close

स्थानीय उत्पादनको बजारीकरणका लागि आँबुखैरेनीमा हाटबजार

स्थानीय उत्पादनको बजारीकरणका लागि आँबुखैरेनीमा हाटबजार

Trulli
ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय तहमा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो ।

उक्त हाटबजारको शुक्रबार राष्ट्रियसभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गरे । सो अवसरमा सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताए ।
 
आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार  बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । गाउँपालिका कार्यालयको करिब रु ४० लाख लागतमा वार्षिक रु दुई लाख ५० हजार भाडा बुझाउने शर्तमा जग्गा लिएर हाटबजार निर्माण गरेको उनले बताए ।

कृषि, पशु, बाँसजन्य, मह, घिउ, मकै, भटमास, तरकारीलगायतका स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री–वितरणका लागि व्यवस्था मिलाइएको छ । छिमेकी जिल्ला गोरखामा शनिबार सञ्चालन गरेकाले हप्तामा एक दिन शुक्रबार हाटबजार सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।
 
कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्यलगायतका वस्तु सुपथ मूल्यमा बिक्री वितरणका लागि व्यवस्था मिलाइने सूचना अधिकारी इञ्जीनियर निरोज श्रेष्ठले जानकारी दिए । गत वर्ष नै हाटबजार सञ्चालनमा ल्याउन लागे पनि कोरोनाका कारण सुरु गर्न सकिएको थिएन ।

अहिले सहज स्थिति भएकाले हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार उद्घाटन कार्यक्रम व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए। हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ बमोजिम अगुवा कृषक, बुद्विजीवी, वडाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी बजार एकाइ प्रतिनिधि, व्यवासासीलगायतको कार्यसमिति गठन गरेर काम गर्न लागेको बताइएको छ ।