close

राष्ट्र बैंकबाट घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक : महँगिए घरजग्गा

राष्ट्र बैंकबाट घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक : महँगिए घरजग्गा

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा मूल्यसम्बन्धी प्रतिवेदन शुक्रबार सार्वजनिक गरेका हुन् । 

 

प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७\७८ को पहिलो ९ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएको उल्लेख छ । सर्वेक्षण प्रतिवेदनमा आर्थिक वर्ष २०७६\७७ मा वाणिज्य बैंकबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत रहेको पाइएको छ भने मालपोत कार्यालयबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९ दशमलव ७३ प्रतिशत रहेको उल्लेख छ ।

 

मालपोतको तथ्यांकभन्दा बैंकबाट प्राप्त तथ्यांकले घरजग्गा झन् महँगिएको देखाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७\७८ को पहिलो ९ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६ दशमलव ३१ र १२ दशमलव ५७ प्रतिशत रहेको पाइएको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७\७८ को पहिलो ९ महिनामा घरजग्गा कारोबारमा केही शिथिलता आएकाले मुद्रास्फीति केही कम रहेको प्रतिवेदनमा उल्लेख छ । मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमनका लागि घरजग्गा मूल्य सूचकांक तयार पारिएको राष्ट्र बैंकले बताएको छ ।

 

प्रतिवेदनमा घरजग्गा सर्वेक्षणको लागि सम्पूर्ण प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धतासमेतलाई आधार बनाएर २० जिल्लाका २० स्थान छनोट गरिएको हो ।

 

प्रतिवेदनमा मालपोत सर्वेक्षणको आधारमा घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्यामध्ये २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० गरी १० हजार ३३६ वटा कारोबारलाई नमुनाका रूपमा लिइएको उल्लेख छ । 

 

यसैगरी वाणिज्य बैंकबाट प्राप्त तथ्यांकमध्ये घरजग्गा र जग्गातर्फ क्रमशः १ हजार ३३२ र १ हजार १४४ गरी कुल २ हजार ४७६ कारोबारलाई नमुनाका रूपमा लिइएको प्रतिवेदनमा उल्लेख छ ।

 

मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास गर्दा राख्ने थैली रकम र बैंकले कर्जा प्रवाह गर्दा धितोस्वरूप राख्ने घरजग्गाको मूल्यांकन तथ्यांकको आधारमा घरजग्गाको मूल्य संकलन गरिएको हो ।

 

केन्द्रीय बैंकले घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरेको बताएको छ । उसले यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रैमासिक रूपमा नियमित प्रकाशन गरिने जनाएको छ ।