काठमाडौं– काठमाडौं महानगरले नगरबासीको सुविधाका लागि अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्म १०० जनाले मात्र उक्त प्रणाली प्रयोग गरी कर बुझाएको महानगरले जनाएको छ ।
महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरूप अनलाइनमार्फत कर असुल हुन नसकेको हो । ‘यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । तर, यसबारे जानकारी नहुँदा अझै पनि धेरै करदाता कार्यालयमै आएर कर तिर्ने गरेका छन्,’ डा. अधिकारीले भने ।
कर खाताबाटै सीधै तिर्नका लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधि प्रयोग गरी कर तिरको भए रसिदबाट समेत करतादा संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिनेछ ।
चालू आर्थिक वर्षको असोजदेखि अहिलेसम्मा महानगरले यो प्रविधि प्रयोग गरी १५ लाख रकम असुल गरेको छ, जुन न्यून रकम हो । राजस्व असुली अनलाइन प्रणालीमार्फत भर्खर सुरु गरेको महानगरले नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रका लगि भने तीन वर्षदेखि नै अनलाइन प्रणालीमार्फत काम गर्दै आएको छ ।