दाङ– दाङको घोराही उप–महानगर प्रमुख नरुलाल चौधरीले कोरोना महामारीका बीचमा पनि नगरबासीले कर तिरेर गुन लगाएकामा धन्यवाद दिएका छन् ।
कोरोना महामारीका कारण पेसा व्यवसाय, रोजगारी गुमेको तथा अन्य कृषि उत्पादन बिक्रीसमेत ठप्प भएको अवस्थामा उप– महानगरमा राजस्व संकलन सोचेभन्दा बढी भएको उनले बताए ।
चौधरीले उप–महानगरको राजस्व व्यवस्थापन शाखाले मंगलबार वडा सचिव र सहायक कर्मचारीका लागि सुरु गरेको राजस्वसम्बन्धी क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरे ।
नागरिकलाई दुःख दिएर जोरजबर्जस्ती कर संकलन गर्नुभन्दा रहरले कर तिर्नुपर्ने रहेछ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । नगरबासीले तिरेको करकै कारण अहिले गाउँ–गाउँमा पूर्वाधार तथा सामाजिक विकासले गति लिएको उनको भनाइ छ ।
उप–महानगरले नगरबासीलाई कर तिर्न समस्या नहोस् भन्ने उद्देश्यले सबै वडाबाट मालपोत, व्यवसाय तथा अन्य कर तिर्ने व्यवस्था मिलाएको चौधरीले जानकारी दिए ।
दुई दिनसम्म चल्ने तालिममा आव २०७८/७९ का लागि उप–महानगरले तय गरेका करका दायरा, वडा तथा नगरमा राजस्व संकलनका क्रममा आइपरेका समस्या समाधान, राजस्व संकलन, बैंक दाखिला, आन्तरिक तथा बाह्य लेखापरीक्षण र प्रशासनिक कामका विषयमा प्रशिक्षण दिइनेछ ।
तालिममा १९ वटै वडाका वडा सचिव र राजस्व संकलनमा संलग्न सहायक कर्मचारी गरी ४० जनाको सहभागिता छ । तालिममा राजस्व व्यवस्थापन शाखा प्रमुख कृष्ण केसी, लेखा शाखा प्रमुख लोकमणि शर्मा, प्रशासन महाशाखा प्रमुख वासुदेव आचार्यलगायतले प्रशिक्षण दिनेछन् ।