close

राष्ट्र बैंकको प्रदेशगत अध्ययन : वित्तीय पहुँचमा बागमती उत्कृष्ट, कर्णाली निम्छरो 

राष्ट्र बैंकको प्रदेशगत अध्ययन : वित्तीय पहुँचमा बागमती उत्कृष्ट, कर्णाली निम्छरो 

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्र बैंकले ७ वटै प्रदेशमा सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा, सहुलियत कर्जा, लगानी अवस्थालगायत विषयमा अध्ययन गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।


राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच बागमतीबाहेकका प्रदेशमा बढेको देखिएको छ । वित्तीय पहुँचको अवस्था कर्णाली प्रदेशमा अत्यन्तै कम देखिएको छ । मुलुकको संघीय राजधानी काठमाडौंमा वित्तीय पहुँचको अवस्था उच्च देखिए पनि कर्णाली प्रदेशमा भने कमजोर देखिएको हो ।


अध्ययनले विभिन्न परिसूचकको विश्लेषणका आधारमा बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा केन्द्रित रहेको देखाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको छ ।


आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी ९३४ प्रतिशत बागमती प्रदेशमा र सबैभन्दा कम ९४ प्रतिशत कर्णाली प्रदेशमा रहेका छन् ।


बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ । अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा सन्तुलित देखिएको छ ।

 

औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गए पनि वित्तीय पहुँच न्यून रहेका प्रदेशमा साधन परिचालन बढाउनुपर्ने अवस्था रहेको राष्ट्र बैंकको ठहर छ ।