close

संघीय सरकारको सञ्चित कोष भरिभराउ : १ खर्ब ७ अर्बले धनात्मक 

संघीय सरकारको सञ्चित कोष भरिभराउ : १ खर्ब ७ अर्बले धनात्मक 

Trulli
ADVERTISEMENT

काठमाडौं–आर्थिक वर्ष ०७७/७८ मा सरकारको राजस्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ । कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजस्व रकम १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा कुल ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।

 

मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।


प्रतिवेदनका अनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात् ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ । 


यस्तै, आर्थिक वर्ष २०७७/७८ को कुल खर्चमा सरकारको स्रोतबाट ८२ दशमलव ३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत वैदेशिक स्रोतबाट बहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको हिस्सा ३ दशमलव ४ प्रतिशत र ऋणको हिस्सा १४ दशमलव ६४ प्रतिशत छ ।


आव २०७७/७८ मा संघीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख भुक्तानी भई चालू आवमा कोष अवस्था १ खर्ब ७ अर्ब १६ करोड ५४ लाख रुपैयाँले धनात्मक रहेको छ । 


प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजस्व संकलन र बेरुजु फस्र्योटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान गएको बताए ।


उनले विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानुनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्यालले आव २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन मन्त्रीसमक्ष पेस गरे ।