चीनबाट सुरू कोभिड-१९ को माहामारी घुमीफिरी चिनको छिमेकसम्म मात्रै आइपुगेन मेरो घरैमा आइपुग्यो । तर, यो मेरो घरसम्म आइपुग्दा म मानसिक रूपमा कुनै पनि बेला आइपुग्छ भनेर ‘फेस’ गर्न तम्तयार भइसकेको थिएँ ।
यसलाई सहजै शरीरमा स्वीकार पनि गरेँ । मैले मात्रै होइन घरका चारै जनाले योसँग भिड्यौँ र सँगसँगै हिँड्यौँ पनि । अरुकोमा छँदा भयङ्कर भन्ने र आफ्नोमा आइलागेपछि सहज स्वीकार्ने हो भने जित्न सकिन्छ भन्ने मेरो अनुभव रह्यो ।
कसरी सङ्क्रमित भइयो ?
गत २८ भदौमा घरभित्रै सामान्य दुर्घटना हुँदा मेरो देब्रे गोडा भाँचिन पुग्यो । लगत्तै मेरो गोडामा प्लाष्टर गरियो । त्यस यताका एक महिनाभन्दा बढी समय बैशाखीका भरमा चल्यो । साप्ताहिक रूपमा अस्पताल आउजाउ गर्नुपथ्र्यो । यसअघिको अनुभवमा एकपटक प्लाष्टर गरेपछि महिना दिनमा मात्रै बोलाउने र एक्सरे रिपोर्ट हेरेर प्लाष्टर झिक्ने वा नझिक्ने गरिएको थियो ।
तर, यो पटक ‘भर्खरै पढेका’ डाक्टरले साप्ताहिक रूपमा बोलाएर हैरान पारे । कहिले साहिँला दाइ त कहिले ठुल्दाइसँग अस्पताल आउजाउ गर्थेँ । २१ असोजमा पनि त्यसअघि झैँ अस्पताल गएँ । डाक्टरले गोडा हेरे । एक्सरे गरियो त्यो पनि हेरे ।
यसअघि प्रष्ट एक्सरे त्यस दिन बुझिएन भन्ने डाक्टरले जबाफ दिए । र, टेकुस्थित एउटा निजी अस्पतालको नाम लिएर त्यहाँ आउन र एक्सरे गर्न तथा थप उपचार गर्न सल्लाह दिए । मैले मात्र हस् भनेँ । यो उनको व्यापार जस्तो ठानेँ र अर्को हप्ता आएपछि थप कुरा गरौँला भनेँ । उनी हरेका साता मात्रै त्यो अस्पतालमा आउने ‘हेलमेट डाक्टर’ रहेछन् । धेरैतिर काम भ्याउनेलाई हेल्मेट भन्ने चलन छ । हेल्मेट लगायो बाइक हुँइक्याउने र काम भ्याउने भएकाले हेल्मेटको उपमा दिने गरिएको छ ।
२८ असोजमा अस्पताल गएँ । डाक्टर आएनन् । मलाई अलिअलि खोकी लाग्न थालेको थियो । अस्पतालमा सोधेँ डाक्टर नआउने मात्रै जबाफ पाएँ । प्लाष्टर काटेर हलुका हुने आशामा अस्पताल गएको म भारी मनले घर फर्किएँ । मनले मानेन डाक्टरलाई फोन गरेँ । फोन उठेन । फेसबुक हेरेँ । कोभिड पोजेटिभ भएको सूचना देखेँ । मलाई पनि कोभिडले भेट्यो भन्ने लख काटेँ ।
म गोडा भाँचिएका कारण मेरो सम्पर्क डाक्टरबाहेकसँग नभएकाले शङ्का गरेको हुँ । अरुबाट पनि सरेको हुनसक्छ । अहिले त यत्रतत्र सर्वत्र कोभिडका भाइरस मुख बाएर बसेका झैँ लाग्न थालेको छ । तर, मैले उपचार गराएकै अस्पतालबाट कोभिडका भाइरस मेरो शरीरमा भित्रिएका हुन् ।
हामीमा कोभिड-१९ का लक्षण
कात्तिक लागेपछि ज्वरो आउन थाल्यो । साथीभाइसँग कुराकानी गरेँ । मलाई कोभिड पोजेटिभका लक्षण देखियो भनेँ । ह्या हैन होला । डराउनु हुन्न क्या ! भन्ने साथीहरूको ढाडससँगै कसैले हुनसक्छ भने त कसैले मौसमी रुघाखोकी भन्ने जबाफ दिए । अहिले देशैभर कोभिड विज्ञ छन् । त्यसमा म पनि पर्ने नैँ भएँ ।
नजँचाइ कोभिड भएनभएको ठोकुवा गर्ने नेपाली जनमा अद्भुत क्षमता छ । केही साथीले स्वाद र गन्धका बारेमा सोधे । मैले दुवै ठिक छ भन्ने जबाफ दिएपछि पक्का कोभिड हैन पनि भने ।
सुरूमा मेरो ठूलो छोरो प्रभातप्रकाशलाई ज्वरो आयो । घर छाडेर कहिँ कतै नगएका कारण कोभिड हैन होला रुघा ज्वरो मात्रै होला भन्ने ठानेर ज्वरोको औषधि खुवाउने र बाफ लिने गरियो । सँगसँगै मलाई पनि ज्वरो आयो । त्यस लगत्तै कान्छो छोरो प्रशान्तप्रतिकलाई पनि ज्वरो आयो । अनि मनमा लाग्यो कि मैले अस्पतालबाट कोभिड ल्याएँ । त्यसपछि श्रीमती गीतालाई पनि उस्तै लक्षण देखिए ।
ज्वरोको औषधि, टाउको दुखाइ कम गर्ने औषधि र घरेलु उपचार विधि अपनाइयो । सबै जनामा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, आँखाका गेडी फुत्केला झैँ दुख्ने, जीउ दुख्ने, हड्डी भित्रको भाग दुख्ने, करकर लुछ्ने, घाँटीमा समस्या हुने लक्षण थिए । मलाई भने पखाला पनि चल्यो । मेरो घाँटी बन्दप्राय थियो त्यसको पनि औषधि खाने तथा कुल्ला गर्ने गरेँ । यसबाट मलाई ठूलो राहत भयो । तीन चार दिन अलि गाह्राे भएको थियो । तर, हामी आत्तिएनौँ ।
आइसोलेशनको बसाइ
१३ कात्तिकमा सामाजिक सञ्जाल फेसवुकमा ‘कतिञ्जेल कुनामा कुचुक्क ! कोभिड सङ्क्रमितलाई सान्त्वना दिउँ र कुराकानी गरौँ’ लेखेर पोष्ट गरेँ । त्यसमा मैले मेरो कथा लेख्न खोजेको थिइनँ । त्यसमा त एक्लै बस्न बाध्य सङ्क्रमितको भावना लेख्न खोजेको थिएँ ।
आइसोलेट भएर एक्लै बस्ने सङ्क्रमितलाई मानसिक समस्या हुन सक्ने सम्भावना रहन्छ । जसका कारण कोभिड सङ्क्रमणबाट चाँडो मुक्ति पाउन कठिन हुन्छ । स्वास्थ्य बिग्रिएपछि मुक्त हुन त कठिन हुने नै भयो । शारीरिक स्वास्थ्यभन्दा पनि मानसिक स्वास्थ्य बलियो हुँदा मात्रै कोभिडका भाइरसले हार खान्छन् । हामी त अघिपछि झैँ चारै जना सँगै थियौँ ।
हामी कसैलाई पनि एक्लोपनको महसुस भएन । एकअर्कालाई ख्याल गर्न पनि निकै सजिलो भयो । ज्वरो नाप्ने, औषधि खाने खुवाउने तथा खानेकुरा बनाउने लगायतका काममा सजिलो भयो । जसलाई हल्का महसुस भएको छ उही नै भान्सामा पुग्थ्यौँ ।
हामी किन आत्तिएनौ ?
कोभिड-१९ को दोस्रो सङ्क्रमित नै पुष्टि नभइकन २०७६ चैत ६ गतेदेखि मेरो कार्यालय (इन्सेक)ले वर्क फ्रम होमको सुविधा दिएको थियो । माघ ९ गते पहिलो र चैत १० गते दोस्रो सङ्क्रमित पुष्टि भएपछि नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन गरेको थियो । हामीले २०७६ चैत १९ गतेबाट आज (२०७७ कात्तिक १८ गते) सम्म पनि दैनिक रूपमा इन्सेकअनलाइन डटओआरजीमा कोभिड अपडेट प्रकाशन गरिरहेका छौँ ।
दैनिक रूपमा कोभिडका विषयमा अपडेट हेर्ने गरेकाले यसलाई बुझ्न सहज भयो । त्यसैगरी मैले चार पाँच जना डाक्टरसँग यो बिचमा अन्तर्वार्ता लिएँ । त्यसबाट पनि कोभिड-१९ सँग सम्बन्धित जानकारी हासिल गरी मानसिकता बलियो बनाउन सकियो । यो कुरा ममा मात्रै लागु भएन मेरो परिवारले पनि तत्तत् विषयमा जानकारी लिएर आत्मबल बढाएको थियो ।
कोभिडका बारेमा सत्य के भ्रम के भन्ने विषयमा नियमित रूपमा घरमा सरसल्लाह गर्नु निकै उत्तम हुन्छ । कोभिडसँग तर्केर हिँड्ने भन्दा पनि स्वीकार गरेर भिड्ने तिर लाग्नु पर्ने अवस्था आएको छ । भागेर जहाँ पुगेपनि कोभिडको सङ्क्रमणले एकपटक भेट्ने खतरा उच्च छ ।
स्वाब परीक्षण र नतिजा
दशैँ निकै नजिकिएको थियो । मुलघरमा ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र नियमित रूपमा औषधि सेवन गर्नेहरू छन् । बुबा शतक वरपरको दौडमा हुनुहुन्छ । मलाई कोभिड छ भने त बुबाममीलाई सर्छ दशैँको टिकामा जान भएन भन्ने लाग्यो र एकपटक जँचाएर हेरौँ कोभिड भए नजाने नत्र नेगेटिभको रिपोर्ट बोकेर टिका र आशिर्वादका लागि जाने निधो गरेँ÷ग¥यौँ । ६ कात्तिकमा आनन्दवन अस्पतालमा गएर स्वाब दिएँ । ७ गते शङ्का गरे अनुसारकै पोजेटिभ नतिजा आयो ।
फोनमार्फत जानकारी प्राप्त भएकाले विस्तृत हेर्न पाइएन । टिकटलगायत कम्प्युटराइज्ड सिष्टममा उहिल्यै गइसकेको आनन्दवन अस्पतालले रिपोर्टलाई डिजिटल्ली हेर्ने व्यवस्था भने गरेको रहेनछ । आपूm सङ्क्रमित भएपछि मैले नगरपालिकाका मेयर, वडाध्यक्ष र सरोकारवालालाई जानकारी गराएँ । उहाँहरूलाई सायद दशैँ लागिसकेको थियो मन खुलाएर रेस्पोन्स पाउन सकिनँ ।
नगरपालिकाको सूचना झुटको पुलिन्दा !
गोदावरी नगरपालिकाले ५ कात्तिकमा एउटा सूचना जारी गर्यो । सूचनाको शीर्षक नै ‘पीसीआर परीक्षण निःशुल्क गरिने’ भन्ने थियो । मलाई पनि लक्षण देखिएको थियो । परीक्षणको तयारी मै थिएँ । नगरपालिकाले निःशुल्क गर्ने भएपछि यसको प्रयोग गरौँ न त भनेर सबैभन्दा पहिला मेयरलाई फोन गरेँ ।
उहाँको फोन नउठेपछि उहाँको सहयोगी मित्रलाई फोन गरेँ । उहाँले आज मात्रै भएको निर्णय भएकाले प्रक्रिया बुझेर फोन गर्ने बताउनु भयो । ५-७ मिनेटभित्रै फोनको घण्टी बज्यो । प्रक्रिया थाहा भयो । त्यो प्रक्रियाबाट मेरो परीक्षण गर्न साता दिन लाग्ने लख काटेँ । (विदाका कारणले सात दिन भनिएको हो नत्र त तीन दिन जति लाग्छ ।)
मैले नगरपालिकाका प्रवक्तासँग पनि कुरा गरेँ । उहाँले केही वादविवाद र संवादपछि कन्ट्याक ट्रेसिङ टिमका स्वास्थ्यकर्मीको सम्पर्क नम्बर दिनु भयो । कुरा राखेँ । काम नहुने छाँट देखेपछि कात्तिक ६ गते आनन्दवन अस्पताल पुगेँ । फुलपातीको दिन टेलिफोनमार्पmत मेरो परीक्षणको नतिजा आयो ।
नतिजा आएपछि पहिलो फोन नगर प्रमुखलाई नै गरेँ । घरका अन्य सदस्यमा पनि लक्षण छ भन्ने सूचना दिएँ । कन्ट्याक ट्रेसिङ टिमका स्वास्थ्यकर्मीसँग पनि बातचित गरेँ । जानकारी गराएँ । मेरो कुराको खासै सुनुवाइ भएन ।
५ कात्तिकमा नगरपालिकाले जारी गरेको सूचना आफैँमा नराम्रो थिएन तर आनन्दवन अस्पतालसँग सामान्य कुरा गरेकै भरमा दशैँ विदाको पूर्व सन्ध्यामा निकालिएको कारण एक साता कामयावी हुन सकेन । जसका कारण यो सूचना थाहा पाउनेहरू भ्रममा पर्नु पर्यो ।
२०-२५ पटक विभिन्न व्यक्तिलाई फोन गरेपछि बल्ल १३ कात्तिकमा कन्ट्याक ट्रेसिङका लागि नगरपालिकामा बोलाइयो । श्रीमती र दुवै छोरा गए । तर, नगरपालिकामा बोलाएर अलि पर अस्पताल अगाडि बीच सडकमा स्वाब लिने काम भयो ।
मानिस ओहोरदोहोर गरिरहेकै छन् स्वाब सङ्कलन पनि सँगसँगै ! झर्की र फर्कीकाबीच स्वाब दिएपनि रिपोर्ट कहिले आउँछ भन्दा उत्तर समेत दिएनन् ।
भोलिपल्ट आनन्दवन अस्पतालमा फोन गरी रिपोर्टको जानकारी लिइयो । प्रकाशित सूचना, जनप्रतिनिधिको रेस्पोन्स र कर्मचारीको काम गराइमा तादम्यता कतै देखिँदैन । मेरै छोराहरूको स्वाब परीक्षण भएको १३ कात्तिकमा हो रिपोर्ट १७ गते आयो । तर, नगरपालिकाका मेयर सञ्चारमाध्यममा २४ घण्टामा नै रिपोर्ट आउँछ भनिरहनुभएको छ ।
सोध्यो भने प्राविधिक कारणले गर्दा ढिलो भएको भन्ने उत्तर आउँछ । जुन सर्वथा गलत छ । गडबडी व्यवस्थापनमा हुने अनि दोष प्राविधिकलाई ! एकैदिन दिएको स्वाबमा पनि कसैको रिपोर्ट आउने र कसैको नआउने हुन्छ भने व्यवस्थापकीय पक्षको कमजोरी मान्नु पर्छ ।
अस्पतालको लापरवाही उस्तै !
बल्लतल्ल १३ कात्तिकमा स्वाब त पठाइयो तर सँगै पठाएको स्वाबमध्ये श्रीमती गीताको रिपोर्ट १४ गते प्राप्त भयो । अस्पतालले टेलिफोनमार्पmत प्रारम्भिक रिपोर्ट दिन्छ । सोही अनुसार रिपोर्ट प्राप्त भयो । एक जना स्वास्थ्यकर्मीले फोनमार्पmत जानकारी गराएसँगै छोराहरूको रिपार्टबारे बुझेँ ।
१५ मिनेटपछि मात्रै भन्न सक्ने प्रतिक्रिया आएपछि सोही अनुसार मैले नै फोन गरेँ । दुवै छोराको रिपोर्ट नेगेटिभ आएको ति स्वास्थ्यकर्मीले बताए । घरमा सरसल्लाह गर्यौँ । हामी श्रीमानश्रीमतीको भन्दा कडा लक्षण देखिएका छोराहरूको चाहिँ किन नेगेटिभ ? १६ गते अस्पतालमा कार्यरत अर्का स्वास्थ्यकर्मीलाई फोन गरेँ । उहाँले भन्नुभयो-‘तपाइँका छोराहरूको स्वाब परीक्षण गर्न नै बाँकी छ । अस्ति जे सूचना आयो त्यो गलत हो । त्यसका लागि माफी चाहन्छौँ । स्वाब परीक्षणपछि यहाँलाई खबर आउँछ ।’ रिसको पारो तात्यो ।
तातेर के गर्नु ? आफैँलाई सम्हालेँ । लगातारको समन्वयका कारण १७ कात्तिकमा रिपोर्ट प्राप्त भयो त्यो पनि पोजेटिभ ! ल्याबमा काम गर्ने २-३ जनासँग यो बिचमा बाक्लै कुरा भयो । उहाँहरूले गल्ती स्वीकार गरी माफी नै मागिसकेपछि मानवीय त्रुटिका रूपमा हामीले बुझ्यौँ ।
एउटा फोनको घण्टीले कसो हाम्रो परिवारका धेरैभन्दा धेरैमा कोभिड सङ्क्रमण सरेन । छोराहरूको रिपोर्ट नेगेटिभ आएपछि हजुरबुबा हजुरआमाकोमा पठाउने कि ठूलो बुबाकोमा पठाउने भनेर छलफल गर्यौँ । तर, निश्कर्षमा लक्षण पनि भएको हुनाले कतै नपठाउने र केही आइसोलेट गरी सँगै राख्यौँ । अन्यत्र पठाएको भए कोभिड सङ्क्रमण भुसको आगो झैँ सल्कन्थ्यो ।
अवसरबाट चुक्दै स्थानीय सरकार !
कोभिड-१९ को महामारी स्थानीय सरकारलाई सबल बनाउनका लागि भूकम्पपछि ठूलो अवसर थियो । अझैँ पनि छ । तर, निर्वाचित जनप्रतिनिधि यो अवसरलाई खेर फालिरहेका छन् ।
कोभिड-१९ को सङ्क्रमण व्यवस्थापनमा केन्द्रीय सरकार फेल उन्मूख भइरहँदा स्थानीय सरकारमा नागरिकको भरोसा केन्द्रीत थियो । स्थानीय सरकारको सेवा लिन एक सर्वसाधरणलाई निकै कठिन हुने मेरो बुझाइ रह्यो । जनप्रतिनिधि एकएक भोटको हिसाबमा र कर्मचारी जागिर पकाउन तल्लीन छन् । यो आरोप मात्रै होइन ममाथि भएको व्यवहारको प्रतिक्रिया हो ।
स्थानीय सरकारका प्रतिनिधिलाई लक्षणसहितको सङ्क्रमण भएकाले स्वाब सङ्कलनका लागि आग्रह गर्दा नगरपालिकासम्मै बोलाइयो । लक्षण भएका व्यक्ति बाटोमा जति सुरक्षित भएर हिँड्दा पनि खतरा रहन्छ नै ! यदि त्यस्तो खतरा नहुने हो भने त पोजेटिभ रिपोर्ट आएका व्यक्ति पनि सडकमा उत्रिए भइगयो नि ! मेरो मतलब लक्षण देखिएका व्यक्तिलाई सरकारले रिपोर्ट नआएसम्म सङ्क्रमित सरह व्यवहार गर्नुपर्छ भन्ने हो । तर, कुनै पदीय हैसियत भएको व्यक्ति र व्यापारीले एक कल फोन गरेका भरमा लक्षण नभएका व्यक्तिको घरैसम्म पुगेर स्वाब लिएका घटना हामी सामुन्नेमा छन् ।
जसरी भूकम्पपछिको व्यवस्थापनमा स्थानीय सरकारले राजनीतिक रूपरङ्गमा राहत दिने र लाभग्राहीको सूची बनाउने काम गर्यो अहिले ठ्याक्कै त्यही बिग्रिएको बाटोमा स्थानीय सरकार अघि बढेको छ । जनप्रतिनिधिलाई केही आलोचनात्मक सुझाव दियो भने तीन हात उफ्रेर नकारात्मक टिप्पणी गर्ने भन्छन् । डोजर गुडाउनुलाई मात्रै विकास भन्ने चेत भएका कतिपय सर्वविज्ञ ठान्छन् । जुन निकै गलत छ ।
बाआमाबाट टिका नलगाएको पहिलो दशैँ
दशैँको फुलपातीको दिन नतिजा आएपछि बुबाममीसँग टिका लगाउने कुरा त रोकियो नै ! परिवारका अन्य सदस्यलाई पनि कतै पठाउने कुरै भएन । परीक्षण मेरो मात्रै गरेपनि लक्षण सबैमा थियो । दशैँको टिकामा अघिपछि भन्दा बढी नै चहलपहल थियो । घरको छतबाट बाहिर हेर्थेँ मान्छेहरू निधारमा टिका र कान तथा कपालमा जमरा सिउरेर ओहोरदोहोर गरिरहेका थिए ।
साइतमा नै चार जनाले आलोपालो टिका लगायौँ । यसपालीको दशैँ चार जनामा नै सीमित भयो । बुबाममीको हातबाट टिका र आशिर्वाद ग्रहण गरेर फर्केपछि साइला दाइ दिपकको मनले त्यसै बस्न मानेन होला सायद । (हामी दुई भाइको घर सँगसँगै छन् ।) टिका लगाइदिन्छु भन्नु भयो । मैले होस् पर्दैन सङ्क्रमण सर्ने खतरा हुन्छ भनेँ । केही हुँदैन ल आइज भनेर बोलाउनु भयो । म घरको गेटसम्म झरेँ । दाइ पनि आउनु भयो । उभिएरै टिका लगाइयो ।
दुवैका मुख मास्कले छोपिएका आँखामा चस्मा ! पञ्जा लगाएरै भएपनि टिका नलगाइ दाजूको मन मानेन । मैले जानेदेखि यहि वर्ष हो बुबाआमाको हातको टिका नथापेको । घरमा जुठो वा सुतक परेका बेलाबाहेक पहिलोपटक बुबाममीको हातको टिका बिना नै दशैँ सकियो
यस्ता खालका दशैँ अनुभव यो वर्ष अरु पनि धेरै सङ्क्रमितको भयो होला । खैर केही छैन दशैँ त अर्को वर्ष पनि आउँछ । यो वर्षको हुन नसकेको रमाइलो आगामी वर्षमा गरौँला । छोराहरू पनि बुझ्ने भइसकेकाले आगामी वर्षको दशैँ मानेर रमाउने कुरामा सहमत भइहाले ।
कोभिड सङ्क्रमितले के गर्ने ? मेरो सुझाव
भाइरससँग लड्ने ठूलो शक्ति चाहिँ आत्मबल र आत्मविश्वास नै हो । आत्मविश्वास बलियो हुँदा आधा रोग जितिन्छ । आराम गर्ने अर्को ठूलो औषधि हो । आहारमा विशेष ध्यान दिँदा शरीरमा शक्ति प्राप्त हुन्छ र कोभिडसँग जित्न सकिन्छ ।
शरीरमा प्रशस्त पानीको मात्रा पुर्याउने र शरीरलाई तातो राखिरहने गर्दा कोभिडसँग भिड्नका लागि शक्ति आउँछ । यति मात्रै होइन ज्वरो आउँदा ज्वरोको औषधि, खोकी लाग्दा खोकीको औषधि खाने गर्नुपर्छ । कोभिड-१९ का भाइरससँग आत्तिने र मात्तिनेलाई बढी समस्या हुन सक्छ । बेलैमा सचेत बनौँ ।
कोभिड-१९ कम नआकौँ
कोभिड-१९ केही होइन भन्नेका लागि मैले फेसबुकमार्पmत जे पनि हो है सचेत रहौँ भनेको थिएँ । यसलाई कम आँक्नेहरू पछुताइरहेका छन् । समयमा नै सचेत बन्नेहरू मृत्युलाई जितेर घर परिवारमा खुसी बाँडिरहेका छन् । मैले पनि कम आँक्ने काम गरिनँ भने आत्तिने भन्ने त कुनै गुञ्जायस आएन ।
फेसबुकतिर प्रधानमन्त्रीको अभिव्यक्तिलाई बेसारे भन्नेहरूले नै लुकीलुकी बेसार पानी खाएको मलाई थाहा थियो । कोभिड केही होइन भन्नेहरू महिनौँ भित्र लुकेर बसेको पनि थाहा थियो । मास्क विरोधी हुँदाहुँदै पनि नाकमुख रुमालले छोपोर हिँडेको पनि भेटेको थिएँ ।
सामाजिक सञ्जालमा सचेतना फैलाउनुको साटो आतङ्क मच्चाउनेहरू आफैँ आतङ्कित भइरहेका छन् । त्यसैले कोभिड-१९ एउटा महामारी हो योसँग नआत्तिउँ तर सचेत बनौँ । यसैमा सबैको कल्याण छ ।