काठमाडौं । पनौती नगरपालिकामा कृषकले ७८ लाख ९९ हजार रुपैयाँ व्यहोर्ने गरी तीन बजेट उपशीर्षकबाट पशु खरिद गरियो ।
त्यसमध्ये ६० लाख २६ हजार रुपैयाँ मात्रै दाखिला भयो । बाँकी १८ लाख ७२ हजार सम्बन्धित कृषकसँग असुल गर्नुपर्नेछ । अन्ततः उक्त रकम बेरुजु रकममा समावेश भयो ।
महालेखा परिक्षकको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार पनौती नगरपालिकामा शून्य दशमलव ६८ प्रतिशत बेरुजु छ । यो जिल्लाको सबैभन्दा कम बेरुजु हो ।
काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् ।
प्रतिवेदनअनुसार तीमध्ये सबैभन्दा बढी बेरुजु महाभारत गाउँपालिकामा छ । गाउँपाालिकाको ८५ करोड २७ लाख ११ हजार लेखापरीक्षणमध्ये तीन करोड ९२ लाख रुपैयाँ अर्थात् ४ दशमलव ६० प्रतिशत बेरुजु छ ।
उक्त तथ्यांकलाई गाउँपालिका अध्यक्ष कान्छा लालजिम्बाले पनि स्वीकार गरेका छन् । उनले गत आर्थिक वर्षमा विभिन्न कारणले बेरुजु रकम बढी भए पनि यस वर्ष कम गर्ने योजनामा रहेको बताए ।
अध्यक्ष जिम्बाले बेरुजु रकम कम गर्नका लाागि सरकारले दिएको अनुदान रकम आवश्यक क्षेत्रमा खर्च गर्ने, तर खर्च नभएको अवस्थामा सरकारलाई उक्त रकम फिर्ता गर्न सकिने बताए । आफू अर्बको वर्ष सोहीअनुसार अघि बढ्ने र बेरुजु रकम कम गर्ने योजना रहेको जिम्बाले पालिकाखबरलाई बताए ।
रोशीगाउँपालिकामा १ दशमलव २ प्रतिशत, भुल्मुमा १ करोड ७१ लाख १५ हजार अर्थात् १ दशमलव ४६ प्रतिशत, बेथानचोक गाउँपालिकामा १ दशमलव ४६ प्रतिशत, खानीखोला गाउँपालिकामा १ दशमलव ९३ प्रतिशत, चौरीदेउराली गाउँँपालिकामा १ दशमलव ४ प्रतिशत, र तेमाल गाउँपालिकामा २ दशमलव ३९ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले जनाएको छ ।
६ वटा नगरपालिकामध्ये मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा बढी बेरुजु छ । सो पालिकामा २ दशमलव ३९ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले जनाएको छ । यसैगरी बनेपा नगरपालिकामा १ दशमलव ९३ प्रतिशत, नमोबुद्ध नगरपालिकामा २ दशमलव ३१ प्रतिशत, पाँचखाल नगरपालिकामा शून्य दशमलव ९६ प्रतिशत र बनेपा नगरपालिकामा १ दशमलव ५३ प्रतिशत बेरुजु छ ।
प्रतिवेदनअनुसार गत आव २०७७÷०७८ मा काभ्रेका स्थानीय तहमा ३१ करोड ४० लाख७८ हजार बेरुजु छ ।