन, उनीहरूले त साधारण व्यक्तिहरूसरह कुरा गरे भनेँ । त्यसैले चिन्ता लिनु आवश्यक छैन । नेपाल फर्कदा तपाईं बलियो भइसक्नुहुन्छ भनेर मैले धेरैबेर सम्झाएँ । 


यता नेपालबाट बामदेवजीका भाइ बासु गौतम आफ्ना छोराको उपचारका लागि यही अस्पताल आएको खवर सुनेँ र राति नै उहाँको कोठा पत्ता लगाएर भेट्न गएँ । उहाँहरू ८४० नम्बरको कोठामा हुनुहुँदो रहेछ । बिरामी प्रवेश गौतम र आन्टीलाई भेटेँ । बासुजी कोठा खोज्न जानुभएको रहेछ, भेट भएन ।

 

१५ मे को दिन अन्तर्राष्ट्रिय खबरमा टर्कीमा माइन बिस्फोट भएर दुई सय जनाभन्दा बढीको मृत्यु भएको र नाइजेरियामा बोकोहराम भन्ने समूहले स्कूलका दुई सय जना केटीहरू अपहरण गरेर लगेको आदि सुनेँ । आज बिहान माधव नेपाल बिरामी भएर अस्पताल भर्ना भएको खबर सुनेँ । उहाँको नाममा एउटा पत्र लेखेर शीघ्र स्वास्थ्यलाभको कामना गरी पत्र पोस्ट गरेँ । त्यस पत्रमा मैले जानीजानी नै म संसदीय दलका नेता केपी शर्मा ओली भनेर लेखेकी थिएँ । त्यस पत्रबारे नेपालमा खुब टिप्पणी भयो रे भन्ने सुनेकी थिएँ । 


वैशाख ‘डे’को उपलक्ष्यमा नेपालबाट १७ जनाको टोली भियतनाम गएको र फर्किने क्रममा बैंकक पनि घुम्ने भनेर आएका थिए । ती मध्ये मेरो माइती पाटनका नारायण अवाले, (११ नं वडा अध्यक्ष) बाबुकाजी र गोपाल महर्जन हामीसँग भेट्न जेनीसँग अस्पताल आएका थिए । अस्ति मात्र आर्मी पाइलटको तालिममा आएका दुईजना पनि भेट्न आएका थिए ।

 

हिजो अस्तिदेखि दिनको दुई पल्ट फिजियोथेरापीको लागि ‘उहाँलाई एम-फ्लोर’मा लाने गरिएको छ । भोलिदेखि मुख्य रोग मेनेन्जाइटिसको झोल औषधि खुवाउन बन्द गरी अरु औषधि दिने कुरा डाक्टरले भन्नुभयो । यसको मतलव स्लाइनको लागि राखिएको पाइप हट्ने भयो । यो पनि खुसीको खबर हो । उता कोरियाबाट फर्किने क्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मुकुन्द ढुंगेल डोरनाथजीसँग अस्पताल आउनुभयो । उहाँले मन्त्रीसँग अलि लामो कुराकानी गर्नुभयो । त्यसैबेला मिर्गौलाको डाक्टर आएर मंगलबार डिस्चार्ज हुनसक्ने खबर दिए ।

 

ती डाक्टरसँगै डायबिटिजको डाक्टर पनि आएकी थिइन् । उनले केपीजीलाई घर जान चाहन्छौ  भनेर सोधिन् । यता बामदेवजीका भाइ बासु गौतम र हरि पराजुलीका भाइ पनि भेट्न आउनुभयो । १७ मेमा मुख्य औषधि बन्द गरियो । यो औषधिको साइडइफेक्टले मिर्गौलालाई असर गर्छ रे भन्छन् । तर, बिस्तारै केपीजी तङ्ग्रिँदै जानुभयो । अब त खाना पनि आफैँ खानुहुन्छ । आज फेरि फिलिपिन्सबाट फर्किने क्रममा ऊर्जामन्त्री राधा ज्ञवालीजी भेट्न आउनुभयो । 


१८ मेको दिन बिहान ७ बजेदेखि दिउँसो एक बजेसम्म म आफ्नै सामान्य स्वास्थ्य परीक्षणका लागि व्यस्त भएँ । साँझ मैले टाउको अलि भारी छ भनेपछि उहाँले चिन्ता गर्नुभयो । अनि उहाँलाई सान्त्वना दिन पनि मैले आफू फ्रेस भएको देखाउनु पर्‍यो । धेरै लामो समयको अस्पताल बसाइ र चिन्ताले गर्दा अलि बिसञ्चो होला कि भन्ने डर मनमा त थियो नै । १९ मेको दिन डा. शक्ति बस्नेत आएर किड्नी फाउण्डेसनको तर्फबाट शीघ्र स्वास्थ्यलाभको फ्रेम सहितको पत्र दिएर जानुभयो ।

 

उहाँले हिजो ‘विकेन मार्केट’ जाँदा मोबाइल हराएको कुरा गर्नुभयो । आज मैले उहाँको क्यानेला राखेको ठाउँमा ड्रेसिङ् गरिदिएँ । यस्तैमा एकाउन्ट युनिटका एक जना स्टाफ आएर पैसा धेरै बाँकी देखियो, केही भए पनि आजै जम्मा गरिदिनु भनेर गए । त्यसपछि मैले दूतावासमा फोन गरेर यो जानकारी दिएँ । यता दिनको दुई पल्टको फिजियोथेरापीले उहाँलाई राम्रो हुँदै गइरहेको थियो । आजदेखि रातिको ड्युटीमा थाई नर्स नै आइन् । फिलिपिनो नर्ससँग व्यवस्थापनको केही समस्या पर्‍यो जस्तो लाग्छ । फिलिपिनोहरू खर्च कम गर्न शहरी क्षेत्रभन्दा टाढा बस्ने गर्दछन् रे भन्ने सुनेकी थिएँ । 


२० मे मङ्गलबार डाक्टरको भनाइ अनुसार डिस्चार्ज हुन सक्ने दिन थियो । तर हामीले शुक्रबार मात्र जान चाह्यौँ । कारण फिजियोथेरापीको कोर्ष बाँकी थियो । अस्पतालबाट बाहिर गएपछि आउजाउ गर्न गाह्रो हुन्छ । विविध कारणले म आज बढी तनावमा परेँ । एक त अस्पतालको असजिलो दिनचर्या, दोस्रो नेपालको राजनीति त्यसमा पनि आफ्नै पार्टी भित्रको अस्वस्थ र दुष्टतापूर्ण चरित्र । उता अस्पतालको रकम भुक्तानीको समस्या । 


नेपाल टेलिभिजनको आजको एउटा अन्तरवार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ । उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् । केपीजीको स्वास्थ्यलाई लिएर भइरहेको राजनीति देख्दा मलाई साह्रै दुःख लाग्यो । माधव नेपाल, जसको सधैँभरि पार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो ।

 

आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ । उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गर्थ्याे । यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गर्नुभएका उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नुभएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो । यसबाट दुःखी हुनु बाहेक के गर्न सकिन्छ र ?


राष्ट्र बैंकका पूर्व कर्मचारी भाइकाजी श्रेष्ठ र म्याडम आजै भेट्न आउनुभएको थियो । म्याडमको पनि एपोइन्टमेन्ट रहेछ । उहाँले छोराको उपचार पनि यहीँ गरेको भन्नुभयो । 


२२ मेको दिन दिउँसो १२ बजेदेखि एक बजेसम्म केपीजीले अन्नपूर्ण पोष्टका लागि दिल्लीमै बसेर अन्तरवार्ता दिनुभयो । राति १० बजेदेखि बिहान ५ बजेसम्म बैंककमा कफ्र्यू थियो ।  यसले म्याक डोनाल्डसम्म बन्द भयो । राति डा. गोपाल सिवाकोटी पनि भेट्न आउनु भएको थियो । फोनमा माधव ढुंगेलसँग नेपालमा कुरा गरेँ । केपीजीले गृहमन्त्री बामदेव गौतमजीसँग कुरा गर्नुभयो । 


२३ मे, आज केपीजीको डिस्चार्ज हुने दिन । मनमा एक प्रकारको खुसी छाएको छ । अर्कोतर्फ डर पनि छ । उपचारका क्रममा लागेको सबै रकम भुक्तानीबिना डिस्चार्ज हुँदैन भनेकोले हिजोदेखि नै प्रयास भइराखेको थियो । भुक्तानी सम्बन्धी दिनभरको तनावपछि बल्ल डिस्चार्ज भयो । 


अस्पतालबाट डिस्चार्ज भएर बाहिर आउँदा साँझको साढे ६ भइसकेको थियो । त्यसपछि हामी नेपाली दूतावास सुकुमबिट रोडसोइ ७१ मा आयौँ । यहाँ पनि चैनसँग बस्न नदिनेहरू निस्किए । अस्पतालमै थप समय बस्नुपर्छ भनेर जिद्दी गर्नेहरू पनि निस्किए । हामी आफ्नो निर्णय आफैँ गर्ने भन्दा पनि अरुको इच्छा अनुसार चल्नुपर्ने जस्तो भयो । यसले मलाई बिथोलिरहेको थियो ।

 

दूतावास पुगेर केपीजीलाई अलिकति खानेकुरा दिएर अगाडिको जस्कोमा गएर केही खानेकुरा किनेर ल्याएँ । हतार हतार गरी दाल, भात तरकारी पकाएँ, ख्वाएँ र खाएँ । कोठाभरि छरिएका सामानहरू मिलाएँ । औषधिको काम राजेशले गरे । अन्त्यमा रातको १२ बजेपछि सुतेँ । तर उहाँलाई ट्वाइलेट लानको लागि छिनछिनमा उठिरहनु पर्छ । 


जसोतसो समय बितिरहेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रूपमा तीनदेखि ६ घन्टासम्म फिजियोथेरापीको समय छ । यसरी अस्पताल जाँदा र फर्कदा पनि व्यवधान गरेर समय नष्ट गर्ने मानिसहरू नभएको होइन । यस्तो व्यवधान हुन्छ भनेर नै  कोही साथीहरूले फलोअप सकेपछि बैंककदेखि अलि टाढा गएर बस्ने कि भन्ने कुरा चलाएका थिए । तर विविध कारणले हामीले जाने इच्छा गरेनौँ । 


शुक्रबार डिस्चार्ज भएर फर्केपछि आज बुधबार बिहान साढे ९ बजे अस्पताल पुगेँ । रगत जचाउन दिएँ । मिर्गौलाका डाक्टर सिरासँगको अपोइन्टमेन्ट दिउँसो पौने १२ बजे मात्र भएकोले अस्पतालमै बसिरहेँ । डा. सिरासँग जचाइसकेपछि फेरि अस्पताल भर्ना हुनुपर्ने भनियो । पोटासियम ६ दशमलव ५, क्रेटिना २ दशमलव १ र ड्रगलेभल १२ देखिएकाले भर्ना हुनु परेको हो । डक्टरका अनुसार पोटासियम बढी भएमा मुटुलाई धेरै जोखिम हुन्छ ।

 

बिरामी मर्न पनि सक्छ भनेर डाक्टरले डर देखाए । त्यसपछि सीसीयुमा भर्ना गर्न बेडको खोजी भयो । त्यहाँ नपाएर आइसीयुमा लगेर राखियो । उता अस्पतालको लेखा शाखामा जाँदा तत्कालै दुई लाख भाट जम्मा गर्नुपर्छ भन्यो । हामीले उक्त रकम जम्मा गर्न सकेनौँ । तर, नेपाली दूतावासबाट आएको भनेर भर्ना गर्‍यो । भर्नापछि उहाँलाई आइसीयुको ५२६ नम्बर कोठामा राखेर हामीले फूडकोर्टमा गएर अलिकति खानेकुरा खायौँ । 


त्यसपछि म दूतावास फर्कें । कोठाका छरपस्ट सामान मिलाएँ । फोनबाट उहाँको अवस्थाबारे जानकारी पनि लिँदै गएँ । अर्कोतर्फ मैले फेरि पैसा खोज्नुपर्ने भयो । साँझको रिपोर्टमा सुधार आएको हुनाले उहाँलाई राति पहिलेकै कोठा ११११ ‘ए’मा सार्ने कुरा भएछ । म फेरि अस्पताल गएँ । राजेश र म अस्पतालकै सोफामा सुत्यौँ । भोलिपल्ट डा. सिरा र डा. इन्फेक्सनरी आएर जाँचेपछि आजै डिस्चार्ज हुने भयो ।

 

डिस्चार्ज नभएको भए हामी तनावमै हुन्थ्यौँ । एक दिनको मात्र शुल्क भएकोले पैसा पनि पुग्यो । यसरी २९ मे तदनुसार १५ जेठ २०७१ को गणतन्त्र दिवसका दिन राति फेरि हामी दूतावास आएर बस्यौँ । धेरै थकानले गर्दा दूतावासको कार्यक्रममा जान पनि सकिएन । ३० मे को बिहान फेरि अस्पताल गएर उहाँको रगत जचाइयोे । आजको रिपोर्टमा पोटासियमको मात्रा ५ दशमलव २ आयो । यसपछि उहाँले तीन दिन फलफूल खान बन्द गर्नुभयो । पोटासियम कम हुने खानाको चयन गरी खान दिएँ । यसपल्ट उहाँलाई पोटासियम वृद्धिले सतायो । अस्ति दिल्लीमा पोटासियम नपुग्ने समस्याले सताएको थियो । 


त्यसपछि हामी ३१ मे र १ जुनमा फिजियोथेरापीको लागि अस्पताल गयौँ । दुई जुनमा फेरि परीक्षण गरायौँ । आजको रिपोर्ट अलि राम्रो आएको हुनाले धेरै दिनपछि हामीले आनन्दले स्वाद लिएर खाना खायौँ । 


यसरी ठूलो सङ्कट पार गरी २० जेठ २०७१ को दिन हामी बैंककबाट काठमाडौंँ फक्र्याैं । फर्कदा काठमाडौंको विमानस्थलमा धेरै साथीभाइ र आफन्तहरूले स्वागत गरेका थिए । घर फर्केपछि त्यही साँझ झलनाथजी र विष्णु पौडेलजी भेट्न घरमा आउनुभयो । विष्णुजीले मेरो साहस र धैर्यताको प्रशंसा गर्नुभयो ।

 

भोलिपल्ट मैले काठमाडौंमै उहाँको रगत जचाएँ । रिपोर्टमा के ५ दशमलव ६ देखियो । उहाँले राति पेट र छाती दुख्यो भन्नुभयो । राति डाक्टर दिलिप शर्मालाई लिन पठाएँ । उहाँ आएर हेरेपछि रातको तीन बजेतिर केपीजी निदाउनुभयो । सोमबार डा. दिव्या आएर जाँच गर्नुभयो । 


धेरै दिनपछि २६ जेठ २०७१ को दिन काठमाडौंको कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने भनेर उहाँले दौरासुरुवाल, कोट र टोपी लगाउन खोज्नुभयो । यसबेला मेरा आँखाबाट हर्षका आँशु बग्नथाले । मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन । 


पछि २०७३/०७४ सालतिर उहाँको हर्नियाको अपरेसन गर्न उही बुमरुङगार्ड अस्पताल बैंककमा चार पाँच दिन बसेका थियौँ । उक्त समयमा एउटा औषधि समयमा खान छोड्दा मुटुको चाल बढेर एक दुई घन्टा थप समय ‘अपरेसन पोस्टवार्ड’मा बस्नु परेको थियो । 

(प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’ को अंशबाट)