close

कञ्चनपुरका फूल व्यवसायीलाई भ्याइनभ्याइ

कञ्चनपुरका फूल व्यवसायीलाई भ्याइनभ्याइ

Trulli
ADVERTISEMENT

कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गिता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ ।

सङ्गिताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेकी छिन्। मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गिताले बताइन्। “तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पुर्याउन सकिएको छैन”, उनले भनिन्, “सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।” 

सङ्गिताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय गरेकी हुन् । फूल र गाँसेको माला बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “एउटा मालाको एक सय र प्रतिकिलो पाँच सयमा बिक्री भइरहेको छ”, उनले भनिन्, “पानी परेर केही बिरुवा रोगले नष्ट भए, नभए अझै फूल उत्पादन बढी हुन्थ्यो ।”

भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ ।  बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन् । पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताए। “फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ”, उनले, “एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ ।” 
चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरिएको उनको भनाइ छ । “एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ”, उनले भने, “अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ ।”

उनका अनुसार अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी छ । यस पटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने सिंहको भनाइ छ ।