रूपन्देही– बुटवल उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रूपमा बजार अनुगमन गरिएको छ ।
खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाई, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भए/नभएको विषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफत गरी नष्ट गरी जरिमाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्न चेतावनी दिइएको छ ।
खाद्यान्न तथा किराना पसलमा अनुगमन
बुटवल उपमहानगर वडा नम्बर ४ हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाद स्टोर्स, गोपीकृष्ण किराना पसल, कालिकापथमा रहेको न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठूल्दाइ ट्रेड सप्लायर्स/ठूल्दाइ खाद्यान्न भण्डारमा टोलीले अनुगमन गरेको छ ।
यस्तै, बुटवल वडा नम्बर ९ को हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एसिया एटुजेड सामग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरका अधिकृत ठगिश्वर पोखरेलले बताए ।
हरियो तरकारी प्रालिमा व्यवसाय दर्ता र नापतौलको कागजात नभएको पाइएको र त्यहाँ केही तरकारी र तरकारीजन्य सामग्री गुणस्तरीय नभएकाले नष्ट गरिएको छ । उक्त पसललाई वडा कार्यालयमा व्यवसाय दर्ता गराई ३ दिनभित्र नापतौल कार्यालयमा उपस्थित हुन तारेख दिइएको अनुगमन समितिले जनाएको छ ।
यस्तै, अर्घाखाँची कोल्ड ड्रिंक तथा मदिरा स्टोर्स, चौतारी बिजनेस ग्रुप, डिपिसी स्टोर्समा अनुगमन गरिएको छ । डिपिसी स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३९ बमोजिम जरिमाना गरिएको छ ।
चौतारी बिजनेस ग्रुपमा म्याद नाघेको खान अयोग्य क्रेकर ४६ पोका नष्ट गरिएको छ । अर्घाखाँची कोल्ड ड्रिंक तथा मदिरा स्टोर्समा म्याद नाघेको बियर ६ बोतल, क्यान बियर ५ थान, रियल गोल्ड ३ थान जफत गरी नष्ट गरिएको छ ।
अनुगमन गरिएका कतिपय पसलमा लेभल नभएका, अखाद्य रंग मिसिएका र म्याद नाघेका खाद्य वस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रमिला गुरुङले बताइन् । कसुर र अवस्थाका आधारमा त्यस्ता पसललाई थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा उपस्थित हुन पत्र थमाइएको गुरुङको भनाइ छ ।
यस्तै, वडा नम्बर ९ कालिकापथमा रहेको न्यू पुरक फेन्सीले उपभोक्ता हितविपरीतको कसुर गरेकाले ५ हजार रुपैयाँ जरिमाना गराइएको छ । उक्त पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (३) बमोजिमको कसुर गरेकामा जरिमाना गरिएको अनुगमन टोलीमा रहेका वाणिज्य कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिए ।
सामान बिक्री वितरण नगर्न सचेत गराउनुका साथै सामान जफत गरेर नष्ट गरिएको थियो । कतिपय पसलमा सामान नष्ट र जरिमानासमेत तिराइएको छ ।
बुटवलको सुक्खानगरमा रहेको पैँचो पसल प्रालिमा पनि अनुगमन गरिएको छ । त्यहाँ प्याक गरिएका केही सामानमा लेबल नदेखिएकाले व्यवसाय दर्ता कागजात लिई उपमहानगरमा उपस्थित हुन निर्देशन दिइएको अनुगन समितिले जनाएको छ ।
यसैगरी वडा नम्बर ८ मा रहेको सुरभि मिष्ठान भण्डार सुरभि लज एन्ड रेस्टुराँमा पनि अनुगमन गरिएको छ । त्यहाँ दर्ता प्रमाणपत्र नवीकरण नभएकाले ३ दिनभित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।
भाटभटेनी सुपर मार्केटमा अनुगमन
बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरिएको छ । बुटवल उपमहानगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र सञ्चारकर्मीको रोहबरमा त्यहाँ अनुगमन गरिएको हो ।
भाटभटेनीमा प्रमाणपत्र सबै अद्यावधिक रहेको र तरकारीबाहेक अन्य सामान केन्द्रबाट खरिद गरी पठाउने गरेको पाइएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए ।
उपभोक्ता आफैं सचेत हुनुपर्छ : उपप्रमुख आचार्य
बुटवल उपमहानगर अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले बजार अनुगमनसँगै उपभोक्तामा जागरण ल्याउने अभियान आवश्य रहेको उल्लेख गरिन् ।
उपमहानगरले उपभोक्ता जागरणका कार्यक्रम पनि चलाइरहेको उनले बताइन् । राज्यका निकायको काम प्रभावकारी बनाउने र बजारमा हुने अराजकता नियन्त्रण गर्न उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुने भएकाले सोहीअनुरूपको कार्यक्रम बनाइएको उनले दाबी गरिन् ।
‘उपभोक्ता आफैं सचेत, सजग र जागरुक भए कालोबजारी र मिसावट रोक्न सहज हुन्छ । सामान खरिद गर्दा चनाखो बन्ने हो भने ठगीको जोखिम कम हुन्छ,’ आर्चायले भनिन् । संयोजक आचार्यले उपभोक्ता सचेत नभएसम्म कानुनी कारबाही र बजार अनुगमन प्रभावकारी नहुने विचार व्यक्त गरिन् ।