close

वीरेन्द्रनगरमा 'हाट बजार’ सञ्चालन

वीरेन्द्रनगरमा 'हाट बजार’ सञ्चालन

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘हाट बजार’ सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेको कृषि उपज बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले वडा नं १० मा हाट बजार सञ्चालनमा ल्याएको हो । 

रू १० लाख लगानी गरेर सञ्चालनमा ल्याइएको उक्त हाट बजारको शुक्रबार नगर प्रमुख मोहनमायाँ ढकालले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।    कार्यक्रममा उनले लामो प्रयासपछि हाटबजार सञ्चालनमा ल्याउन सकेको उल्लेख गर्दै यसले बजार व्यवस्थापनसँगै कृषकलाई सम्मान हुने विश्वास व्यक्त गरे । उनले कृषि उत्पादनमा जोडिएर आत्मनिर्भर हुनका लागि हाट बजार प्रभावकारी माध्यम बन्ने बताए ।

    प्रमुख ढकालले भने, 'यो हाटबजारले कृषकलाई आफ्ना उत्पादन आफैं बेच्न सहज भएको छ, हामी उत्पादनका साथै सहज बजारीकरणमा जोड दिनुपर्छ अनि मात्रै आत्मनिर्भर हुन सक्छौँ ।' उनले वडा नं १ र २ लाई समेटेर कृषि हाटबजार सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । नगरपालिकाले कृषि क्षेत्रबाट पालिकालाई आत्मनिर्भर बनाउँदै स्वरोजगार सिर्जना गर्ने नीति लिएको बताउँदै नगरप्रमुख ढकालले थप वडामा पनि हाट बजार सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले अहिले मानिस उत्पादन गर्ने भन्दा किनेर खाने बढी भएकाले पनि कृषि पेसामा लाग्ने किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताए । उनले कम्तीमा आफूलाई पुग्नेगरी कौसीमा भए पनि खेती गर्नेतर्फ अग्रसर हुन स्थानीयलाई सुझाव दिए ।

    वीरेन्द्रनगर नगरपालिका–१० का वडाअध्यक्ष डिलबहादुर रखालले आफ्नो कार्यकालभरि कृषि क्षेत्रबाट समृद्धिका आधार तय गर्ने बताए । हाटबजारको उद्घाटन कार्यक्रममा कृषक समूह, कृषक महासङ्घ, टोल विकास समितिका पदाधिकारी, स्थानीय कृषकलगायतको सहभागिता थियो । हाटबजार हरेक दिन खुल्ला रहने र स्थानीय उत्पादनको किनबेच हुने नगरपालिकाले जनाएको छ ।