close

करका व्यवधान हटाउन संयन्त्र बनाउँछौँ : अर्थमन्त्री शर्मा

करका व्यवधान हटाउन संयन्त्र बनाउँछौँ : अर्थमन्त्री शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गरिने बताएका छन् । दसौँ राष्ट्रिय कर दिवस अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैैै अर्थमन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने जानकारी दिए । ‘करदाताको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ,’ मन्त्री शर्माले भने, ‘तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्न एउटा इकाइ÷संयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासा राख्न पाउनुहुनेछ ।’


उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाइने प्रतिबद्धता जनाए । मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर संकलनमा समेत असर गरिरहेको बताउँदै शर्माले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए ।


नागरिकले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीले जनताको सेवा गरिरहेको बताए । त्यस्तै, राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने जानकारी दिए । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै उनले सुरु गरेर मात्र नहुने हुँदा त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सकारात्मक काम सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर, सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उनले भने, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवस अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँछु ।’


कर दिवसमा आयोजित कार्यक्रममा मन्त्री शर्माले तीन वटा प्रतिबद्धतासमेत व्यक्त गरे । कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाइ, संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैंले छाप्ने प्रतिबद्धता जनाए ।अर्थसचिव मधुकुमार मरासिनीले कर जबर्जस्ती नभई सुशासन र समृद्धिका लागि स्वैच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए ।

 

उनले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा–सुविधा उपलब्ध हुने बताउँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए । ‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौँ भन्ने लाग्छ । तिर्नुपरे पनि कम’, उनले भने, ‘ करदाता शिक्षा र महत्त्वबारे हामीले मन्थन र बुझाउनुपर्छ ।’


राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पु¥याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताउँदै सबै करदातालाई धन्यवाद दिए । कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबभन्दा बढी तिर्ने करदता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको बताएको छ । 


कार्यक्रममा वार्षिक प्रतिवेदन २०७७/७८ सार्वजनिक गर्दै विभागले आव २०७७/७८ मा ४ खर्ब २९ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको बताएको हो । यस्तै, २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ अन्तशुल्क राजस्व संकलन भएको छ ।