close

सामुदायिक विकास कोषको ५० प्रतिशत रकम नगरपालिकालाई हस्तान्तरण

सामुदायिक विकास कोषको ५० प्रतिशत रकम नगरपालिकालाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका विभिन्न सहकारी संस्थाले सामुदायिक विकास कोषको रकम नगरपालिकालाई हस्तान्तरण गरेका छन्। बिहिबार लोकेश्वर बचत तथा ऋण संस्था, ख्वप बचत तथा ऋण सहकारी संस्था र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्थाले रकम हस्तान्तरण गरेका हुन्। 

सहकारीमा जम्मा भएका सामुदायिक विकास कोषको ५० प्रतिशत रकम सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीले बिहिबार नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन्। पालिकालाई सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको निश्चित रकम बुझाएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै संकलित रकम जनताको हितमा प्रयोग गरिने नगर प्रमुख प्रजापतिले प्रतिबद्धता जनाएका छन्।

लोकेश्वर बचत तथा ऋण संस्थाले रु ९१ हजार ५००, ख्वप बचत तथा ऋण सहकारी संस्थाले रु ९ हजार ९८४ र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्थाले रु ८६ हजार ८२४ रकम हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।

भक्तपुर नगरपालिकाले नगरबासीहरुको लागि ख्वप अस्पतालबाट निःशुल्क अक्सिजन र रगत वितरण तथा विपन्न नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ। त्यसलाई निरन्तरता दिन भक्तपुर नपाले सहकारी संस्थाको सामुदायिक विकास कोषको प्रयोग गर्ने उद्येश्यले सहकारीका प्रतिनिधिसँग बैठक बसेको नगरपालिकाले जनाएको छ। सोही बैठकको निर्णयबाट सहकारी संस्थाहरुमा जम्मा भएको सामुदायिक विकास कोषको ५० प्रतिशत रकम  नगरपालिकालाई हस्तान्तरण गर्ने तय भएको थियो। 

निर्णयअनुसार पालिकाभित्रका सहकारी संस्थाहरुले नगरपालिकाको खातामा सामुदायिक विकास कोषको ५० प्रतिशत रकम जम्मा गरिरहेको नगरपालिकाले जनाएको छ। सहकारी संस्थाका प्रतिनिधिहरुले आफूहरुले बुझाएको रकम जनताको हितमा प्रयोग हुने आशा व्यक्त गर्दै भक्तपुर नपाले स्वास्थ्य सेवामा पुर्याइरहेको योगदानप्रति खुशी व्यक्त गरेका छन्।