close

बिजुली सस्तिएपछि विद्युतीय चुह्लोमा खाना पकाउने सपना पूरा हुँदै

बिजुली सस्तिएपछि विद्युतीय चुह्लोमा खाना पकाउने सपना पूरा हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले हालै विद्युत् महसुलमा सुबिस्ता दिएपछि विद्युतीय चुल्होमा खाना पकाउन सहज हुने भएको छ । नागरिकलाई मागअनुसार बिजुली पाउन कुनै बेला कठिन थियो । तर, अहिले विद्युत् प्राधिकरणले भाउ सस्तो बनाएपछि विद्युतीय चुह्लो प्रयोगकर्ता बढ्ने अपेक्षा गरेको छ । आयातीत महँगो एलपी ग्यास प्रयोगभन्दा विद्युत् महसुल सस्तो भएपछि विद्युतीय चुह्लो प्रयोगकर्ता बढ्ने सरकारी ठम्याइ छ ।


विद्युत् प्राधिकरणले हरेक साता निकाल्ने लोडसेडिङको सूचनामा जीवन खोज्न अभिसप्त थिए, कुनै बेला नेपाली । तर, अहिले लोडसेडिङ अन्त्य भएको छ । तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले काठमाडौं उपयत्यका र क्रमशः देशका अन्य स्थानमा लोडसेडिङ हटायो ।

 

त्यसपछिका सरकारले त्यसलाई क्रमशः अगाडि बढाए । अघिल्लो पटक ऊर्जामन्त्री वर्षमान पुनले बिजुली महसुल घटाउने पहल गरे । यसपटक सोही मन्त्रालयको जिम्मेवारी सम्हालेको दिनदेखि नै मन्त्री पम्फा भुसालले एउटा नारा दिइन् । त्यो नारा थियो ‘विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली प्रयोग गरौँ ।’


केही वर्ष पहिलेसम्म बिजुली बाल्ने कुरा नै नेपालीका लागि ठूलो थियो । पछिल्ला दिनमा माथिल्लो तामाकोसीलगायतका आयोजना प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ ।


प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएको सन्दर्भमा मन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी छन् ।


नेपाल आयल निगमको विवरणअनुसार झन्डै ४० अर्ब रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ । शुक्रबार निगमले एलपी ग्यासको मूल्यवृद्धि गरेर प्रतिसिलिण्डर १ हजार ५०० रुपैयाँ पुर्‍याएको छ । अझै पनि ग्यासमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा रहेको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीको भनाइ छ ।


यही अवस्थालाई ध्यान दिएर सरकारले खान पकाउन विद्युतीय चुल्होको बढावा दिन यस पटक बिजुली महसुलमा रणनीतिक परिवर्तन गरेको छ । चालू आवका लागि तय भएको महसुल प्रस्थान बिन्दु भएको विद्युत् नियमन आयोगको भनाइ छ ।


आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सरकारको नीति तथा कार्यक्रम र योजनाअनुसार नै आयोगले विद्युतीय चुल्होको प्रयोग बढोस् भन्ने ध्येयका साथ महसुलमा छुट दिएको छ ।


एकातिर देशभित्र बिजुली खपत नभई खेर जाने अवस्था सिर्जना भएको र अर्कोतर्फ भारतले पनि आयात गर्न दिने तर निर्यातमा भने सहजीकरण नगर्ने अवस्था आएपछि प्राधिकरणले विद्युतीय चुल्होको बढावा गर्न लागेको हो । सरकार र त्यसमा पनि विशेषगरी ऊर्जामन्त्री भुसालको योजनाअनुसार नै  विद्युतीय चुल्होको प्रयोग बढाउन महसुलमा थप प्रोत्साहनको नीति लिइएको हो । 


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी १ मंसिरदेखि लागू हुने महसुलमा प्रत्यक्ष सुविधाको अनुभव गर्न सकिनेछ ।
आयोगले स्वीकृत गरेको महसुलअनुसार १०१ युनिटदेखि २५० युनिटसम्मको खपत गर्नेलाई यसबाट एउटै ‘स्ल्याब’मा राखेर महसुल तोकिएको छ । त्यसमा लाग्दै आएको डिमान्ड शुल्कसमेत घटेको छ ।

 

उपलब्ध ऊर्जा खेर नजाने गरी देशभित्रै बिजुली माग र खपत बढाउँदै लैजाँदा त्यसको लाभ अन्ततः सबैलाई हुने भएकाले महसुल क्रमशः घटाउँदै लैजाने नीति लिइएको छ ।


कार्यकारी निर्देशक घिसिङका अनुसार गत वर्ष १० प्रतिशतले महसुल घटेकामा यस पटक झन्डै चार प्रतिशतले घटेको छ । सिंगल फेलबाट १५१ देखि २५० युनिटसम्म बिजुली उपभोग गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताले अब क्रमशः १०० देखि १५० रुपैयाँ मात्रै तिरे हुने व्यवस्था गरिएको छ । मासिक ४०० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकले अब न्यूनतम १५० र अधिकतम २५० रुपैयाँ मात्रै तिरे हुने व्यवस्था गरिएको छ । यो व्यवस्थाका पछाडि विद्युतीय चुल्होको प्रयोगमा बढावा दिने नीतिले काम गरेको छ ।


विगतमा २५० देखि ४०० सम्म अर्को स्ल्याब थियो । तर, यस पटक त्यो स्ल्याब राखिएको छैन । नयाँ व्यवस्थाअनुसार अब २५० माथि सबै एउटै स्ल्याब राखिएको छ । 


आयोगले स्वीकृत गरेको महसुलअनुसार अब २५० युनिटभन्दा बढी जति खपत गरे पनि एउटै महसुल कायम गरिएको छ । स्वीकृत महसुलअनुसार ४०० युनिटभन्दा माथिको हकमा प्रतियुनिट ११ रुपैयाँ मात्रै तिरे हुने व्यवस्था गरिएको छ । घरायसी ग्राहकले सकेसम्म धेरै बिजुली खपत गर्न सकून् भनेर प्रोत्साहनको नीति अगाडि सारिएको छ ।


मन्त्री भुसालका अनुसार यसपटक खासगरी ५ प्रतिशतसम्म महशुल घटेको छ । यस्तै, कमजोर आय भएका र २० युनिटसम्म बिजुली प्रयोग गर्ने ग्राहकले ३० रुपैयाँ मात्रै तिरे हुने व्यवस्था जनतालाई दिइएको राहत भएको उनको भनाइ छ । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् ।


प्राधिकरणले पछिल्ला वर्षमा लगातार मुनाफा गरेको र आगामी दिनमा अझै राम्रो गर्दै जाने नीति र कार्यक्रम अगाडि सारेकाले पनि महसुल घटाएर राहत दिइएको मन्त्री भुसालको भनाइ छ । अब लागत घटाउने, प्राधिकरणका अन्य खर्च घटाउँदै जाने लक्ष्यका साथ नीति तथा योजना अगाडि सारिएको हो ।


प्राधिकरणले बिजुलीको खपत बढाउन प्रसारण र वितरण प्रणालीमा योजनाबद्ध  सुधार गरिरहेको छ । ट्रान्सफर्मरको क्षमता वृद्धि, कन्डक्टर परिवर्तन तथा बढी माग हुने क्षेत्रमा अन्य प्राविधिक सुधारसमेत गरिरहेको छ ।  यसले आन्तरिक रूपमै बिजुलीको खपत हुने वातावरण क्रमशः बन्दै जाने अनुमान गरिएको छ ।