close

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन् ।

 
‘५७औँ वार्षिकोत्सव अवसरसँगै बन्ने नयाँ कार्यक्रममा बैंकले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य वृद्धि गर्नेछ’, उनले भने, ‘यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नेछ । यसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’

 

अर्थमन्त्री शर्माले सरकारको नीति उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै त्यसमा लगानी बढाउन आग्रह गरे । मन्त्री शर्माले आत्मनिर्भर हुन लगानी अति आवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाए ।


उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडलको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उनले भने, ‘यो रणानीतिमा रहेर बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’ 

 

अर्थमन्त्री शर्माले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थालाई पनि शिक्षा दिन सक्नुपर्ने बताए । पछिल्लो समय प्रविधिको युग रहेको बताउँदै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रशंसनीय रहेको उल्लेख गरे ।

 

यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिन सक्ने विश्वास व्यक्त गरे । त्यस्तै, उनले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।


बैंकको वार्षिकोत्सव अवसरमा मन्त्री शर्माले युएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पण गरे । बैंक १० माघ ०२२ मा स्थापना भएको बैंकले हाल २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।