close

कोरोना महामारी र  नमोबुद्धकाे सिकाइ

जहाँ विद्यार्थी, त्यहाँ विद्यालय

कोरोना महामारी र  नमोबुद्धकाे सिकाइ

जहाँ विद्यार्थी, त्यहाँ विद्यालय

Trulli
ADVERTISEMENT

विषय प्रवेश


९ महिनाअघि कोरोना संक्रमणका संकेतहरू देखापरेपछि अहिले विश्व अहिले महामारीको चपेटामा परेको छ । महामारीका कारण नेपालका उद्योग, व्यापार व्यवसाय, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्र नराम्ररी प्रभावित भएका छन् । विश्व नै आर्थिक मन्दीको सिकार हुने अवस्था छ । मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि गम्भीर अवस्था सिर्जना भएको छ । 

 

राष्ट्रिय प्रयास


महामारीको प्रभाव वृद्धिसँगै नेपाल सरकारले ०७६ चैत ११ बाट लकडाउन घोषणासँगै प्रभावित भएका क्षेत्रमध्ये शिक्षा पनि हो । शिक्षा अरु क्षेत्रभन्दा फरक पहिचान र संवेदनशील छ । योसँग बालबालिका र युवाको ज्ञान र सीप जोडिएको छ । देशको भविष्य जोडिएको छ ।

 

लामो लकडाउनपछि सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, ०७७ जेठमा लागू गरे पनि त्यो परिमार्जन गर्नुपर्ने अवस्थाले पुनः ०७७ भदौ १९ मा मन्त्रीस्तरीय निर्णय गरी जारी गरेको छ । यसले विद्यार्थीको पहुँचको आधारमा वर्गीकरण गरी विभिन्न वैकल्पिक विधिहरूको प्रयोग गरेर सिकाइ सहजीकरण गर्न दिशा निर्देशसहित विभिन्न निकायको भूमिका के हुने भन्ने प्रस्ट पारेको छ ।


निर्देशिकाको दफा ३३ को उपदफा २ र ३ ले क्षेत्र विशेषमा प्रत्यक्ष सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिने उल्लेख गरेको छ । यो व्यवस्थाले स्थानीय तह र स्थानीय तहका वडा क्षेत्रसमेतलाई शिक्षा क्षेत्रका लागि महामारीविरुद्ध एकजुट भई लड्न जिम्मेवार बनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्चुअल शिक्षण सामग्री र विद्यार्थी स्वाध्यायन सामग्री विकास गरी वेबसाइट, युट्युबमा राख्ने तथा रेडियो र टेलिभिजनबाट निरन्तर कार्यक्रम प्रसारण गरिरहेको छ । प्रविधिमा पहुँच हुने विद्यार्थीहरूले यसबाट लाभ लिन सक्ने अवस्था छ ।


सरकारले लकडाउन सुरु गरेयता कोभिडको महामारी कम गर्न क्वारेन्टाइन, आइसोलेसन निर्माण, प्रभावितको उपचार, दैनिक जीवनयापनका लागि राहत वितरणजस्ता काममा संघीय सरकारसँगै स्थानीय तहलाई अब शैक्षिक क्रियाकलापका लागि सिकाइ सहजीकरण गर्ने दायित्व नीतिगत रुपमै जिम्मेवारीमा परेको छ ।

 

देशभर जेठ मसान्तसम्म विद्यालय सञ्चालन तथा विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलाप अवरुद्ध रहेको अवस्थामा शिक्षा मन्त्रालयबाट जारी  विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, ०७७ अनुसार सिकाइ क्रियाकलाप भइरहेकामा विभिन्न क्षेत्रमा पुनः देखिएको कोभिड संकेतका कारण विशेषतः काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रमा साउन अन्तिम साताबाट भदौ मसान्तसम्म निरन्तर रुपमा विद्यालय सञ्चालन तथा विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित भइरहेको थियो ।

 

नगरपालिकाले व्यवस्थित क्वारेन्टाइन तथा आइसोलेसन वार्ड सञ्चालन गरी प्रभावित तथा संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने र पोजेटिभ केश भएकालाई आइसोलेसनमा राखी व्यवस्थित गरिरहेको अवस्था छ ।


नगरपालिकाभित्र देखिएका केही  घटनाबाहेक नमोबुद्ध महामारीका कारण त्यति बढी प्रभावित देखिँदैन । तर, बीपी राजमार्ग, नमोबुद्ध मन्दिरजस्ता पर्यटन क्षेत्रका कारण प्रभावित हुने सम्भावना त्यत्तिकै छ । स्थान विशेषमा अवस्था फरक–फरक भए पनि यो विषम परिस्थितिमा समेत बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हुने सबैले स्वीकारेको अवस्था हो ।

 

नगरको प्रयास 


लकडाउन सुरु भएयता नमोबुद्ध नगरपालिका क्षेत्रमा ०७७ असार १ बाट वैकल्पिक विधि जस्तै, रेडियोबाट पाठ प्रसारण, सिकाइ केन्द्र निर्धारण गरी सिकाइ, टोल सिकाइ, प्रदेश तथा केन्द्रीय तहबाट रेडियो तथा टेलिभिजनबाट प्रसारण हुने शिक्षण सिकाइका कार्यक्रम चलिरहेका छन् । 


हेर्ने, सुन्ने र सिक्ने साथै कक्षा १ देखि १० सम्मका विद्यार्थीको हातहातमै निःशुल्क पाठ्यपुस्तक अनि बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई अभिभावकको सहयोगमा गर्ने क्रियाकलापको पुस्तिका वितरण गरी घरघरमा सिकाइ वातावरण निर्माणजस्ता अभ्यास लागू गरियो ।

 

नगरपालिका क्षेत्रभित्र पुनः फाट्टफुट्ट रुपमा देखिएको कोभिड संकेतले अनलाइन सिकाइ सञ्चालनमा रहे पनि साउन अन्तिम साताबाट भदौ मसान्तसम्म टोल र सिकाइ केन्द्रमा प्रत्यक्ष सिकाइ हुन सकेन । नमोबुद्ध क्षेत्रभित्रका बालबालिकाहरूले यस्ता शैक्षिक कार्यक्रमबाट केही लाभ लिए ।

 

नगरपालिकाले विभिन्न सहयोगी हातहरू  सेभ द चिल्ड्रेन, नाङसाल एसोसिएसन र रोशी गाउँपालिकाबीच सहकार्य गरेर सञ्चालन गरेको रेडियो शिक्षण कार्यक्रम विद्यार्थीका लागि उपयोगी हुँदाहुँदै पनि पहुँचको कारणले सोचेअनुरुप प्रभावकारी हुन सकेन ।

 

यसबाट प्रविधि र अन्य वैकल्पिक विधि यस नगरपालिकाको परिवेशमा सफल बनाउन थप प्रयास गर्नुपर्ने देखिएको छ तर न्यून आर्थिक स्रोतका कारण चुनौतीपूर्ण छ । शिक्षकहरूका लागि कक्षा १–३ को एकीकृत पाठ्यक्रमसम्बन्धी ३ तीन दिनको पाठ्यक्रम प्रवोधीकरण कार्यक्रमसमेत नगरपालिकाले अनलाइनबाट सञ्चालन गरिसकेको छ ।

 

अबको योजना


शिक्षा मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, ०७७ परिमार्जन गरी पुनः भदौ १९ मा जारी गरेपछि नगरपालिकाले २८ भदौदेखि वडास्तरमा विद्यालय, जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक र सरोकारवालासमेतको सहभागितामा छलफल कार्यक्रम चलाएको थियो ।

 

उक्त बैठकमा प्राप्त निष्कर्षका आधारमा विद्यालयबाट तयार गरी नगरपालिकामा प्राप्त सिकाइका लागि पेस गरिएका मोडालिटीको आधारमा र विद्यार्थीको शिक्षण सिकाइ सहजीकरणका लागि विभिन्न समयका सरोकारवालासँगको प्रत्यक्ष र भर्चुअल छलफलबाट परिस्थितिको विश्लेषण गरियो ।


यो निर्देशिकाबाट निर्दिष्ट सिकाइ सहजीकरणका तौरतरिका र स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी विद्यालय सञ्चालन गर्न अर्थात् जहाँ विद्यार्थी त्यहाँ विद्यालयको अवधारणालाई आत्मसात् गर्दै सिकाइ केन्द्रहरू निर्धारण गरी कार्यविधिको आधारमा सिकाइ सहजीकरण कार्य सञ्चालन गर्ने योजना नगरपालिकाको छ ।


कसरी गर्ने  ?


विद्यालयले विद्यालयमा उपलब्ध विषयगत शिक्षकको छलफलबाट कक्षागत रुपमा पाठ्यक्रम र पाठ्यपुस्तकमा व्यवस्था गरिएका पाठ्यवस्तुलाई आवश्यकताअनुसार पाठ्यक्रम विकास केन्द्रले जारी गरेको पाठ्यवस्तु संयोजनका आधारमा समायोजन गरी शिक्षणको योजना तयार गरेर लागू गर्न सक्नेछ ।

 

यसरी योजना गर्दा महत्वपूर्ण पाठ र विषयवस्तु, जुन माथिल्लो कक्षासँग अन्तरसम्बन्धित र जीवनोपयोगी छन्, ती विषयवस्तु नछुट्ने गरी योजना गर्नुपर्नेछ ।


पाठ्यक्रम विकास केन्द्रबाट तय गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार शिक्षकले चैतको दोस्रो सातासम्मको समग्र पाठयोजना र क्रियाकलापसहितको दैनिक पाठयोजना तयार गरी पठनपाठन गर्ने व्यवस्था विद्यालय र शिक्षकहरूले गर्नुपर्नेछ ।


विद्यालयहरूले अब संघीय सरकारबाट जारी निर्देशिका मापदण्ड निर्माण र सोअनुसारको कार्यतालिका तयारी, सहजीकरण र समन्वय, पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसारको कार्ययोजना र पाठयोजना,  अनलाइन कक्षा सञ्चालनको तयारी, विद्यार्थीको लागि सामग्री उत्पादन, संकलन र वितरण, नेट व्यवस्था, स्थानीय शिक्षक अभिभावकसँग समन्वय र सिकाइ मोडालिटी तयार, अभिभावक सचेतना , समन्वय र समन्वय, विद्यालय हाता सरसफाइ, हातधुने साबुनपानीको व्यवस्था सिकाइ सामग्री व्यवस्थापन, सिकाइ केन्द्र व्यवस्थापन,  सिकाइ सहजीकरण र त्यसको अनुगमन तथा सहयोग गर्नुपर्छ ।


विद्यालय भन्नाले शिक्षक विद्यार्थी र विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ र अभिभावकसमेतलाई बुझ्नुपर्दछ । 


सिकाइ सहजीकरणका लागि शिक्षक र अभिभावकको प्रमुख भूमिका रहन्छ । पाठ्यवस्तु समायोजन गरेर पनि शैक्षिक सत्र पूरा गर्ने शिक्षा मन्त्रालयको योजना रहेकाले शिक्षकले निम्न कार्य गर्नुपर्ने हुन्छ :

 

  • पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार शैक्षिक योजनाहरू निर्माण
  • शैक्षिक सामग्री निर्माण
  • सिकाइ अभ्यासका लागि सिकाइ सिटहरू निर्माण 
  • अभिभावकसँग स्वास्थ्य मापदण्ड पालन र बालबालिकाहरूलाई व्यस्त बनाउन के गर्न सकिन्छ भन्नेबारे छलफल 
  • सिकाइ केन्द्रमार्फत स्वास्थ्य मापदण्ड पालना गर्दै सिकाइ क्रियाकलाप सञ्चालन 
  • फेसबुक वा अनलाइन सामग्रीमार्फत समय तोकी अडियो/भिजुअल कक्षा चलाउन 
  • बालबालिकाको सिकाइका लागि अनलाइनमा भएका सामग्री खोजी गरी विद्यार्थीलाई पठाउन 
  • समुदायमा समूह बनाई स्थानीय योग्य व्यक्तिको सहायता लिई बालबालिकाको हालसम्मको सिकाइको अवस्था पहिचान गरी सहजीकरण गराउन 
  • कार्यपत्र र कार्यक्रम बनाएर विद्यार्थीहरूलाई उपलब्ध गराउने र कार्य समाप्तिपछि परीक्षण र मूल्यांकन 

 

आफ्ना बालबालिकाको सिकाइ र मानसिक स्वास्थ्यलाई ध्यान दिन अभिभावक सधैं तत्पर रहनुपर्दछ । झन् अहिले अवस्था अभिभावकलाई थप चुनौतीपूर्ण रहेकााले अभिभावकले  निम्न कार्य गर्नुपर्दछ :

 

  • बालबालिकालाई घरको काम सिकाउने 
  • घर र घर वरपर सरसफाइमा सहयोग गराउने
  • स्वास्थ्य सुरक्षाबारे सिकाउने र अभ्यास गराउने
  • हालसम्म सिकेका कुराहरूलाई घरमा प्रयोगात्मक सीपका रुपमा प्रयोग गराउने 
  • नयाँ–नयाँ सिर्जनात्मक क्रियाकलाप गराउन उत्प्रेरित गर्ने
  • बालबालिकालाई विद्यालयको समय तालिका बनाई सोहीअनुसार क्रियाकलाप गर्न उत्प्रेरित गर्ने
  • आफ्नो संस्कार र रीतिथिति सिकाउने 
  • सिकाइ केन्द्र वा घरबाहिर जाँदा बालबालिकालाई मास्क व्यवस्था गर्ने
  • बालबालिकासँग कुराकानी गर्ने, खेल खेल्ने, रमाइलो गर्ने छलफल गर्ने


बालबालिकाको आफ्नै बुझाइ हुन्छ । बालबालिकामा पनि आत्मसम्मान हुन्छ । उमेर र अनुभवले साना भए पनि उनीहरूको हालसम्मको सिकाइ, अनुभव र ज्ञानलाई कम आँक्न सकिँदैन । अतः अभिभावक र शिक्षकको सहायतामा बालबालिकाहरूले निम्न कार्य गर्नुपर्दछ :

 

  • घरको काममा सघाउ पुर्‍याउन र घर वरिपरि सफाइ गर्न
  • स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न 
  • पुराना पुस्तकबाट जीवनपयोगी सीपलाई व्यवहारमा प्रयोग गर्न
  • आफ्ना परिवारसँग सामाजिक, सांस्कृतिक कुराहरू सिक्न
  • करेसाबारीमा सिर्जनात्मक कार्य गर्न
  • तालिका बनाई नियमित रुपमा पठनपाठन अगाडि बढाउन
  • प्रसारित पाठ्यसामग्री सक्रिय रुपमा सुन्न र दिइएका कार्य गरी सम्बन्धित शिक्षकलाई बुझाउन
  • पारिवारिक पेसा, व्यावसायिक सीप सिक्न र सिर्जनात्मक कार्यहरू गर्न
  • प्रकृतिसँग रम्न र सिकाइ गर्न

 

निष्कर्ष


लकडाउन लामो हुने अवस्थामा देखा परेको अहिलेको अवस्थामा तीन तहकै सरकारले बालबालिकाको मानसिक स्वास्थ्य र  सिकाइलाई प्राथमिकतामा राख्नुपर्दछ । स्वस्थ शरीर र मनले मात्र स्वस्थ क्रियाकलाप गर्न र सोच्न सक्छ । अहिलेको अवस्था मानसिक स्वास्थ्यसम्बन्धी परामर्श आवश्यक भइसकेको छ । बालबालिको सिकाइका लागि सारांशमा निम्न कार्य गर्न सकिन्छ :

 

  • बालबालिका तथा आमाको मनोसामाजिक अवस्थाको पहिचान गरी परामर्शको व्यवस्था गर्ने 
  • विद्यार्थीको सिकाइ सामग्रीको पहुँचको अवस्था पहिचान गर्ने
  • विद्यार्थी रहेको स्थानमा स्वयंसेवक परिचालनका लागि योग्य सिकाइ स्वयंसेवक खोजी गर्ने, अभेलेखीकरण गर्ने र आवश्यकताअनुसार परिचालन गर्ने
  • सिकाइ केन्द्रको व्यवस्था गर्ने
  • सिकाइ केन्द्रको स्वास्थ्य मापदण्ड पूरा गर्न सिकाइ केन्द्रको सरसफाइ र साबुनपानीले हात धुने व्यवस्था
  • सिकाइ मोडालिटी (प्रविधि प्रयोग गरी अनलाइन/अफलाइन सिकाइ, टोल सिकाइ, सिकाइ केन्द्रमा सिकाइ) तयार
  • सिकाइ सामग्री तयार गरी विद्यार्थीसम्म पुर्‍याउन र सोही सामग्रीको आधारमा अनलाइन सिकाइ व्यवस्थापन गर्न
  • सिकाइका लागि आवश्यक रेडियो, कम्प्युटरसहितको सिकाइ केन्द्र व्यवस्था गर्ने
  • अनलाइन सिकाइ सामग्रीको स्रोत विद्यार्थीलाई उपलब्ध गराउन
  • उत्पादित सिकाइ सामग्री उपलब्ध गराउने, सिकाइ सामग्री उत्पादन गर्ने 
  • विभिन्न विषयमा परियोजना कार्य दिन र सो गर्नलाई अनलाइन सहायता प्रदान गर्न 
  • बालबालिकाले सिकाइ गरेका विषयवस्तु र सीपको परीक्षण गर्न 

 

बालबालिकाको सिकाइ देशको भविष्यसँग जोडिएको विषय हो । सिकाइ अवरुद्ध हुँदा बालबालिका र अभिभावकसमेतको मानसिका स्वास्थ्यमा असर पर्दछ । यसले देशको समग्र विकास अर्थात सामाजिक, शारीरिक, मानसिक, बौद्धिक, आर्थिक  विकासमा समेत असर पर्दछ ।

 

अतः बालबालिकाको सिकाइ योजनाबद्ध रुपमा सुचारु गर्न स्वास्थ्यका सबै मापदण्ड पूरा गरी सबै विधिहरू प्रयोग गर्न ढिला गर्नु भनेको देशलाई पछाडि धकेल्नु हो । अब हामी कति पछि धकेलिने हो, मनन गरी योजनाबद्ध रुपमा कोरोनासँगै गतिशील हुन तयार रहनुपर्दछ ।


( लेखक शर्मा नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख हुन् )