सिन्धुपाल्चोक । इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउन पुग्छन् ।
बिहानभरी चाउमिन पुर्याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो पुँजीमा सुरु गरेको उनको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना आबद्ध छन् ।
कक्षा १० सम्मको अध्ययन पूरा गरेका २६ वर्षीय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गरे । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उनको भनाइ छ ।
‘हातमा सीप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिन्छ’, तामाङले भने, ‘त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन ।’