close

सरकारले मूल्य नतोकिदिँदा मारमा परेकाे फूल व्यवसायीको गुनासो (भिडियोसहित)

सरकारले मूल्य नतोकिदिँदा मारमा परेकाे फूल व्यवसायीको गुनासो (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । तिहारलाई बत्ती फूलको चाडको रुपमा लिइन्छ । तिहारमा घर सजाउन सयपत्री अनि भाइटिकामा मखमली फूलको अत्याधिक प्रयोग हुन्छ । अहिले तिहार नजिकिएसँगै भक्तपुरका किसानलाई मखमली फूल टिप्न र माला उन्न भ्याइनभ्याइ छ । 

तर, बजारमा माग बढ्दा किसानले चित्त बुझ्दो मूल्य भने पाउन सकेका छैनन् । 

भक्तपुरका किसानले तिहारलाई लक्षित गरेर मखमली र सयपत्री फूलको खेती गर्दै आएका छन् । तिहार सकिएसँगै फूलको महत्व घट्ने हुँदा अहिले उनीहरू अरु काम छोडेरै बारीमा फूलेका सयपत्री र मखमली फूलको माला उन्न व्यस्त छन् । तिहारमा मखमली फूलको माग निकै हुने भएकाले सकेसम्म बढी माला उन्दै आएको उनीहरू बताउँछन् छन् । 

तिहारमा मखमली फूलको माग धेरै हुने भए पनि चैत महिनादेखि नै खेतीको काम सुरु हुन्छ । किसानका अनुसार चैत महिनामा फूलको बेर्ना हाल्ने, जेठ र असार महिनामा रोप्ने र भदौ महिनादेखि टिपेर माला उन्ने गरिन्छ । भदौको अन्तिम सातादेखि नै फूलको माग आउने उनीहरू बताउँछन् । फूलको माग बढेपनि बिचौलियाका कारण रामे मूल्य पाउन नसकेको गुनासो उनीहरूको छ । 

हाल बजारमा मखमली फूलको थोक मूल्य प्रतिमाला ४० रुपैयाँ निर्धारण गरिएको छ । तर कृषकले प्रतिमाला २० देखि २२ रुपैँयामै बिचौलियालाई बिक्री गर्दै आएका छन् । सरकार र स्थानीय सरकारले अन्य सामग्रीको मूल्य निर्धारण गरेपनि फूलको मूल्य निर्धारण नगर्दा आफूहरूमा मारमा परेको उनीहरूको गुनासो छ ।  

फूलको खेती र प्रर्वद्धनमा स्थानीय सरकारले अनुदान दिँदै आएपनि स्थानीय बाहेक अन्यले अनुदान नपाउने गुनासो पनि सुनिन्छ । स्थानीय तहले पालिकाभित्रका किसानलाई मात्रै अनुदान उपलब्ध गराउँदा जग्गा भाडामा लिएर फूल रोप्ने किसान भने यो सुविधाबाट बंचित रहँदै आएका छन् ।

यसपाली तिहारमा देशभरबाट सयपत्रीे २४ लाख माला, मखमली ४ लाख २५ हजार माला र गोदावरी २० हजार मालाको माग रहेको फ्लोरीकल्चर एसोसियसन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

गोदावरी र मखमली फुलमा नेपाल आत्मनिर्भर रहे पनि सयपत्री भने छिमेकी मुलुकबाट आयात गर्नुपर्छ । सयपत्रीको २४ लाखमध्ये आवश्यक माला मध्ये ७ लाख माला आयात हुने गरे फ्लोरिकल्चर एसोसियसन अफ नेपालले जनाएको छ ।