close

दशैँमा पनि आएन भत्ता

दशैँमा पनि आएन भत्ता

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूहले भत्ता नपाएका हुन् ।

“मेरो त दशैँ खर्च नै त्यही भत्ता हो तर आएन”, जैमिनी नगरपालिका वडा नं १ का ९० वर्षीय मणिरत्न पाध्याले भने, “बर्सेनि यस्तै गर्छन्, दशैँमा सधैँ हात खाली हुन्छ ।” 

जैमिनी नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भए पनि दशैँ बिदाअघि लक्षित समूहका हातमा पुर्‍याउन कठिन रहेको बताएको छ । यहाँका अन्य स्थानीय तहले पनि दशैँ बिदाभन्दा एक दिन पहिला मात्रै कर्मचारीको तलब भत्ता बैंक खातामा जम्मा गरेका थिए ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैँ बिदामै भए पनि भत्ता बाँड्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैँका लागि खुद्रा पैसा बनाउने र दशैँ खर्चको जोहो गर्ने गरेका ज्येष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।

बागलुङको काठेखोला गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । समयमा भत्ता नपाएकाले ज्येष्ठ नागरीकको दशैँ खल्लो भएको छ । भत्ता आउँछ भनेर आशा गरेका ज्येष्ठ नागरिक अहिले ऋण खोजेर दशैँ मनाउन लागेको बताउछन् ।