काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले समुदायमा आधारित उत्पादन शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थानीय तह विभागका सदस्यलाई सपथ गराउने क्रममा समाजवादको आधार तयार गर्न समुदायमा आधारित उत्पादन शक्तिको निर्माण गर्नुपर्ने उनले बताएका हुन् ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका अर्थमन्त्री शर्माले यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने धारणा व्यक्त गरे । व्यक्तिगत प्रतिस्पर्धालाई समेत कायम राखेर सामुदायिक स्रोत–साधनलाई परिचालन गरी समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ । ‘समुदायमा आधारित उत्पादन शक्ति केन्द्रको विकास गर्नुपर्छ’, उनले भने, ‘उत्पादनका साधन त्यसको स्वामित्वमा हुनुपर्छ र समुदायलाई आवश्यक पर्ने साधन त्यसले दिन सक्नुपर्छ ।’
केन्द्रले व्यक्तिगत तथा सामुदायिक रूपमा उत्पादन भएका वस्तुको केन्द्रीकरण गरी बजारीकरण गर्नमा मद्दत गर्नुपर्ने उनले बताए । केन्द्रले स्थानीय सरकारलाई आवश्यक परेका बेला घचघच्याउने र चुनौती दिन सक्ने हुनुपर्ने बताए । खासगरी यसले स्थानीय सरकारलाई विकास र उत्पादनमा पुरकका रूपमा सहयोग गर्नुपर्ने उनको धारणा छ । सामुदायिक कार्यले समाजवादको ‘भ्रुण’को विकास हुने उनको भनाइ छ ।