close

विशेष आर्थिक क्षेत्रभित्र मदिरा र सुर्तीजन्य वस्तु उत्पादन निषेध

विशेष आर्थिक क्षेत्रभित्र मदिरा र सुर्तीजन्य वस्तु उत्पादन निषेध

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रका उद्योगमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादक उद्योग खोल्न नपाइने घोषणा गरेको छ । सेजमा ऊर्जा, उत्पादन, कृषिजन्य, वन पैदावारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामूलक उद्योग खोल्न सकिने प्रावधान छ ।

 

विशेष आर्थिक क्षेत्र नियमावली, २०७४ मा सेजभित्र स्थापना गर्न सकिने उद्योगको सूची थियो । सो नियमावलीमा संशोधन गर्दै सरकारले अब सेजभित्र उद्योग खोल्न नसकिने सूचीसमेत थप गरेको हो ।

 

थपिएको सूचीअनुसार अब सेजमा चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तुको उत्पादन गर्ने उद्योग खोल्न पाइने छैन । ब्रान्डी, साइडर, बियर, वाइन तथा मदिराजन्य उत्पादन गर्ने उद्योगसमेत सेजमा खोल्न अनुमति दिइने छैन ।

 

विस्फोटक पदार्थ उत्पादन गर्ने र गोलीगठ्ठा, हातहतियार तथा बारुद उत्पादनको अनुमतिसमेत सेजभित्र नपाइने नियमावलीमा उल्लेख गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र नियमावलीमा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा कम गर्ने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्र्याउन विशेष सहुलियत दिने गरी सेजको अवधारणा ल्याएको हो ।

 

न्यूनतम स्थिर पुँजी २ करोड

 

सरकारले सेजमा स्थापना हुने उद्योगको न्यूनतम स्थिर पुँजी २ करोड रुपैयाँमा झारेको छ ।

 

मन्त्रालयका अनुसार अब विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि अनुमति पत्र प्राप्त गर्न चाहने स्वदेशी लगानीकर्ताले कम्तीमा २ करोड रुपैयाँ र विदेशी लगानीकर्ताले विदेशी लगानीसम्बन्धी कानुनमा तोकिएअनुसार पुँजी पु-याए सेजमा उद्योग स्थापना गर्न सक्नेछन् ।

 

यसअघि सेजमा ३ करोड रुपैयाँ स्थिर पुँजी हुने उद्योग स्थापना गर्न सकिने प्रावधान थियो ।